Comments Add Comment

किन अश्लिल कुरामा मान्छेले चासो राख्छ ?

‘यौन हिंसा बढेको’ भन्दै सरकारले अहिले अश्लिल साइट (पोर्न साइट)माथि प्रतिबन्ध लगाएको छ । अश्लिल साइट बन्द गरिएपछि यौन हिंसाको दर र प्रवृत्ति फेरिएको छ ? यसको छुटै समीक्षा होला । २१ औं सताब्दीका विचारक ओशोले भने यौन र त्यसको प्रवृत्तिलाई फरक ढंगले परिभाषित गरे ।

यौनलाई जति लुकाउन खोज्यो, जति दबाउन खोज्यो, यो उत्तिनै विकृत भएर आउँछ भन्ने ओशोको विचार थियो । हुनपनि यौन हिंसाको प्रवृत्ति हेर्दा उनको भनाई सही लाग्छ ।

ओशोले यौन एवं कामुकताको बारेमा खुलेर आफ्नो राय प्रकट गरे । यौन सम्बन्धीको उनको धारणा वृहत, स्पष्ट र गहन मानिन्छ । दुनियाले यौनलाई ‘छाडा’ र ‘गोप्य’ कुरा भनिरहेको बेला ओशोले यसप्रति उदार धारणा पेश गरे । त्यही कारण कतिपयले उनलाई ‘सेक्स गुरु’ पनि भने ।

यौन सम्बन्धी नै उनले एउटा पुस्तक पनि लेखे, ‘संभोग से समाधि ओर’ ।

ओशो भन्छन्, ‘म युवासँग भन्छु कि तिमी जुन संसार निर्माण गर्न संलग्न छौ, त्यसमा यौन सम्बन्धलाई वर्जित कदापी नगर । अन्यथा मान्छे अरु बढी कामुकभन्दा कामुक हुनेछन् । हुन त मेरो यो कुरा ठिक उल्टो लाग्न सक्छ ।’

यसै भनाई पुष्टि गर्न उनले एक कथा सुनाएका छन् । उनको कथा यसप्रकार छ ।

एक पटक ओशो आफ्ना शिष्यको प्रश्नको जवाफ दिइरहेका थिए । उनले भने, ‘म एक गाउँमा थिए । त्यहाँ केही विचारक र सन्त साधु मिलेर अश्लिल पोस्टर विरोधी एक सम्मेलन गरिरहेका थिए । उनीहरुको विचारमा अश्लिल पोस्टर भित्ता वा ढोकामा टाँस्दा त्यसले कामुकता अरु बढाइदिन्छ ।’

तर, कुरा ठिक उल्टो छ । ओशो भन्छन्, ‘यो पोस्टर कसले हेर्छ ? यस्तो पोस्टर हेर्न को जान्छ ? पोस्टर हेर्न त्यही व्यक्ति पुग्छन् जसले स्त्री-पुरुषको शरीर देख्न सक्दैनन् । जसले शरीरको सौन्दर्य देख्न सक्दैनन् । जो शरीरको सहजता अनुभव गर्न सक्दैनन् ।’

ओशोले थप्छन्, ‘ति गुरु, मान्यजन जसले स्त्री र पुरुषलाई मिल्न दिदैन । त्यही कारण उनीहरु लुकीछिपी अश्लिल पुस्तक पढ्छन् । अश्लिल तस्वीर हेर्छन् । अश्लिल फिल्म बनाउँछन् । किनभने यी सबै सामाग्री आकाशबाट आउने होइन, मान्छेको आवश्यक्ता हो ।’

यसैले प्रश्न यो होइन कि अश्लिल फिल्म किन ? प्रश्न त यो हो कि मान्छेलाई यसको जरुरत किन ?

यस्ता फिल्म त्यसै बनाइएको छैन । कसैले व्यर्थ आफ्नो पैसा खर्च गरिरहेको छैन । बजारमा यसको माग छ । त्यो माग कसरी पैदा भयो ?

यो माग हामीले पैदा गरेका हौं । स्त्री र पुरुषलाई अलग गरेर हामीले त्यो माग पैदा गरिदियौं । अब त्यही माग पुरा गर्न कोही जाँदैछ भने हामीलाई लाग्छ कि गडबड भइरहेको छ । हामी उसको बाटोमा बाधा पुर्‍याउँछौं । जतिसुकै बाधा पुर्‍याएपनि उसले अर्को बाटो खोज्न थाल्छ ।

ओशो थप्छन्, ‘युवकलाई म भन्न चाहन्छु कि, तिम्रो आमाबुवा, तिम्रो पूर्खा, तिम्रो हजारौं बर्षअघिको पीढि यौन सम्बन्धबाट भयभीत भयो । तिमी भयभित नहुनु । तिमीले यसलाई बुझ्ने कोशिस गर । तिमीले यसलाई पहिचान गर । तिमीले यस सम्बन्धमा नयाँ आधुनिक खोज भएको कुरा पढ । यस सम्बन्धमा खुला चर्चा गर र बुझ्ने कोशिस गर । वास्तवमा यौन के हो ? के हो यसको संयन्त्र ? यसको यन्त्र के हो ? के हो यसको आकंक्षा ? के हो यसको प्यास ? के हो प्राणभित्र लुकेको रहस्य ? यसलाई बुझ । यसको विज्ञानलाई बुझ ।

यौनबाट भाग्ने वा बर्जित गर्ने गल्ती नगर । आँखा बन्द नगर । तिमीलाई थाहा छ, तिमीले यौनलाई जति धेरै बुझ्नेछौं, उत्तिनै यसबाट मुक्त हुनेछौं । तिमीले जति यौनलाई बुझ्नेछौं, उत्तिनै स्वस्थ्य हुनेछौं । तिमीले जति यसको फ्याक्ट अर्थात तथ्यलाई बुझ्नेछौ, उतिनै कामुकताको ‘फिक्सन’बाट तिमीले छुटकारा पाउनेछौं ।

जति मनलाई रोकिन्छ, मन त्यही दौडन्छ । र, दौडदा सबै शक्ति र उर्जा नष्ट हुन्छ । म तिमीलाई के पनि भन्न चाहन्छु भने, जुन देशमा यौनलाई स्वस्थ रुपले स्वीकार गरिदैन, त्यहाँ प्रतिभाको जन्म पनि हुँदैन ।

ओशोका अनुसार जब हामी यौनका लागि भड्कदैनौ, यौन प्राप्तिका लागि समय र उर्जा नष्ट गर्दैनौं, तब हामी आफ्नो समय र उर्जा कुनै रचनात्मक काममा लगाउनेछौ । कुनै खोजमा, आविष्कारमा, कला, साहित्य, संगितमा त्यो उर्जा रुपान्तरण हुनेछ ।

यौनलाई छाडा भनेर वा बर्जित गरेर यसको सही व्यवस्थापन हुँदैन । यौन बर्जित होइन, व्यवस्थित गर्नुपर्छ । यदि त्यसो भएमा मान्छेमा यौनकुष्ठा हट्नेछ । कामवासनाबाट मुक्त हुनेछन् । लुकीछिपी वा मौका छोपेर यौन कृत्य गर्न उक्सने छैन । ओशोको भनाई छ, यौनलाई स्विकार गर । यौनलाई बुझ । यौनको सौन्दर्यलाई बुझ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment