Comments Add Comment

प्रदेश सरकारको निर्णय : मृतकका परिवारलाई २ लाख, घाइतेको निःशुल्क उपचार

प्रदेश १ मा मृतकको संख्या १९ पुग्यो

विराटनगर । अविरल वर्षापछि आएको बाढीका कारण प्रदेश १ मा मृत्यु हुनेको संख्या १९ पुगेको छ । बाढी र पहिरोमा परी ८ जना बेपत्ता भएका छन् ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार बाढी र पहाडी क्षेत्रमा आएको पहिरोका कारण मृत्यु हुनेको संख्या १९ पुगेको हो । बाढी र पहिरोका कारण प्रदेश १ मा ८ जना हराइरहेका छन् ।

प्रहरीका अनुसार भोजपुरमा मृत्यु हुनेको संख्या ५ पुगेको छ । पाँचजनालाई वर्षापछिको पहिरोले किचेको थियो । बाढी र पहिरोका कारण ओखलढुंगामा मृत्यु हुनेको संख्या ४ पुगेको छ । खोटाङमा ३ ,उदयपुर र भापामा २–२ जनाको मृत्यु भएको छ । सुनसरी, इलाम र पाँचथरमा १–१ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बेपत्ता हुनेको संख्या ८ पुगेको छ । मोरङबाट मात्र ३ जना बेपत्ता भएका छन् । मोरङको कानेपोखरी, जहदा र कटहरी गाउपालिकामा १–१ जना बाढीले बगाएर बेपत्ता भएका हुन् । त्यस्तै इलाममा ३, झापा र सुनरसरीमा १–१ जना बेपत्ता भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।

दुई लाख राहत दिने निर्णय

केही दिनयताको बाढी र पहिरोमा परेर ज्यान गुमाएका हरुको परिवारलाई प्रदेश सरकारले दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले मृतक परिवारलाई राहत स्वरुप प्रदेश सरकारले २ लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको निर्णयका विषयमा जानकारी दिदै सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेश १ सरकारले राहत र उपचार खर्च उपलब्ध गराउने निर्णय गरेको बताए ।

घाइतेको सरकारी अस्पतालमा उपचारको सम्पुर्ण खर्च बेहोर्ने र निजी अस्पतालमा उपचार गरेमा बढीमा ५० हजार बिल सरकारले भुक्तानी गर्ने निर्णय गरेको कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment