Comments Add Comment

‘डोज’ले दिएको डरलाग्दो दुःख !

लागूऔषधलाई जित्न सफल वाङदा शेर्पाको संघर्षको कथा

२९ असार, काठमाडौं । ‘म जे छु, जस्तो छु, त्यस्तै देखिने गरी लेख्ने भए ठिकै छ…’, कुराकानी सुरु हुन नपाउँदै उनले सर्त राखे, ’ …नत्र, जंकीलाई बाल ।’

त्यसपछि हातमा रहेको चुरोटको धुलो ‘स्ट्रे’मा झारे । अनि एक सर्को तानेर धुवाँ फाल्दै बोले, ‘सिंगारपटार गरेर ‘हिरो’ बनाएर लेखेको मलाई मन पर्दैन । म मेरो जिन्दगीको ‘डार्क स्टोरी’ सबैले थाहा पाओस् भन्ने चाहन्छु ।’

लामो कपाल । हात र गोडामा ट्याटु । सुकेर पट्ट फुटेका ओठ मुन्तिर झुस्स दारी । टिसर्ट र हाफपाइन्ट लगाएका उनी झट्ट हेर्दा फिल्मको ‘डन’ जस्तै देखिन्छन् । कसैकसैले त उनलाई ‘गुण्डा’ पनि भन्छन् ।त्यतिबेला उनको जवाफ हुन्छ, ‘जंकीलाई बाल !’

कुराकानी गर्दा प्रायः उनी यो पुर्वेली थेगो दोहोर्‍याइरहन्छन् । उनी अर्थात वाङदा शेर्पा । ३७ वर्षे जिन्दगीको २० वर्ष लागू औषधको कुलतमा फसेका उनी अहिले त्यहाँबाट मुक्त भएका छन् । ‘से नो टु ड्रग्स’ लेखेको ब्यानर बोकेर सगरमाथाको शिखरमा पुगिसकेका उनी ‘दोस्रो जीवन’ बाँचिरहेको सुनाउँछन् ।

आफ्नो जीवनको आरोह अवरोह सुनाइरहेका उनी कहिले भावुक सुनिन्छन् त अहिले आक्रामक । विदेशी श्रीमतीलाई पछ्याउँदै जर्मनको सडकमा सुतेकोदेखि आफ्नै आमाको घाँटीमा तरबार राखेको प्रसंग सुनाउँदा आँखामा पश्चाताप झल्किन्छ । उनलाई सुन्दा लाग्छ, नशाको तालमा के गर्न बाँकी राखे, उनले ?

आमाको केही लागेन

सन् २००४ तिरको एक बिहान । चार बजेकै थिएन । वाङ्दालाई नशाको तलतल खपिसक्नु भएन । तर साथमा न ‘गोटी’ थियो न ‘जोइन्ट’ । उनकै शब्दमा भन्दा शरीरले ‘डोज’ मागेकाले भित्रैबाट हड्डी चिलाउन थाल्यो, के गरौं, कसो गरौं भयो ।

लागू औषध खोज्न कोठाबाट के निस्कन खोजेका थिए, ढोकामा आमा आइपुगिन् । आमाले बिन्ति गरिन्, ‘ठूलो भएर पनि सुख नदिने भइस् कान्छा, घरको सामान चोरेर त केही बाँकी राखिनस्, राखिनस्, आफ्नो जिन्दगी बर्बाद नपार ।’

नशा नपाएको झोंकमा आमाको बिन्तीले के छुन्थ्यो र ? उनले बाटो छोड्न आग्रह गरे।

छोरा नशाको तालमा चुर्लुम्म डुबेको कुन आमाले हेर्न सक्थिन् र ? उनले वाङदालाई बाहिर जान नदिने अड्डी कसिन् र ढोकामा धर्ना बसिन् । वाङदा रिसले रन्थनिए ।

कोठामा छिरेका उनले तरबार झिकेर आमाको घाँटीमा राख्दै बम्किए, ‘मलाई बाहिर जान दिने कि…. ?’

आमाको केही लागेन, बाटो छोडिदिइन् ।

‘डोज नपाउँदा राक्षस सवार हुन्थ्यो दिमागमा’, उनी विगत कोट्याउँछन्, ‘के केसम्म गरिएछ जिन्दगीमा… अहिले सम्झँदा पछुतो लाग्छ ।’

…. मेरो जिन्दगी !

वाङदा कफी र चुरोटको ‘ककटेल’ स्वाद लिँदै आफ्नो विगतमा फर्किरहेका छन् । सम्झनाका बाछिटाहरु चुरोटको धुवासँगै उडिरहेका छन् । पीडा अभिव्यक्त गरेर होला सायद, पश्चातापले अँध्यारिएको अनुहार क्रमशः उज्यालिँदैछ ।

उनका बुवा सानैमा बितिसकेकाले सहारा आमा थिइन् । तीनजना दाइहरु जिन्दगी चलाउन संघर्ष गरिरहेका थिए । तर, कान्छो छोरा वाङदा पुल्पुलिएका । उनलाई घरको सामान चोर्नु सामान्य थियो । लागूऔषधका लागि उनले घरका सामान गायब पार्न केही बाँकी राखेका थिएनन् ।

वाङदाको हर्कतले आजित आमा उनलाई सुधार्न चाहन्थिन् तर, सके पो !

वाङ्दा एकैपटकमा ३५ वटा ‘गोटी’ (क्यान्सरका बिरामीले खाने ट्याब्लेट) खाने भइसकेका थिए । गाँजा, ‘जोइन्ट’ र अन्य लागूपदार्थमा नशामा डुब्नु दैनिकी बनिसकेको थियो । त्यही कारण ‘ट्रेक लिडर’ को काम पाउन छोडिसकेका थिए । तर, नशा नपाए बौलाहा झैँ हुन्थे । घरका महंगा महंगा सामान चोरे, साथीभाइसँग सापट मागे । उधारो पाउने जति ठाउँ कहीँ बाँकी राखेनन् ।

उनको पारा त्यही थियो, ‘जंकीलाई बाल ।’

नशामा हुँदा उनलाई संसारै आफ्नो जस्तो लाग्थ्यो । आफूमात्रै ठीक । अझ उनकै शब्दमा भन्नुपर्दा ‘वाइल्ड जिन्दगी बिन्दास !’ न उनलाई आमाको आँशुले छुन्थ्यो, न दाइहरुको उपदेशले । सन्की स्वाभावका उनी कसैलाई मान्छे नगन्ने । उनीसँग सबै आजित भइसकेका थिए ।

‘जंकीलाई बाल’ भनेर अरुलाई अत्याए पनि उनी भने भित्रभित्रै गलिसकेका थिए । मनले ‘गलत बाटोमा छु’ भनेर भनिरहदाँ शरीरले ‘डोज’ माग्थ्यो । साथी संगतका कारण पनि नशा छोड्न सकिरहेका थिएनन् । बेला बखत पर्यटकहरुलाई ट्रेकिङ लैजाने काम आउँदा पनि नशाको तालमै हुन्थे ।

‘ड्रग एडिक्ट’को भरमा पर्यटकहरुलाई ट्रेकिङ पठाउने जोखिम ट्रेकिङ एजेन्सीले मोलेनन् । उनी बेरोजगार भए । बेरोजगारीले नशाको ‘डोज’ घटाएन, झन बढ्यो । सन् २००६ को एकाबिहान उनी नशा नपाएर घरमै छटपटाइरहेका थिए।

चुरोट तान्दै र्‍याल सिँगान झारिरहेका बेला साइँला दाइले देखेर सोधे, ‘आज डोज पाइनस् कि क्या हो ?’

वाङ्दाले जवाफ फर्काए, ‘हो त…।’

गाली गर्दै कोठामा छिरेका दाइले सोधे, ‘कति पर्छ तेरो डोजलाई ?’

‘पाँच सय…’ उनले जवाफ फर्काउनासाथ दाइले हातमा १ हजार हालिदिए । वाङदा दंग पर्दै दौडिए । तर, दाइले हजार रुपैयाँ हालिदिएको दृश्य दिमागमा झल्झली नाँच्न थाल्यो । सोच्दासोच्दै अतीतका दृश्यहरुले फनफनी घुमायो ।

आमाको घाँटीमा तरबार । घरको सामान चोरी । झैं झगडा र आमाको आँशु । सबै दृश्य सम्झिँदै बैचेन भए ।

अनि आफैंलाई धिक्कार्दै भने, ‘थुइक्क मेरो जिन्दगी ।’

धिक्कार्दैमा के हुन्थ्यो र ? नानीदेखि लागेको बानी सजिलै छोड्न सक्ने अवस्था थिएन ।

लागू औषध पाइने ठाउँमा पुगे ।

त्यहाँ पनि पसले दाइले भने, ‘वाङदा भाइ, तिमी यसरी आफ्नो जिन्दगी बर्बाद नपार । परिवारले कति संघर्ष गरेको छ, तिमीलाई थाहा छ?’

यो प्रश्नले अर्को झट्का दियो । एकै दिनका यी दुई झड्काले उनलाई बाल्यकालको सम्झना आयो ।

‘ट्रेकिङ’ मा हिँड्दा हिँड्दै ‘ट्रयाक’ बाहिर

पुर्ख्यौली घर सोलुखुम्बु भए पनि वाङदाका बुवा भुटानमा काम गर्थे । सबैजना उतै बस्थे । वाङ्दा उतै जन्मिए । तर, पाँच वर्ष नपुग्दै बुवालाई गुमाउनुपर्‍यो । त्यसपछि उनको परिवार काँकरभिट्टा फर्कियो । परिवार आमाले सम्हालिन् । दुःखले इन्जिनिरिङ पढेका जेठा दाजु ‘ट्रेक लिडर’को काम गर्न बाध्य भए ।

अरु दुई दाइले पनि जेठाकै पथ पछ्याए । सानैदेखि खेलकुदमा रुची राख्ने वाङ्दा ब्रिटिस आर्मी बन्न चाहन्थे । एसएलसी सकेर काठमाडौं छिरेपछि यो सपना त्यतिकै तुहियो।

सरस्वती क्याम्पस, ठमेलमा रात्रीकालीन कक्षामा भर्ना भए पनि पढ्न गएनन् । ट्रेकको हेल्पर भए । पर्यटकहरुसँग एउटा ट्रेक गरेको १५ हजार आउँथ्यो । ०५५-०५६ सालतिर यो रकम ठूलो थियो । तर, केही पर्यटक तथा साथीभाइको गलत संगत उनलाई भारी पर्‍यो ।

काँकडभित्तातिरै छ्याङ खाने बानी परेका उनी यता गाँजा र गोटीमा लठ्ठिन थाले । एकातिर उनको जिन्दगी तहस–नहस हुँदै गयो भने अर्कोतिर परिवारमा तनाव ।

वाङदा नियन्त्रण बाहिर गइसकेका थिए । लागू औषध उपलब्ध गराइदिने दाइको त्यो प्रश्नले उनलाई औकात सम्झाइदियो । अनि रन्थँनिदैँ घर पुगेर साहिँला दाइलाई भने, ‘मेरो जीवन त बर्बाद भयो । म सुध्रिन चाहन्छु, सुधार गृह पठादेऊ ।’

परिवारले अनेक प्रयास गर्दा पनि वास्ता नगर्ने वाङदा आफैंले सुधार गृह लैजान आग्रह गरेपछि आमा खुशी भइन् । परिवारमा उत्साह छायो ।

सुधारगृह पुर्‍याउने दिन ‘यो अन्तिमपटक हो’ भन्दै साहिँला दाइले वाङदालाई ‘डोज’ खान पैसा दिए ।

त्यसपछि वाङदा सुधारगृहमा गए ।

वाङदाले नेपालमा उपलब्ध हुने कुनै लागू औषध खान बाँकी थिएन । लगातार ११ वर्ष नशामा रहेका उनी सुधार गृह छिर्दा भाउन्निएर बौलाहा जस्ता भएका थिए । । उनी मात्र होइन, त्यहाँ भएका अरुको हर्कत पनि त्यस्तै थियो । उनीहरुलाई सम्हाल्न सजिलो पनि थिएन । तर घण्टा, दिन, महिना गर्दा गर्दै ९९ दिन बसेर सुधार गृहबाट निस्किए ।

तर, निस्केको दुई घण्टा नबित्दै फेरि झ्याप । उनको घैंटोमा घाम लागेन । छोरो सुध्रियो होला भनेर खुशी भएकी आमाको सपना छिनभरमै चकनाचुर भयो ।

तैपनि उनले ट्रेकिङको काम पाए ।

ससुराली अर्थात जर्मनीमा पनि उही पारा

सन् २००७ मा ट्रेकिङ गरिरहेका बेला वाङदाको भेट एक जर्मन युवतीसँग भयो । केही समय उनीहरु ‘लिभिङ टुगेदर’मा बसे । पछि ती युवती आफ्नै देश फर्किइन् । उनलाई पछ्याउँदै वाङदा पनि जर्मन पुगे । तीन महिना बसेर वाङदा नेपाल फर्किए । तर, उनको ‘चिनो’ जर्मनमै छुट्यो । जर्मन युवती गर्भवती थिइन् ।

जर्मनमा छोरा जन्मँदा वाङदा नेपालमा थिए । नशाले जिन्दगी धराप भइसकेको थियो । आफ्ना लागि नसोचेका उनले परिवारका लागि झन के सोच्थे र ! उनले सबथोक सकिसकेका थिए । गुमाउनका लागि उनीसँग केही बाँकी थिएन । तैपनि ‘जंकीलाई बाल’ भन्दै उनी नशामा झुमिरहन्थे ।

त्यहीबेला जर्मनबाट छोरो हेर्न निम्ता आयो ।

जर्मन गएर हाउस मेडको काम सुरु गरे । काम एकातिर, परिवार अर्कोतिर । अनि नशाको ‘डोज’ उस्तै । जिन्दगी अस्तव्यस्त भयो ।

नशाकै कारण कतै टिक्न सकेनन् । भाँडा टल्काउनेदेखि ‘स्टेज’ बनाउनेसम्म काममा खटे पनि ‘डोज’ खानलाई पैसा पुगेन ।

‘त्यतिबेला श्रीमतीले छोराका लागि जम्मा गरेको पैसासम्म चोरेँ’ उनी सम्झन्छन्, ‘नशाले लठ्ठ भएर सडकमा सुतें । श्रीमतीसँग झगडा गरें । तर, सुध्रिन सकिनँ ।’

वाङदालाई जर्मनको सुधार केन्द्रमा पनि हालियो । तर, सुधार केन्द्रबाट निस्किएपछि फेरि सुरु । त्यसपछि श्रीमतीसँग सम्बन्ध बिग्रियो, आफ्नो कागजात हराए अनि सडकछाप भए ।

वाङदाको अवस्था देखेर जर्मन ससुराको मन पग्लियो । उनैले टिकेट काटेर नेपाल पठाइदिए ।

सुध्रिने प्रण

काठमाडौं आएपछि वाङदा सिधै काँकरभिट्टा पुगे । १० वर्षअघि आफूसँग नशामा रम्ने साथीहरु सबै सुध्रिसकेका रहेछन् । सबैको आफ्नो परिवार थियो । व्यापार व्यवसाय थालेका थिए । उनले आफूलाई मात्रै भद्रगोल पाए । इलाम घुम्न पुगेका उनलाई साथीहरुले त्यहीँ सुधारगृहमा भर्ना गरिदिए । त्यहाँबाट निस्किएपछि फेरि उस्तै ।

‘ड्रग एडिक्ट’ भएपछि सबैले मलाई बेवास्ता गरे’ उदास हुँदै वाङदा सुनाउँछन्, ‘सबैले सुध्रने आशा मारेर बेवास्ता गरेपछि नशाको अर्को लेभलमा पुगेँ । त्यसपछिका कति ‘काण्ड’ त भन्न लायक छैनन् ।’

बोल्दाबोल्दै उनी मौन भए । अनुहार बिग्रियो । गला अवरुद्ध पारेर आकाशतिर हेर्दै भने, ‘यस्तै यस्तै भयो जिन्दगी…..।’

उनी जति नशामा डुब्दै गए, परिवार तथा आफन्तहरु त्यति नै टाढिँदै जान थाले । न हातमा काम थियो, न दाम । न मर्न सक्थे, न लागूऔषधबिना बाँच्न ।

अनि मनले भन्यो, ‘अत्ति भो केटा, अब जाग् । लागुऔषध नत्यागेसम्म शान्ति पाउँदैनन् ।’

वाङदाले आफ्नो २० वर्षे जीवनको समीक्षा गरे र निष्कर्ष निकाले– ‘निराशा, अस्तव्यस्त र सर्वनाश ।’

त्यसपछि प्रण गरे, ‘अब म सुध्रिन्छु ।’

आफ्नो निर्णय परिवारलाई सुनाए । तर, कसले विश्वास गर्ने ?

यसअघि पाँचपटक सुधारगृहमा पुगेका उनी त्यहाँबाट निस्किएकै दिन नशामा डुबिहाल्थे । तैपनि दाइहरुले फेरि सुधारगृह पर्‍याए ।

योपटक उनले पुराना गल्ती दोहोर्‍याएनन् । गलत संगतबाट छुट्कारा पाउन सुधार गृह र घरबाहेक बाहिर कतै गएनन् ।

आङछिरिङको म्यासेज !

एक दिन सुधारगृहमै बसिरहेका थिए । मोबाइलमा पर्यटन व्यवसायी आङछिरिङ लामाको म्यासेज आयो, ‘के छ भाइ ?’

वाङदाले झट्ट जवाफ फर्काए, ‘म सुधारगृहमा छु दाइ, अहिले सुध्रिसकेँ नि ।’

उताबाट जवाफ आयो, ‘तिमी कहाँ के गर्दैछौँ, मलाई थाहा छ । सुध्रिएको हो भने काम गर्नुपर्छ ।’

आङछिरिङको जवाफले वाङदालाई लाग्यो, ‘मलाई त ड्रग्सले सकेछ । मलाई र मेरो कामलाई सम्झिने मान्छेहरु रहेछन् त ।’

त्यसपछि उनले जिन्दगीका रमाइला क्षणहरु सम्झिए ।

सँगै काम गरेका साथीहरुको याद आउन थाल्यो । विभिन्न हिमालमा गएका रोमाञ्चक ट्रेकको सम्झनाले ज्यान चंगा भयो । फेरि ट्रेकिङ लिडर बनेर काम सुरु गर्न मन लाग्यो।

तर, साँहिला दाइले चेतावनी दिए, ‘तेरो जिन्दगी बर्बाद भएकै ट्रेकिङको कामले हो । यो काम नगर्नू ।’

जीवनको अधिकांश उमेर ट्रेकिङ गरेर बिताएका वाङदाको मन कहाँ मान्थ्यो र । त्यहीबेला आङ छिरिङले कामको अफर गरे । उनी दायाँबायाँ नसोची पर्यटकहरु लिएर नाम्चेतिर लागे ।

यात्रामा पर्यटकहरुले ‘डोज’ खान अफर नगरेका पनि होइनन् । तर, उनले कडा अनुशासनलाई भत्काएनन् ।

मनलाई नियन्त्रणमा लिएरै छाडे ।

नाम्चे ट्रेक सकेपछि पर्यटकहरु काठमाडौं फर्किए । उनी उतै बसेँ ।

सगरमाथा आरोहण !

आङछिरिङको कम्पनी ‘आङस् हिमालयन’ ले एउटा टिम सगरमाथामा लैजाने तयारी गरिरहेको थियो । त्यो टिममा वाङदा पनि सामेल भए ।

वाङदाले न सगरमाथा चढ्ने सपना देखेका थिए, न लागूऔषध छोड्छु भन्ने लागेको थियो । तर, नसोचेको भइरहेको थियो । उनले सगरमाथा चढ्ने तयारी सुरु गरे । खर्च आङछिरिङले नै बेहोरे । ९ जनाको टोलीसँग उनी सगरमाथाको शिखर चुम्न हिँडे । क्याम्प वान र टु सजिलै पुगे । क्याम्प थ्री मा पुग्दा मौसम परिवर्तन भयो । फेरि क्याम्प टुमै आएर बसे । अन्ततः उनको टोली मे २३ मा शिखरमा पुग्यो ।

तस्वीर : वाङ्दाको फेसबुकबाट

सगरमाथाको शिखरबाट ओर्लिंदै गर्दा भने अक्सिजन माक्सको पाइप जाम भएर झण्डै बेहोस भएका थिए ।

त्यसबेला सहयोग गर्न आएका शेर्पा गाइडहरुले भने, ‘आबुई वाङदा दाइ होइन, यहाँ कसरी ?’

त्यो क्षणले उनलाई आफ्नो ट्रेकिङ जीवनको सुन्दर पक्ष थाहा भयो ।  वर्षौं पहिला बाटामा भेटिएका गाइडहरुले सगरमाथाबाट फर्कंदा सहयोग गरेको देखेर उनी भावुक बने ।

‘से नो टु ड्रग्स’ का अभियन्ता !

पछिल्ला २० महिनामा वाङदाको जीवनले नयाँ मोड लिएको छ ।

सगरमाथा चढ्दा बोकेको ‘से नो टु ड्रग्स’ ब्यानरले नसोचेको चर्चा पायो । उनको खोजी हुन थाल्यो । वास्तविकता थाहा पाउनेहरुले उनलाई ‘आइडल’ मान्न थाले । अहिले उनी ‘से नो टु ड्रग्स’ अभियानमा सक्रिय छन् ।

वाङदा विभिन्न पुनर्स्थापना केन्द्रहरुमा गएर आफ्नो जीवनका कथा सुनाउँछन् । उनलाई कामको अवसर पनि आइरहेको छ । समयले भ्याएसम्म ट्रेकिङ पनि गइरहेका छन् ।

‘अब सात देशका सात वटा हिमालमा ‘से नो टु ड्रग्स’ लेखेको ब्यानर बोकेर चढ्ने सपना छ’ वाङदाले हाँस्दै भने, ‘तर अहिले होइन बिस्तारै । भर्खर त जिन्दगी सुरु भएको छ ।’

वाङदा यतिबेला परिवारका लागि समय दिइरहेका छन् । जर्मनीमा रहेका छोरासँग नियमित भिडियो सम्वाद हुन्छ । तर, उनकी आमालाई वाङदा ‘पूर्वप्रेमिका’ भनेर सम्बोधन गर्छन् ।

जिन्दगीका आरोह–अवरोहको भागिदार आफैंलाई बताउने उनको जीवनप्रति गुनासो र कसैप्रति प्रश्न छैन । आफ्नो अतीत मेटाउन नसक्ने यथार्थ बुझिसकेको सुनाउँछन्।

‘अरुलाई पो परिवर्तन गर्न सक्दिनँ, आफैं परिवर्तन हुन सक्छु नि’ उनी हाँस्दै भन्छन्, ‘पहिला–पहिला कसैले विश्वास गर्दैनथे । अहिले सबैजना मसँग भेट्न आतुर छन् । बोली भन्दा काम धेरै शक्तिशाली हुन्छ भन्ने उक्तिको अर्थ बल्ल पो थाहा पाएँ ।’

वाङदालाई मानिसहरुको प्रतिक्रियाले थप जिम्मेवार बनाएको छ । परिवर्तित वाङदा देखेर आमा पनि खुशी छिन । उनी झन दंग ।

अहिले लाग्छ, ‘यस्तो पो जिन्दगी, यस्तो पो परिवार…।’

पहिले पहिले वाङदा बिहानै ‘डोज’को खोजीमा घरबाट निस्कँदा आमाले रोक्थिन् । अहिले आमा त्यही समयमा नियमित ‘मर्निङ वाक’ जान्छिन् । वाङदा कहिलेकाहीँ आमाको बाटो छेक्दै आफ्नो अतीत सम्झाइदिन्छन्।

आमा हाँस्दै जवाफ दिन्छिन्, ‘बल्ल पो मान्छे भइस् तँ…।’

कहिलेकाहीँ आमा ‘मर्निक वाक’ निस्कन ढिलो गर्दा वाङदा भनिदिन्छन् , ‘आमा कलेज जान ढिलो भएन भन्या !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment