काठमाडौं । विश्वकप क्रिकेटको फाइनलमा न्युजिल्याण्डले भन्दा ९ बाउण्ड्री बढी हानेका कारण इंग्ल्याण्डले उपाधि जित्यो । निर्धारित ५० ओभर र सुपर ओभरमा समेत बराबरी भएपछि बाउण्ड्रीको आधारमा च्याम्पियनको तय भयो ।
तर न्युजिल्याण्डले उपाधि जित्नुपर्ने तर्कहरु आइरहेका छन् । के कारण इंग्ल्याण्डले जितिसकेको विश्वकपको उपाधि न्युजिल्याण्डले पाउनुपर्छ भन्ने बहस सुरु भयो ?
अन्तिम ओभरमा इंग्ल्याण्डले ओभर थ्रोमा पाएको रनले आईसीसीकै नियम उल्लङ्घन भएको तर्क छ ।
अन्तिम ओभरको अन्तिम ३ बलमा इंग्ल्याण्डलाई जितका लागि ९ रन चाहिने अवस्था थियो । टे्रन्ट बोल्टको बलमा बेन स्टोक्सले मिड विकेटको दिशामा बल हाने र रनका लागि दौडिए । पहिलो रन पूरा भयो । दोस्रो रनको लागि दौडँदा क्रिजमा उनले डाइभ गरे, जतिबेला न्युजिल्याण्डका मार्टिन गुप्टिलले फालेको बल उनको ब्याटमा लाग्यो र बाउण्ड्री पुग्यो ।
अम्पायर कुमार धर्मसेनाले लेग अम्पायरसँग सल्लाह गरेर इंग्ल्याण्डको खातामा ६ रन थप्ने निर्देशन दिए । अब इंग्ल्याण्डले अन्तिम दुई बलमा ३ रन ल्याउनुपर्ने भयो ।
तर क्रिकेट नियमलाई हेर्ने हो भने १९.८ मा भएको ‘ओभर थ्रो र फिल्डरले गरेको गल्तीसम्बन्धी नियम’मा हेर्ने हो भने उक्त ओभर थ्रोपछि इंग्ल्याण्डको खातामा ६ रन होइन ५ रन जोडिनुपर्ने थियो ।
नियममा लेखिएको छ, ‘यदि ओभर थ्रोमार्फत या फिल्डरले केही गल्ती गरेर बाउण्ड्री हुन्छ तब ब्याट्सम्यानले जोडेको रनलाई पनि समावेश गर्नुपर्ने हुन्छ । यदि पूरा गरेको रनका साथै रनका लागि दौडिरहँदा फिल्डरले बल फाल्नु अगाडि नै दुई ब्याट्सम्यान क्रस गरिसकेका छन् भने उक्त रन पनि जोडिन्छ ।’
यही नियमको दोस्रो हिस्सामा लेखिएको कुराले विश्वकप न्युजिल्याण्डको पक्षमा हुनुपर्नेमा बहस चलिरहेको छ । जसमा यदि रन लिँदा फिल्डरले बल फाल्नु अगाडि नै दुई ब्याट्सम्यान क्रस भएको भए उक्त रन जोडिने भनिएको छ । तर आइतबारको फाइनलमा दोस्रो रनका लागि ब्याट्सम्यान स्टोक्स र आदिल राशिद दौडँदा उनीहरु क्रस नहुँदै फिल्डर गुप्टिलले बल फालेको देखिन्छ ।
रनका लागि कुदिरहेका स्टोक्सले जानाजान ब्याटलाई बलको अगाडि पारेका हुन् या अञ्जानमा त्यसो भएको थियो भन्ने भिडियोमार्फत प्रस्ट नहुने भए पनि इंग्ल्याण्डको खातामा एक रन बढी जोडिएकोमा भने धेरैको आपत्ती छ ।
‘नियम भनेर पहिलेदेखि लागू भएका विषयमा केही भन्नु मिल्दैन, हुन त त्यही रनले हामीलाई विजेता बनाउन पनि सक्थ्यो तर, नियम नियम नै हो । फाइनलमा खेल यताउता हुन मिल्ने कति अवस्थाहरु आएका थिए । जब बराबरी हुन्छ, तब सम्झनामा ती हरेक बल आउँछन्’ न्युजिल्याण्डका कप्तान केन विलियम्सनले भनेका छन् ।
विलियम्सनले ओभर थ्रोसम्बन्धी नियम खेलअघि तय भएको नियम हुनाले हार्दाको दुःख हुँदाहुँदै नियमको वेवास्ता गर्न नमिल्ने बताएपनि नियमकै आधारमा गल्ती देखिएपछि बहस फेरिएको हो । बाउण्ड्रीबाट गरिएको थ्रोका बेला आफ्नो ब्याटमा बल लागेर बाउण्ड्री पुगेपछि स्टोक्सले समेत हात उठाएर न्युजिल्याण्ड खेलाडी समक्ष माफी मागेका थिए । उक्त ओभर थ्रो बाउण्ड्रीपछि इंग्ल्याण्डका कप्तान इयान मोर्गानले पनि कुनै खुशी मनाएनन् । उनी भन्छन्, ‘त्यो खुशी मनाउने अवस्था होइन, त्यसरी बनेको रनमा सबैलाई दुःख लाग्छ ।’
यसबारे आईसीसीले आधाकारिक केही बताएको छैन ।
तर क्रिकेट विश्लेषक र खेल पत्रकारहरुले भने नियम उल्लेख गर्दै बहस सुरु गरिरहेका छन् । यदि क्रिकेट नियमको खेल हो र नियमकै आधारमा बढी बाउण्ड्री हानिएकाले इंग्ल्याण्डलाई उपाधि जिताइएको हो भने त्यसअघिको नियम उल्लङ्घनमा पनि विचार गरिनुपर्ने तर्क उनीहरुको छ ।
                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
    
    
    
    
    
                            
                            
                            
                            
                            
                            
प्रतिक्रिया 4