
२९ असार, चितवन । चितवनको सरकारी विद्यालय भानु माविले जिल्लामै पहिलोपटक कक्षा ११ र १२ मा कानुन विषय पढाउने भएको छ । भरतपुर महानगरपालिका २१ मा रहेको यस विद्यालयले चालु शैक्षिक सत्रमा कक्षा ११ मा कानुन विषय पढाउने भएको हो ।
विद्यालयका अध्यक्ष दिलिप न्यौपानेका अनुसार विद्यालयले कक्षा ११ मा कानुन विषय पढाउने अनुमति महानगरपालिकाबाट लिएको छ ।
राष्ट्रिय पाठ्यक्रम विकास केन्द्रले माध्यमिक तह (कक्षा ११ र १२ मा) कानुन विषय समावेश गरेपछि चितवनमा पहिलो पटक भानु मावि पहारिलोटारले यसको सम्बन्धन लिएको हो ।
विद्यालयले कक्षा ११ मा कानुनको लागि भर्ना सुरु गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष न्यौपानेले बताए । उनले भने, ‘पहिलो वर्ष हामीले एक सय विद्यार्थीहरुलाई भर्ना लिने लक्ष्य लिएका छौँ, साउन ५ गतेबाट कानुनको कक्षा नै सञ्चालन गर्ने योजना छ ।’
चितवन अदालतमा बहस गर्ने वकिलहरुले नै कानुन विषय पढाउने विद्यालयले जनाएको छ ।
२०१८ सालमा स्थापना भएको यस विद्यालयले २०४१ मा निमावि र २०६३ मा माविको कक्षा चलाएको थियो । विद्यालयले गत वर्ष सिटिइभिटीको सम्वन्धनमा ४० जना विद्यार्थीलाई जुनियर कम्प्युटर टेक्निसियन पढाउँदै आएको छ । विद्यालयले कक्षा ११ मा शिक्षा विषय पनि पढाउँदै आएको छ ।
प्रतिक्रिया 4