
२५ असार, काठमाडौं । ललितपुरको भैंसेपाटी प्रहरी प्रभागको हिरासतबाट फरार दुई अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुद्रलाल श्रेष्ठ र समशेर माझी छन् ।
उनीहरुलाई बौद्धको जम्बु डाँडाबाट पक्राउ गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका एसएसपी सहकुलबहादुर थापाले अनलाइनखबरलाई बताए ।
मंगलबार राति प्रहरी हिरासतबाट भागेका ३ जना मध्ये उनीहरु डाँका चोरी मुद्दाका अभियुक्त हुन् भने लागूऔषध मुद्दाका रविकुमार तिम्सिना अझै फरार छन् ।
तिम्सिनाको पनि खोजी भइरहेका थापाको भनाइ छ । उनीहरु हिरासतको शौचालयभित्र रहेको ग्रिल काटेर भागेका थिए ।
अभियुक्तसम्म ग्रिल काट्ने ‘ह्याक्सो’ ब्लेड कसले पुर्यायो भन्ने विषयमा ललितपुर प्रहरी परिसर, जावलाखेलकी एसपी दुर्गा सिंह नेतृत्वको टोलीले छानविन गरिरहेको छ ।
टोलीको प्रारम्भिक अनुसन्धानमा प्रभागमा कार्यरत अधिकृतको लापरवाहीका कारण अभियुक्त भाग्न सफल भएको देखिएको थियो ।
प्रकरणमा प्रहरी प्रभागका ड्यूटी अफिसर असई, हिरासतका कमाण्डर हवल्दार र राति ड्यूटीमा खटिएका जवान गरी ३ जना निलम्बित भइसकेका छन् ।
अन्य प्रहरी अधिकृतको घटनामा संलग्नता देखिए उनीहरुलाई पनि कारबाहीको दायरामा ल्याइने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4