Comments Add Comment

सीमा क्षेत्रमा सशस्त्र प्रहरीको सक्रियता बढ्यो

३१ असार, वीरगञ्ज । सशस्त्र प्रहरीले अघिल्लो आर्थिक वर्षको तुलनामा यसवर्ष ४ गुणा बढी भन्सार छलीका सामान नियन्त्रणमा लिएर वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ ।

आर्थिक वर्ष २०७४/७५ मा १ करोडको हाराहारीमा भन्सार छलीको सामान नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले यसवर्ष ६ करोड भन्दा बढीको सामान नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल गुल्म हेड क्वाटर पर्सा नं १४ गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक तिलकबहादुर खड्काका अनुसार यस वर्ष सशस्त्र प्रहरीले भन्सार चोरी तस्करी नियन्त्रणका क्रममा ६ करोड मूल्य बराबरको समान बरामद गरेको छ ।

नाकामा जाँच र रात्री गस्तीका क्रममा ती समान बरामद गरिएको उनले बताए । चालु आर्थिक वर्षको साउनदेखि असारसम्ममा भन्सार स्थित सशस्त्र प्रहरीको गुल्मले ६ करोड ६ लाख ५५ हजार २७ रुपैयाँको समान नियन्त्रणमा लिएको छ ।

जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४ गुणा भन्दा बढी हो । अघिल्लो आर्थिक वर्ष ०७४/७५ मा सोही गुल्मले १ करोड ३८ लाख ५४ हजार ४ सय ८० रुपैयाँ मूल्य बराबरको समान बरामद गरेर वीरगञ्ज भन्सार बुझाएको थियो ।

सोही क्रममा सशस्त्र प्रहरीको टोलीले मंगलबार भन्सार छली नेपाल ल्याउँदै गरेको २ लाख ५ सय ५ रुपैयाँ बराबरको समान बरामद गर्‍यो ।

वीरगञ्ज महानगरपालिका रजतजयन्ती क्षेत्रमा चेकजाँचका क्रममा समान बारामद गरेको हो ।

भन्सारको सुरक्षा र चोरी तस्करी नियन्त्रणका लागि तैनाथ गुल्मबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा भारत रक्सौलबाट अबैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको लत्ता कपडा, हार्डवयर, किराना सामानहरु, मोटरपार्टस, मरिच बरामद गरेको थियो ।

सामान छोडेर मानिसहरु भागेकोले उनीहरुलाई नियन्त्रणमा लिन नसकिएको र बरामद गरिएको समान आवश्यक कारबाहीका लागि बीरगंज भन्सार कार्यालय पर्सामा दाखिला गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीले सक्रियता बढाउँदा वीरगञ्ज नाका हुँदै र खुल्ला सीमानाका कारण नाका बाहेकका अन्य क्षेत्रबाट हुने स-साना चोरी तस्करी न्युनिकरणमा मद्दत पुगेको सरोकारवाला बताउँछन् ।

सशस्त्र प्रहरीले मुख्य नाका वीरगञ्ज भन्सार नाकाको शंकराचार्य गेट, वीरगञ्ज भन्सार गेट र रजतजयन्ती चोकमा चेकजाँच गर्दै आएको छ भने सीमा क्षेत्रमा रात्री गस्तीसमेत गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment