Comments Add Comment

सुटिङ अगावै अनमोलको फिल्ममा वितरकको महंगो आँखा

नायक अनमोल केसीले अभिनय गर्ने चलचित्रको व्यापारलाई हेरेर वितरकहरु उनीमाथि लगानी गर्न डराउँदैनन् । अनमोल केसीले अभिनय गरेका चलचित्रले व्यापारिक रुपमा सफलता पनि पाइरहेका छन् । पछिल्लो रिलिज ‘ए मेरो हजुर ३’को व्यापारले अनमोल केसीको स्टारडम फेरि एक पटक प्रष्ट पारिदिएको छ ।

यसैविच, नायक तथा निर्माता भूवन केसी यतिबेला नयाँ चलचित्र निर्माणको दौडमा लागेका छन् । दि सुपर काजोल फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रको नाम तय गरिएको छैन । चलचित्रमा नायक अनमोल केसी र भूवन केसीले काम गर्नेछन् । यसपटक नेपाली चलचित्र क्षेत्रमा चलेकै एक जना नायिका लिने तयारी यो ब्यानरको छ । भूवन भन्छन्–‘हामीले नयाँ लिने या चलेकी नायिका लिने भन्ने निर्णय त गरिसकेका छैनौ । तर, यसपटक ९० प्रतिशत संभावना पुरानै नायिकाको छ ।’

यो चलचित्रलाई काठमाण्डौ बाहिरका लागि वितरक कम्पनी एफडीले वितरण गर्नेछ । यसका लागि एफडीले ८० लाख भन्दा बढी एमजी(मिनिमम ग्यारेन्टी) दिइसकेको छ । यस्तै, काठमाण्डौमा यो चलचित्रलाई काफिया फिल्मस्ले वितरण गर्नेछ । काफिया फिल्मस्ले पनि ७० लाख रकम मिनिमम ग्यारेन्टी दिएको खबर सार्वजनिक भैरहेको छ । तर, वितरक गोविन्द शाही भने एमजी भन्दा पनि भूवन केसीको चलचित्रमा आफूले सधै नै सहयोग गर्ने गरेको बताउँछन् । उनले भने–‘भूवन दाइको फिल्ममा म निर्माता पनि हुनसक्छु । यसअघिका अधिकांश चलचित्रमा म पनि आवद्ध छु । एउटा राम्रो निर्माता बचाउनुपर्छ भन्ने मेरो मान्यता छ ।’

निर्माता भूवन केसीले यो बिषयमा भने–‘यसपटक मलाई वितरकहरुले निकै नै साथ दिनुभएको छ । पैसा कती भन्दा पनि वितरकले हामीहरुमाथि देखाउनुभएको विश्वास ठूलो कुरा हो ।’
यस्तै, चलचित्रको डिजिटल राइट्सलाई बुढासुब्बा डिजिटलले खरिद गरेको खबर सार्वजनिक भएको छ । बुढासुब्बाका प्रमुख नवराज गिरीले भने–‘हाम्रो कुराकानी भैरहेको छ । तर, चलचित्रको नाम अहिलेसम्म तय भएको छैन । यसैले संझौता भैसकेको छैन ।’

नवराजले संझौता भएको बिषयमा कुरा खुलाउन आनाकानी गरेपनि भूवनले मोटो रककमा बुढासुब्बासँग संझौता गरिसकेको वुझिएको छ । चलचित्रको छायांकन अगावै दि सुपर काजोल फिल्मस्ले २ करोड भन्दा बढी रकम प्राप्त गर्ने निश्चित भएको छ । विदेश राइट्स र विज्ञापनबाट आउने रकम भूवन केसीको घरमा नाफाको रुपमा भित्रिने देखिएको छ ।

यसैविच, चलचित्र चैत्र २८ मा आउने बिषयमा भूवन भन्छन्–‘हाम्रो चाहना नेपाली चलचित्रसँग जुधौ भन्ने नै होइन । यसैले, चैत्र २८ मा चलचित्र आउने वा नआउने बिषयमा कुनै पनि संझौता भएको छैन । चलचित्रको छायांकन सुरु गरेपछि हामी रिलिज मिति तय गर्नेछौ ।’

यसपटक विशुद्ध लभ स्टोरी कथामा चलचित्र बनाउने तयारी गरिएको छ । चलचित्रको फाइनल स्क्रिप्ट केही दिनमै लक हुने भूवनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment