
२९ असार, काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न हुने अवधि थपिएको छ । तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थलको निर्माण अवधि डिसेम्बर २०१९ (१६ पुस २०७६) का लागि सरेको छ ।
यसअघि २८ जुन २०१९ सम्म सक्ने लक्ष्य तय गरिएको थियो । यसअघि डिसेम्बर २०१७ मै सकिनु पर्ने आयोजनाको अवधि १८ जुन २०१८ लाई सारिएको थियो । त्यस अवधिमा पनि काम सम्पन्न हुन नसकेपछि म्याद बढाएर २८ जुन २०१९ पु¥याइएको थियो । अहिले तेस्रो पटक समय तथ भएको छ ।
‘बाँकी काम सम्पन्न गर्न समय लाग्ने भएपछि आयोजनाको अवधि थप गरिएको छ,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले भने ।
धावनमार्ग निर्माण भइसकेको छ भने अरु भौतिक प्रगति निकै राम्रो रहको कारण थपिएको अवधि भित्रै आयोजना सम्पन्न हुने उनले बताए । समय अवधि थपिए पनि आयोजनाको लागत भने नबढेको उनले जानकारी दिए ।
प्रारम्भमा भूकम्प र नाकाबन्दी तथा त्यसपछि निर्माण सामाग्रीको अभाव तथा मुख्य ठेकेदार र स्थानीय ठेकेदारबीच हुने असहमतिले यो आयोजनाको काम पटक–पटक अवरुद्ध हुने गरेको छ ।
गौतमबुद्ध विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएशन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरिरहेको छ । विमानस्थल निर्माणमा एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोग छ ।
अन्तिम पटक विमानस्थलको म्याद थप गर्न लगानीकर्ता बैंक सहमत भएपछि प्राधिकरणले निर्माण कम्पनीलाई आगामी डिसेम्बरसम्मको अवधि थपिदिएको हो ।
३१ डिसेम्बर २०१४ बाट निर्माण प्रारम्भ भएको यो विमानस्थल ६ अर्ब २२ करोड ५१ लाख २० हजार रुपैयाँ लागतमा निर्माण भइरहेको छ तर, जग्गा अधिग्रहणका क्रममा भने यो विमानस्थलमा ठूलो रकम लगानी भइसकेको छ ।
७३ प्रतिशत प्रगति
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अघिल्लो साता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा पठाएको प्रगति विवरणअनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति ७३ प्रतिशत छ । अहिलेसम्म ३ हजार मिटर लम्बाई र ६० मिटर चौडाईको धावनमार्ग कालोपत्रे भइसकेको छ भने पार्किङ क्षेत्र (एप्रोन) एरिया निर्माणको काम पनि सकिएको छ ।
विमानस्थलमा अहिले अन्तरराष्ट्रिय यात्रु टर्मिनल, कन्ट्रोल टावर, प्रशासकीय भवन, सवस्टेशन, प्यासेन्जर पार्किङ तथा अन्य उपयोगी भौतिक संरचनाहरु निर्माणको चरणमा छन् ।
प्रतिक्रिया 4