Comments Add Comment

सागलाई सफल बनाउन सबै लाग्नुपर्छ : मन्त्री विश्वकर्मा

३० असार, काठमाडौं । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई सफल बनाउन सबै लाग्नुपर्ने बताएका छन् ।

१३ औं साग सचिवालयले सोमबार आयोजना गरेको १३ औं सागमा सहभागी हुने खेल संघहरुसँग तयारीसम्बन्धी अन्तर्क्रियामा मन्त्री विश्वकर्माले नेपालबाट सुरु भएको सागलाई ऐतिहासिक बनाउन सबै लाग्नुपर्ने बताए ।

मन्त्री विश्वकर्माले मुख्य चुनौती हिटिङ पौडी पोखरी भएको बताउँदै पूरै सामाथ्र्य प्रयोग गरेर काम सम्पन्न गर्ने बताए । उनले ५/७ दिनमा सागको कार्यविधि आउने बताउदै आवश्यकता अनुसारको उपसमिति गठन गरिने पनि जानकारी दिए ।

कार्यक्रममा सागमा समावेश विभिन्न २७ खेल संघका अध्यक्ष, महासचिव र प्रमुख प्रशिक्षकहरुको सहभागिता थियो । सहभागीहरुले खेल स्थल, प्रशिक्षण स्थल, खेल सामाग्री, वैदेशिक प्रशिक्षण, स्वदेशमै विदेशी प्रशिक्षक झिकाएर खेलाडीलाई प्रशिक्षण गराउनुपर्ने लगायतका विषयमा सुझावसहितको आ–आफ्नो धारणा राखेका थिए ।

संघीय सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सागलाई भब्यताका साथ सम्पन्न गर्नु सबै नेपालको दायित्व र जिम्मेवारी भएको बताए ।

त्यस्तै, राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले प्राप्त सुझावलाई कार्यन्वयन गर्नेतर्फ केन्द्रीत हुने बताउँदै सागलाई परिणाम मुखी बनाउन प्रयासरत रहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment