Comments Add Comment

विदेशबाट फर्केर उद्यमी बनेका ७ जना पुरस्कृत

२९ असार, काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरेका ७ जना उद्यमी पुरस्कृत भएका छन् । आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले उनीहरुलाई सम्मान गरे ।

विदेशमा सिकेको सीप उपयोग गर्दै स्वदेशको अर्थतन्त्रमा योगदान गरेको भन्दै उनीहरुलाई सम्मान गरिएको हो । दुवईबाट फर्किएर कुखुराको चल्ला उत्पादन गर्ने नवराज पौड्याल उत्कृट राष्ट्रिय उद्यमी पुरस्कारबाट सम्मानित भए । कान्तिपुर पोल्ट्री ब्रिडिङ उद्योग सञ्चालन गरी ४८ जनालाई रोजगारी दिएका उनी १ लाख रुपैयाँबाट पुरस्कृत भए ।

त्यस्तै दक्षिण कोरियाबाट फर्किएर स्टिल उद्योग सञ्चालन गर्ने दीपक चापागाई, गार्मेन्ट उद्योग सञ्चालन गर्ने मनोजकुमार भारती र गार्मेन्ट उद्योग नै सञ्चालन गर्ने त्रिलोक पनेरु, दुबईबाट फर्किएर पशुपालन तथा तरकारी खेती गर्ने शर्मिला अधिकारीले उद्यमी राष्ट्रिय पुरस्कारमार्फत जनही ५० हजार रुपैयाँ पुरस्कार पाए ।

त्यस्तै दुबई, र मलेसियाबाट फर्किएर अर्गानिक खेती गर्ने निरबहादुर राउत, एकबहादुर सिङताङले संयुक्त रुपमा उद्यमी राष्ट्रिय पुरस्कारमार्फत ५० हजार रुपैयाँ पाए ।

उद्यमीलाई सम्मान गर्दै मन्त्री गोकर्ण विष्टले सरकारले युवाहरुको श्रम देश विकासमै लगाउने गरी सरकारले काम गरिरहेको बताए । बाध्यात्मक वैदेशिक रोजगारी अन्त्य गर्ने गरी सरकारले योजनाहरु बनाइरहेको उनले बताए ।

सरकारले आफूहरुको मेहनतको कदर गरेर हौसला बढाइदिएको सम्मानितमध्येकी एक रामलक्ष्मण कृषि फर्मकी सञ्चालक शर्मिला अधिकारीले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment