
२८ असार, रौतहट । रौतहटको सिमानामा भारतले बाँधेको बाँध बाढीले भत्किएको छ । बाँध फुटेर पानी भारततर्फ बगेपछि रौतहटमा पानीको सतह घट्न थालेको छ ।
बाँध फुटेपछि बाढी भारतीय बस्तीमा पसेको छ । बाढी पसेपछि भारतीय बस्तीहरु बैरगनिया, अशोगी, भकुरहर, सिन्धुलिया लगायत ठाउँका बासिन्दामा हल्लीखल्ली मच्चिएको छ ।
भारतको बैरगनिया र रौतहटको गौरको बीचमा रहेको भारतीय बाँधका कारण सदरमुकाम गौरसहित रौतहटका अधिकांश बस्ती डुबानमा परेका छन् । बाँधमा भएका ढोकाहरु नखोलिदिँदा संकट निम्तिएको भन्दै रौतहटका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले भारतीय अधिकारीलाई पानीको निकास खोल्न आग्रह गर्दै आएका थिए ।
तर पानीको बहाव खोलिदिनुको सट्टा बाँधमा सुरक्षाकर्मी खटाएको भन्दै रौतहटबासीले सामाजिक सन्जालमार्फत भारतको आलोचना गरेका थिए । फेसबुक प्रयोगकर्ताले भारत विरोधी स्टाटससँगै ‘गो ब्याक इन्डिया’ ह्यासट्याग पनि प्रयोग गरेका छन् ।
प्रतिक्रिया 4