Comments Add Comment

ओपनिङमा पारस र प्रदीप !

२४ असार, काठमाडौं । टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्ने लक्ष्य बोकेर नेपाली टोली मंगलबार मलेसिया प्रस्थान गरेको छ ।

एकातिर नयाँ प्रशिक्षकको आगमन, अर्कातिर प्रतिद्वन्द्वीहरु तुलनात्मक रुपमा कमजोर भएकाले एसिया फाइनलको शीर्ष स्थानमा रहँदै ग्लोबल छनोट पुग्ने नेपाली टोलीको विश्वास छ ।

तर नेपालको लक्ष्य ग्लोबल छनोट होइन, अष्ट्रेलियामा हुने टी–२० विश्वकप नै हो ।

यो सजिलो त पक्कै छैन । किनकी एकपछि अर्को खुड्किला पास गर्दा पनि नेपाली टोलीमा केही पुराना समस्या बाँकी नै छन्, जसलाई हल नगरी विश्वकप पुग्न गाह्रो छ ।

मुख्य प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्का पनि एसिया फाइनलबाटै त्यो समस्या समाधान गर्न चाहन्छन्, जसका लागि केही नयाँ प्रयोग हुने सम्भावना छ ।

ओपनिङमा पारस र प्रदीप !

टी–२० होस् वा एकदिवसीय, नेपालको ओपनिङ जोडीमा देखिएको समस्या धेरै पुरानो भइसह्यो । अनेकौं प्रयोग गर्दा पनि यो समस्या समाधान भएको छैन ।

नयाँ प्रशिक्षक उमेश पटवाल, जसले नेपाली टोलीमा यसअघि ब्याटिङ कन्सल्ट्यान्टका रुपमा काम गरिसकेका थिए, उनी पनि यो समस्याबाट चिन्तित छन् । त्रिवि क्रिकेट मैदानमा उनले दुई खेल खेलाए, जसमा केही प्रयोग गरे । ओपनिङमा उनले पारस खड्का र प्रदीप ऐरीको जोडी बाँधे भने अर्को ओपनिङमा भने अमित श्रेष्ठ र ज्ञानेन्द्र मल्ललाई खेलाए ।

दुबै खेलमा प्रदीप र कप्तान पारसको जोडी जम्यो । अब मलेसियामा हुने दुई खेलमा पनि यो प्रदर्शन कायम रहे सिंगापुरमा पनि दुबैले खेल्ने सम्भावना छ ।

विकल्पका रुपमा विनोद भण्डारी र पवन सर्राफ पनि छन् । तर, विनोदलाई फिनिसरको भूमिका दिने र ज्ञानेन्द्र मल्लले एक स्थान तल झरे खेल्ने सम्भावना बढी छ । ।

सोमपाल र करण अलराउण्डर

लामो समय बलिङ गरेका सोमपाल कामी र करण केसी दुबैले मौका पाएको बेला ब्याटिङमा आफूलाई सावित गरेका छन् । त्यसैले प्रशिक्षक पटवालले टी–२० मा दुबैलाई अलराउण्डरका रुपमा अगाडि बढाउन चाहेका छन् ।

तीव्र गतिका बलरको रुपमा अविनाश बोहोरा छन् । स्पिनरमा सन्दीप लामिछानेको सिट सुरक्षित छ । यस्तो अवस्थामा भेट्रान स्पिनर बसन्त रेग्मी र युवा स्पिनर ललितनारायण राजवंशीमध्ये एकले मात्र खेलमा अवसर पाउन सक्छन् ।

पछिल्लो समय बसन्तको प्रदर्शन उतारचढावपूर्ण छ भने ललितनारायण भने राम्रो लयमा छन् । क्लोज क्याम्पको अभ्यासहरुले पनि यस्तै देखाएको छ ।

मध्यक्रममा शरदको के होला ?

चोटका कारण पछिल्ला केही खेल गुमाएका शरद भेषावकरले टिममा स्थान बनाएका छन् । तर प्लेइङ इलाभेनमा पर्ने नपर्ने यसै भन्न सकिने अवस्था छैन । किनकी मध्यक्रमका लागि पवन सर्राफ, रोहितकुमार पौडेल, दीपेन्द्र सिंह ऐरी पनि छन् ।

लामो समय मैदान बाहिर रहेका कारण शरद आफ्नो पूरानै लयमा फर्किसकेका छैनन् । दीपेन्द्रको भने हातमा चोट लागेकाले पूर्णरुपमा फिट छैन । मलेसियामा मंगलबार सम्पन्न एसीसी यू–१९ एसिया कपको पूर्वी क्षेत्र छनोटमा नेपाललाई उपाधि दिलाएका कप्तान रोहित र पवनले भने राम्रो खेलिरहेका छन् ।

प्रतिद्वन्द्वीलाई कमजोर नआक्ने

६ साउनदेखि सिंगापुरमा सुरु हुने प्रतियोगितामा नेपालसँगै आयोजक सिंगापुर, मलेसिया, कुबेत र कतार छन् । सहभागीमध्ये नेपाल बलियो टोली हो ।

तर, विश्वकप छनोटको बाटो भएकाले कुनै पनि टोलीलाई कमजोर नमान्ने कप्तान पारस खड्काले बताए । मलेसिया उड्नुअघि उनले भनेका छन्, ‘हामीले कुनै पनि खेल र खेलाडीलाई सजिलो रुपमा लिएका छैनौं । हामीमा आत्मविश्वास छ तर आत्मविश्वास मात्र भएर हुँदैन, राम्रो खेल्न सक्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment