Comments Add Comment

बुटवलका विद्यालयमा स्थानीय पाठ्यक्रम

२९ असार, बुटवल । बुटवल उपमहानगरपालिकाले आधारभूत तहदेखि कक्षा ८ सम्म पठन पाठन हुने गरी एक सय पूर्णाङ्कको स्थानीय पाठ्यक्रम तयार पारेको छ ।

बुटवलको ऐतिहासिक, पर्यटकीय, सांस्कृतिक, धार्मिक, समाजिक र विविध विषयहरु समेटेर बुटवलको चिनारी गराउने उद्देश्यले यहाँको अलग्गै स्थानीय पाठ्यक्रम तयार पारिएको छ ।

सो पाठ्यक्रम र नगर शिक्षा योजना नमुना भएको आइतबार आयोजित कार्यक्रममा सरोकारवालाले बताएका छन् । प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले शैक्षिक विकासका लागि नयाँ नीति र नयाँ योजनाको खाँचो रहेको बताए ।

तीनै तहको सहकार्यमा अभियान सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । नमुना कार्यक्रमले प्रदेशका सबै स्थानीय तहका लागि उपयोगी दस्तावेजको काम गर्ने बताउँदै मन्त्री बरालले बुटवलले अगाडि सारेका शैक्षिक विकासका योजनाहरुलाई साकार पार्न प्रदेश सरकार सहकार्य गर्न तयार रहेको बताए ।

यो कार्यक्रमले बुटवलले अगाडि सारेका शैक्षिक विकासका योजनाहरुलाई साकार पार्न विशेष मद्दत पुग्ने उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले बताए ।

शिक्षाविद् डा. विद्यानाथ कोइराला, प्राविधिक तथा व्यवसायिक सीपमूलक शिक्षा काठमाडौका प्रा.डा. राजेन्द्रप्रसाद अधिकारी, पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेश भट्टराई, शिक्षाविद् तथा भरतपुर उपमहानगरपालिकाका शिक्षाविज्ञ रमाकान्त सापकोटालगायतका विज्ञहरुले बुटवल उपमहानगरपालिकाले शैक्षिक विकासका क्षेत्रमा नमुना काम गरेको भन्दै प्रशंसा गरे ।

बुटवल उपमहानगरपालिकाका शिक्षाविज्ञहरु रामलाल श्रेष्ठ, बुद्धिसागर भट्टराई र छवि नेपालले स्थानीय पाठ्यक्रम, नगर शिक्षा योजना र प्राविधिक तथा व्यवसायिक सीपमूलक शिक्षाका बारेमा बुटवल उपमहानगरपालिकाका लागि तयार पारिएका योजनाहरु प्रस्तुत गरेका थिए ।

योजनाहरुका बारेमा समूहहगत छलफलमार्फत निश्कर्ष निकाल्दै विज्ञहरु सामू प्रस्तुत समेत गरिएको थियो । समूहका तर्फबाट बाबुराम भट्टराई, लेखनाथ पौडेल र जीतबहादुर शाहले विषयगत सुझावहरु राख्दै सीपलाई श्रम र उत्पादनसंग जोड्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment