Comments Add Comment

भारतीय राजदूतसँग भर्‍याङमा भेट भयो, बोलचाल भएन : मसाल

२ साउन, काठमाडौं । नेकपा मसालले आफ्ना महामन्त्री मोहनविक्रम सिंह र सांसद दूर्गा पौडेलले भारतीय राजदूतसँग भेटवार्ता नगरेको स्पष्ट पारेको छ । महामन्त्री सिंह र भारतीय राजदूत एउटा विवाह पार्टीमा भर्‍याङमा देखाभेट भएको तर बोलचाल नभएको मसालद्वारा विहीबार जारी प्रेस वक्तव्यमा जनाइएको छ ।

महामन्त्री सिंह र सांसदसमेत रहेकी उनकी पत्नी दूर्गा पौडेलले भारतीय राजदूतसँग दुईघण्टा भेटवार्ता गरेको र पौडेललाई मन्त्री बनाइदिन आग्रह गरेको भन्ने प्रचारको मसालले विज्ञप्तिमार्फत खण्डन गरेको छ ।

मसालका प्रवक्ता रामप्रका पुरीद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘मोहनविक्रम सिंह र दुर्गा पौडेल प्युठानका गोविन्द पोख्रेलका छोराको विवाहमा गएका बेलामा त्यहाँ भारतीय राजदुत पनि आएका थिए । कार्यक्रमपछि भर्‍याङतिर जाने बेलामा भर्‍याङको मुखमा सिंह र पौडेल समेतको भारतीय राजदुतसँग देखाभेट भएको कुरा सत्य हो । त्यो बेला विवाहमा आएका अरू १५/२० जना मानिसहरू पनि थिए । तर, त्योबेला परस्परमा परिचय गर्ने वा कुराकानी गर्नेसमेत कुनै कार्य भएको थिएन ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘उक्त सामान्य देखाभेटलाई आधार बनाएर कतिपय अनलाइन र पत्रपत्रिकाले दुईघण्टासम्म राजदुतसँग गोप्य कुराकानी भएको र दुर्गा पौडेललाई मन्त्री बनाइदिनका लागि मोहनविक्रम सिंहले राजदुतलाई अनुरोध गरेका समाचारहरू कपोलकल्पित र निराधार हुन् ।’

त्यसैगरी केपी ओली प्रधानमन्त्री भएपछि एकपटक पनि महामन्त्री सिंहले ओलीलाई नभेटेको र पत्नी दूर्गा पौडेललाई मन्त्री बनाइदिन ओलीसँग आग्रह नगरेको मसालको वक्तव्यमा उल्लेख छ । वक्तव्यमा भनिएको छ, ‘वास्तविकता त यो हो कि ओली प्रधानमन्त्री भएपछि मोहनविक्रमको कहिल्यै भेटघाट नै भएको छैन र मन्त्री बनाउनका लागि अनुरोध गर्ने कुरा त धेरै टाढाको कुरा भयो ।’

प्रतिनिधिसभामा राष्ट्रिय जनमोर्चाका तर्फबाट एकमात्र सदस्य रहेकी दूर्गा पौडेल महामन्त्री सिंहकी पत्नी हुन् । राष्ट्रिय जनमोर्चाले केपी ओली सरकारलाई समर्थन जनाए पनि ओली सरकारमा सहभागी हुने नीति लिएको छैन ।

पछिल्लो समयमा यो पार्टीले ओली सरकारको आलोचना गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment