Comments Add Comment

मैयादेवी अर्थात ‘दानकी देवी’

‘सबै दल मिलेर नेपालको उन्नति र रक्षा गरून्’

१ साउन, चितवन । बुढ्यौलीले लर्बराएको बोली, हराएको स्मरण शक्ति । कहिले के, कहिले के तर्कनाले सताउँछ । घरी हात्ती आयो, कहिले बाघ आयो भन्दै कराउँछिन् । ‘दानकी देवी’ को उपमा पाएकी मैयादेवी श्रेष्ठको दैनिकी यसरी नै बितिरहेको छ ।

नारायणगढको क्षेत्रपुरस्थित घरमा अरूको स्याहार सुसारमा दिन गुजारिरहेकी छिन्, मैयादेवीले ।

सहयोगीहरुले सुताउने, उठाउने र खुवाउने गर्छन् । उनलाई न विगतको स्मरण छ, न त भविश्यको चिन्ता । विगत ८ बर्षदेखि पार्किन्सन्स् रोगबाट पीडित ९१ वर्षीया मैयादेवीको हेरचारमा धर्म छोरा टंकनाथ पौडेल र अन्य तीन जना खटिएका छन् ।

दानबारे मैयादेवी श्रेष्ठको भनाइ छ, ‘मान्छेलाई दान नगर भनेर १० वटा हात्ती बराबरको तागतले छेकिरहेको हुन्छ, त्यो तागतलाई जित्नेहरुले मात्रै दान दिन सक्छन् । दानीलाई हानी चाहिँ कहिल्यै हुँदैन ।’

त्यो तागतलाई जितेर ईच्छा लागेअनुसार दान गर्दै आएकी मैयादेवी खासमा यो उमेर देवघाटमा बिताउन चाहन्थिन् । तर, पार्किन्सन्सका कारण सम्भव भएन । रोग लाग्नुअगाडि उनी समय–समयमा देवघाट र भारतको हरिद्वारमा पनि बसिन् ।

जता बसे पनि दानलाई जीवनको ध्येय बनाएकी उनी नारायणगढको लगभग ८ करोड मूल्य पर्ने घर–जग्गा ट्रस्टलाई हस्तान्तरण गरेपछि केही समय भदाहाको घरमा बसिन् । त्यसपछि केही लाखमा क्षेत्रपुरमा किनेको घर बाँकी जीवन बिताइरहेकी छन् ।

जीवनभर दानैदान

मैयादेवी श्रेष्ठले आफ्नो जीवन समाजसेवा र राजनीतिमा लगाइन् । उनको बढी झुकाव समाजसेवामा छ । रविभवनमा रहेको नेपाल तरूण दलको केन्द्रीय कार्यालय मैयादेवी श्रेष्ठले दिएकी हुन् ।  कांग्रेसको चितवन जिल्ला कार्यालय पनि मैयादेवीले नै दान गरेको जग्गामा छ । यो जग्गालाई अहिले करोडमाथि पर्छ । मैयादेवीले चितवनमै प्रेस युनियनको भवन बनाउन १५ धुर जग्गा दान गरिन् ।

कांग्रेस पार्टीका लागि मैयादेवीले ६ करोड ५० लाख बराबरको जग्गादान गरेको ‘मैयादेवी ट्रष्ट नेपाल’का महासचिव टंकनाथ पौडेलले बताए ।

उनले दीनदुःखीलाई गरेको दानको कुनै हिसाब नभएको धर्मपुत्र पौडेल बताउँछन् । मानव सेवा आश्रम, भरतपुर शाखाको भवन निर्माणका लागि बेलचोकको करिब २० करोड पर्ने जग्गा दान गरेको उनले बताए । पौडेलका अनुसार, आश्रमलाई मैयादेवीका भदाहाहरु स्व. भगवानदास श्रेष्ठ र प्रेमकुमार श्रेष्ठका परिवारले पनि आठ कठ्ठा जग्गा दान गरेका छन् ।

अविवाहित मैयादेवीका चार धर्मपुत्र छन् । उनले ती सबैलाई सम्पती दान दिएकी छन् । आमाले जीवनभर ४५ जनाभन्दा बढीलाई जमीन दान दिएको धर्मपुत्र टंकनाथ पौडेल बताउँछन् । उनका अनुसार, मैयादेवीसँग अब भरतपुर– ११ बसेनीमा करीव एक बिघा र देवघाटमा केही जमीन बाँकी छ ।

मैयादेवी श्रेष्ठले दुईवटा ट्रष्टका नाममा करोडांैका मूल्यका घरजग्गा र नगद राखेर अक्षय कोष स्थापना गरेकी छन् । नारायणघाट बजारको तीन तले घर ट्रष्टका नाममा पास गरिदिएकी छन् । ट्रष्टले शिक्षा, स्वास्थ्य, महिला लगायतका क्षेत्रमा काम गर्दै आएको छ । देवघाटमा ०५४ सालमा स्थापित ओम शान्ति मैयादेवि ट्रष्ट सक्रिय छ भने मैयादेवी ट्रष्ट पनि क्रियाशील छ ।

निजी सम्पत्तिबाट समाजको हित

विसं. १९८५ असोज ५ गते फूलपातीका दिन तनहुँको बन्दीपुरमा जन्मिएकी मैयादेवी, पिता वीरबहादुर श्रेष्ठ र आमा गणेशकुमारी श्रेष्ठकी दोस्रो सन्तान हुन् । त्यसबेला वीरगञ्जमा डिठ्ठा रहेका वीरबहादुर श्रेष्ठले १९८० सालतिरै चितवनको नारायगढमा थुप्रै जमिन जोडेका थिए ।

छोरीलाई मुम्बईमा राखेर आईए पढाएका श्रेष्ठ दम्पत्तीले सम्पत्ती पनि दुई सन्तानलाई भाग लगाइदिएका थिए । मुम्बईमा रहँदै कांग्रेसको सम्पर्कमा आएकी मैयादेवीले आफ्नो भागमा परेका सारा सम्पती लोक हितमा लगाइन् । उनका दाजु कमलप्रसाद श्रेष्ठका छोराहरु पनि समाजसेवीमा गनिएका छन् ।

मैयादेवीले महिलाहरुको उच्च शिक्षाका लागि भरतपुरमा मैयादेवी कन्या कलेज स्थापना गरिन्, जहाँ अहिले ११ कक्षादेखि स्नातकोत्तर तहसम्म करिब आठसय छात्रा अध्ययनरत छन् ।  ०५७ सालमा १६ कठ्ठा जमिनमा बनेको कलेजमा व्यवस्थापन, मानविकी र नर्सिङ पढाइ हुन्छ ।

मैयादेवीले नारायणगढ बजारको बालकुमारी कन्या स्कूललाई पनि १० कठ्ठा जग्गा दिएकी छन् ।

कांग्रेसको राजनीति र सांसद

मैयादेवी श्रेष्ठले २००३ सालमा वीपी कोइरालाबाट कांग्रेसको सदस्यता लिएकी हुन् । वीपीले उनका औंला ब्लेडले चिरेर रगतको ल्याप्चे लगाई सदस्यता दिएको मैयादेवी सम्झन्छिन् ।

उनलाई मन पर्ने नेता पुष्पलाल श्रेष्ठ पनि हुन्, जो तीन वर्ष बन्दीपुरमै बसेका थिए । २००७ सालको क्रान्तिमा बन्दीपुरमै सक्रिय भएकी मैयादेवी २०१४ को भद्र अवज्ञा आन्दोलनमा जेल परिन् । २०१७ सालमा राजा महेन्द्रले सत्ता पलट गरेपछि भारत पलायन भएकी उनले २०१८ देखि २०२० सालसम्म ऋषिकेशमा कांग्रेसको राजनीति गरिन् ।

लामो समय महिला संघको चितवन जिल्ला अध्यक्ष रहेकी उनी ०४८ सालमा गोरखा क्षेत्र नः २ बाट सांसद निर्वाचित भइन् । २०५६ सालमा राष्ट्रिय सभामा मनोनित भइन् । ०६२/०६३ को जनआन्दोलनपछि पुनस्थापित संसदमा पनि उनी सांसद थिइन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभामा महिला सांसद समूह (ककस) को अध्यक्ष रहँदा सम्पतिमा महिलालाई दाजुभाइसरह हक होस् भनेर लागेको उनी बताउँछिन् । ‘मैले बुबाआमाबाट दाजुसरह अंश पाएकी थिएँ’, वयोवृद्वा मैयादेवी भन्छिन्, ‘नेपालका सबै महिलालाई त्यस्तै होस् भन्ने चाहना थियो ।’

यो उमेर–अवस्थामा उनका लागि राजनीतिक सक्रियता सम्भव छैन । तर, चासो भने घटेको छैन । उनी भन्छिन् ‘यो देशमा सबै पार्टी मिलुन्, देशको उन्नति र रक्षा गरून् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment