Comments Add Comment

महिनावारीमाथिको विजय

दशैंभन्दा केहीअघिको कुरा हो । बिहानको आठ बज्न लागिसकेको थियो । घरमा खाना खानका लागि दिदीहरु (ठूलोबुवाका छोरीहरु) लाई बोलाइएको थियो ।

मम्मीलाई सधैंको चटारो । घर आँगन बढार, भकारो सोहोर, गाईको खोले पकाउ, लुगा धोऊ, नुहाऊ आदि आदि । त्यही भएर होला, हामी -छोराछोरी) घरमा भएको समयमा पनि बिहानको चिया प्रायः बुवा बनाउनुहुन्थ्यो ।

अस्तिको दिन ठूलो बुवा बित्नुभाको वाषिर्की थियो, म नजिक भएकाले घर आएकी थिएँ । दशैं आउन केही दिनमात्रै बाँकी थियो । काठमाण्डाैंमा भएका भाइबहिनी आइसकेका थिएनन् ।

आठ बजिसक्यो । तर, मम्मीको काम अझै सकिएको छैन । अनि, मचाँहि महिनावारी भएकी छु ।

हाम्रो घरतिर (सिराहा जिल्लाको कुनै गाउँ) खाजा खाने चलन खासै छैन । चाडबाड, पाहुना भएका बेलामा त बिहानको खाजा बिरलै खाइन्छ ।

खाना खान बोलाएका पाहुना आउनेबेला हुन लाग्दै थियो । तर, मम्मी अझै व्यस्त । खाना बनाउने काम मम्मीको जहिल्यै प्राथमिकताको अन्त्यमा पर्छ । अरु काम सकेपछि पकाएर खान त कति समय लाग्छ र भन्ने गर्नुहुन्छ ।

तर, पाहुना, परिवारमा सदस्य थपिएका बेला पनि यही नियम लागु गरिदिँदाचाहिँ कहिलेकाहिँ अप्ठ्यारो पनि परेको छ ।

मलाई आज तीन दिन भयो । खासै गाह्रो महसुस गरेको थिइनँ । नुहाएँ । मम्मी बल्ल नुहाउन लाग्दै हुनुहुन्थ्यो । अनि म भान्सामा पसंे । दाल बसाएँ । चामल भिजाएँ । तरकारी केलाउन लागें ।

मम्मी नुहाउँदै गरेको ठाउँबाट- हैन नानी कति दिन भाको र तँलाई ?

जति दिन होस् मम्मी, खाना बनाउन ढिला भइसक्यो ।

मम्मी चुप लाग्नुभयो ।

दिदीहरु पनि आइपुग्नुभयो ।

हैन, तँलाई चार दिन भइसक्यो ? उमम् भइसक्यो । एकअर्काको मुखमा हेर्दै अस्ति बुवाको वाषिर्कीको दिन भाकोजस्तो लाग्छ त ।

म (हाँस्दै) त्यही त अब दिन गन्दै बस्नु ।

खाना समयमै पाक्यो । सबैले खायौं ।

००००

अर्को दिनको कुरा हो ।

हाम्रो गाउँमा एकजना फुँयाल्नी आमै भन्ने बित्नुभाको छ । बितेको सात/आठ दिन भइसक्या छ । दिदीहरु किरियापुत्रीहरुलाई हेर्न/भेट्न जाने कुरा गर्नुभयो ।
मैले म पनि जान्छु भनें । महिनावारी भाको बेलामा जूठो परेको घर जानुहुँदैन भन्नुभयो ।

झनक्क रीस उठ्यो । सोधें, गयो भने चाहिँ के हुन्छ ?

त्यो त थाहा भएन नानी, तर जानुहुँदैन भनेपछि मान न । म मानिनँ । गएँ । नजिक पुग्न लागेपछि, छिमेकी घरमा गएर बस्न भन्नुभयो ।
म अटेर गर्दै गएँ ।

एकैछिन बसेर फर्कियौं ।

अब केही हुन्छ/होला भन्ने त कुरै आउँदैन ।

००००

पुस अन्तिमतिरको कुरा हो ।

म र बहिनी आजै घर आएका छौं ।

दिउँसोतिर आइपुगें । पिरियडको समय हुँदै थियो । पेट, ढाड दुख्ला जस्तो भएको थियो । बेलुका खाना बनाएँ ।

बहिनीले माछा लिएर आई । मम्मीले पकाइदिनुभयो । खाना खायौँ ।

स्वस्थानी पढ्न बाँकी थियो ।

माछा नखाएको मैले र मम्मीले । मम्मीको पढ्ने बानी छैन । मैले पढ्नुपर्ने थियो । मलाई पिरियड हुनै लागिसक्या थियो । अनि भनें स्वस्थानी पढ्ने भए छिटो गर्नु है फेरि अहिले म भ्याउँदिन । बहिनी हाँसी । मम्मी बुबाले बुझ्नुभएन ।

बिहान काम भाग लगाइयो । मैले खाना बनाउने, बहिनीले लुगा धुने ।

खाना बनाउन भान्सामा पस्नुअघि मम्मीलाई ‘एउटा कुरा भन्छु है मम्मी’ भनें । बहिनी मैले खाना नबनाउनका लागि पिरियड भएको सुनाउन लागंे भनेर रिसाउन थाली ।

मम्मी, मैले चाहेको भए यो कुरा नभनी खाना बनाउन सक्थें । तर, मलाई थाहा छ, तपाई आधुनिक सोचको हुनुहुन्छ । अब त हामीले महिनावारी प्राकृतिक प्रकृया मात्रै हो भन्ने बुझिसकेका छाैं नि ।

‘राम राम नानी, लु भयो, खाना बहिनीले बनाउँछे ।’

मैले पनि अड्डी कसें । खाना बनाउने भए बनाउँछु, अरु काम त केही गर्दिनँ ।

खाना बनाउन सधैं अल्छी गर्ने म, त्यो दिन जसरी पनि खाना बनाई छोड्ने अड्डी लिएर बसें । र फेरि भन्न थालें, ममी प्लिज अस्ति नै बनाको हैन, त्योबेला त केही भन्नुभएन… ।

मम्मी तपाई महिनावारी नहुनु भाको भए हामी जन्मिने पनि थिएनौ । तपाईलाई आमा बनाउने, अनि हामीलाई संसारमा आउन बाटो खोलिदिने मुख्य कुरा नै कसरी अपवित्र हुन्छ ?

फोहोर रगत आउँछ, शरीर नै फोहेर भएको हुन्छ, मम्मीले आˆनो तर्क दिँदै थप्नुभयो, आज मंगलबार मेरो व्रत पनि छ ।

ओह ! यत्रो कुराका लागि मम्मीलाई मनाउन लाग्या थिएँ व्रतको दिन पो परेछ ! फेरि सोचें, आज मनाउन सकियो भने फेरि व्रत, तीर्थ, पूजाआजाका लागि मनाउन पर्दैन वा मनाउन सजिलो हुन्छ ।

संसारमा के-के भइसक्यो, हामीलाई चाहिँ महिनावारीजस्तो सामान्य प्राकृतिक कुरालाई अपवित्र बनाएर छोरीहरुमाथि गरेको यत्रो विभेदको सानो हेक्का समेत छैन ।
फेरि भनें, ‘ममी जति जे भयो, भइसक्यो अब त यस्ता कुराहरु दिमागबाट निकालिदिनुस् ।

हुन त हो नानी । ठिकै छ । नुहाएर पका न त ।

मम्मीको मुखबाट निस्किएका शब्दहरुमा यति प्यारो, यति मीठो, यति सन्तुष्टी कुनै शब्दले दिएन होला । त्यो दिन मैले आगोमा खाना मात्रै पकाइँन । मनमा पनि धेरै चिज पकाएँ ।

महिनावारीलाई जितेकी थिएँ मैले । र, यस जीतले मलाई एसएलसी पास गर्दाको भन्दा बढी खुशी दियो । पहिलो जागिरको पहिलो तलबले भन्दा बढी खुसी दियो ।

००००

मलाई पहिलोचोटि महिनावारी भएको क्षण सम्झना आयो ।

बिहानको स्कुल थियो । भोकले रन्थनिएर घर आइपुगेकी थिएँ । खाना पाकिसकेकै थिएन । पिसाव गर्दा, पिसावसँगै रगत आयो । म रुन थालें ।
मम्मी के भयो भन्दै आउनुभयो । रुँदै सुनाए ।

नानी तँ त महिनावारी पो भइछस् । हिँड् भात खाइहाल अनि घिमिरेनी हजुरआमाको घरमा पुर्‍याइदिन्छु ।

अब ११ दिन उतै बस्नुपर्छ ।

भाइ, बुवालाई हेर्नु हुँदैन नि ।

तरकारी पाकेकै थिएन, दाल र भात खाएँ । मम्मीले घिमिरेनी हजुरआमाको घरमा पुर्‍याइदिनुभयो । कोही नबस्ने कोठा देखाइदिए ।

त्यो सुनसान कोठामा बसेर कति रुएँ कति ।

बुवा, भाइलाई चियाएर हेर्थें । यसरी हेर्दा केही हुने हो कि भनेर डर पनि लाग्थ्यो ।

घरमा केही सामान छोइए, डर लाग्थ्यो । तर, कहिल्यै केही भएन । तत्पश्चात यस्ता डरहरु क्रमशः हट्दै गए ।

तैपनि यस विभेदविरुद्ध बोल्ने आँट आएन । एसएलसीपछि घर बाहिर र प्लस टु पछि काठमाण्डौं बस्न थालेपछि विस्तारै पिरियड हुँदा पनि भान्साको काम गर्न थाल्यौं । कोही पाहुना वा घरबाट नै कोही जानुभए पनि बार्दैनथ्यौं । तर, पिरियड भएको कुरा लुकाएर ।

अनि फेरि घर आउँदा चाहिँ उही नियम लागु हुन्थ्यो । पुरै अपवित्र ।

००००

गत वर्ष हैन, त्यो भन्दा अघिल्लो वर्षको तिहारको कुरा हो ।

तिहार हामी प्रायः काठमाण्डौंमै मनाउँछौं ।

लक्ष्मीपूजाको दिन थियो । पिरियड भयो । दोधारमा परें । के गर्ने… लक्ष्मीपूजाको दिनलाई सामान्य दिन बन्न दिने या उत्सव मनाउने । निर्णय गर्न सकिरहेकी थिइनँ ।

भान्सामा बार्न छोडिसकेको भए पनि । पूजा गर्ने, मन्दिर जाने काम गर्दिनथें । या भनौं, गर्न सकिरहेकी थिइनँ । अझ भनौं, महिनावारीको समयमा मन्दिर जाने कुरा स्वीकार गर्न सकिरहेकी थिइनँ ।

टि्वटर स्क्रोल गर्दै थिएँ । एउटा कार्ड भेटें जसमा यस्तो लेखिएको थियो- गल्ज, पिरियड कम एभ्री मन्थ, तिहार कम्स वन्स अ इयर…. स्टे ड्राइ, टेल नोबडी, इञ्जोय द फेस्टिवल लाइक एभ्रीवडी ।

रिटि्वट गरें, इन्स्टाग्राम, म्यासेन्जरको स्टोरीमा राखें ।

कहिलेकाहिँ सानो कुराले पनि ठूलो शक्ति दिन्छ । कुनै कुरा गर्न उत्प्रेरित गर्छ । यो कार्डले त्यही काम गर्‍यो ।

कोठा सफा गर्नेदेखि लिएर पूजाको सरसामान किन्ने सबै काम भाइ, बहिनी र मैले मिलेर गर्‍यौं । बेलुका हुनै लाग्दा रंगोली बनायौं । बत्ति बाल्यौं । अब पूजा गर्ने समय आयो ।

पूजा नै चाहिँ नगरुँ कि ! फेरि दोधारमा परेँ । अनि बहिनीले उक्साई यति गरिसकेपछि पूजा गर्न चाहिँ किन गाह्रो मान्नुहुन्छ ? डर के आगे जीत है, आगे बढो… भाइले थप्यो ।

अनि पूजा पनि गरें ।

पछि दिदीसँग सेयर गरें । ठीक गरिस्, भनी ।

यति भइसकेपछि पनि घरमा आउँदा चाहिँ अझै बार्थ्यौं । कि महिनावारी भाको कुरा लुकाएर सामान्य बन्थ्यौं ।

००००

जागिरको सिलसिलामा विगत डेढ वर्षदेखि इटहरी बस्दैछु । बेला-बेला घर गइरहन्छु । पत्रपत्रिकामा नारीवादी लेखहरु पढ्छु । मेरो कुरा कसैले भनिदिएको झै लाग्छ ।

चित्त बुझेका लेखहरुको लिङ्क सेभ गरेर राख्छु । घर गाको बेलामा ममीलाई पढेर सुनाउँछु । महिनावारी सम्बन्धी लेखिएका टि्वट, लेख प्रायः सुनाउँछु ।

यसैको प्रभाव हो अचेल मम्मीले महिनावारीजस्तो कुरालाई भान्सामा प्रवेश गर्न अनुमति दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment