Comments Add Comment

कसले फोड्यो बुद्धका मूर्ति ? भेटिएनन् अपराधी

प्रहरी भन्छ– यो विशुद्ध अपराध हो, धर्म र राजनीति नजोडौं

३ साउन, बुटवल । तिलोत्तमा नगरपालिकामा पर्ने ६ लेन सडकको डिभाइडरमा सजिएका बुद्धका मूर्तिहरु बुधबार राति अज्ञात व्यक्ति/समूहले तोडफोड गरेर फ्याँकेको घटनाले धेरैको मन कुँडियो ।

प्रहरीले अहिलेसम्म अपराधी पत्ता लगाउन नसक्दा अनेकथरि अनुमानहरु गर्न थालिएको छ । र, सबै पक्षले संयमित नहुने हो भने यो घटनामा धर्म र राजनीति मिसिने खतराप्रति पनि स्थानीय प्रहरी प्रशासन चिन्तित देखिन थालेको छ ।

बुद्धका पाँचवटा मूर्तिलाई टुक्राटुक्रा बनाएर सडकमा लडाएको दृश्य देखेपछि कपिलवस्तुका चन्द्रकान्त न्यौपानेले कविता लेखे–

खुला सडकमा ठिङ्ग उभिएका,
मस्त मुस्कुराइरहेका
विचरा ! ती निर्दोष बुद्धलाई
रातारात मास्ने,टुक्राउने,उप्काउने
हमला गर्ने नयाँ नाथुराम गोड्सेहरु छन् भनेर
कल्पनै गरिएको थिएन
तर नयाँ हर्कतका कारण
आज साँच्चै नै बुद्धभूमि
अशान्त बनेको छ
बुद्ध मनहरु कुँडिएका छन्
भयभित भएका छन्
रोएका छन्, कराएका छन्, छट्पटाएका छन् ।

न्यौपानेजस्तै देश विदेशबाट धेरैले सामाजिक सञ्जालमार्फत उक्त घटनाको आलोचना र निन्दा गरे अनि घटनामा संलग्नलाई कडाभन्दा कडा कारवाहीका लागि प्रहरी प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

तर, यो आपराधिक घटना कसले गराएको हो भन्ने अझैसम्म पत्तो लाग्न सकेको छैन । आखिर निर्दोष, निर्जिव बुद्ध मूर्तिलाई रातारात कसले फोड््यो ? बिहीबार साँझ अबेलासम्म बुद्ध मूर्ति तोडफोड गर्नेबारे प्रहरीले सुइँकोसम्म पाउन सकेको छैन ।

सडकको सौन्दर्यीकरण र बुद्ध जन्मस्थल लुम्बिनीको पहिचानका लागि ६ लेन सडकको मध्य डिभाइडरमा योगिकुटीदेखि मंगलापुरसम्म तीनसय मिटर दुरीको फरकमा नगरपालिकाले २२ वटा बुद्धका मूर्तिहरु राखेको थियो । लुम्बिनी भ्रमण वर्षको अवसर पारेर गत बैसाख १ गते प्रदेश ५ सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लीला गिरीले ती मूिर्तहरु अनावरण गरेका थिए । बुद्ध मूर्ति स्थापनाका लागि नगरपालिकाले ५० लाख रुपैयाँ बजेट छुट्टाएको थियो ।

‘धार्मिक द्वन्द्व भड्काउने षड्यन्त्र’

कतिपयले यो घटनाले धार्मिक द्वन्द्वको बिउ रोप्न सक्ने खतरा औंल्याएका छन् । कतिपयले अमूक धर्मावलम्बीलाई जोडेर आरोपसमेत लगाउन भ्याएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, तिलोत्तमा नगरपालिका, सत्तारुढ नेकपा तिलोत्तमा नगर कमिटी, राष्ट्रिय जनमुक्ति पार्टी, मगर संघलगायत दर्जन बढी संघसंस्थाले विज्ञप्ति नै निकालेर औपचारिकरुपमै निन्दा गर्दै घटनामा संलग्नलाई पत्ता लगाई कारवाही गर्न माग गरेका छन् ।
यो पनि पढ्नुहोस रुपन्देहीको तिलोत्तमामा राखिएका बुद्ध मूर्ति तोडफोड

बुटवलका बौद्धमार्गी लेखक देवेन्द्रराज शाक्य यो घटनालाई अकल्पनीय भन्दै आफू स्तब्ध भएको बताउँछन् । ‘अहिंसा र शान्तिका मार्गदर्शक बुद्धका निर्दोष मूर्तिमाथि भएको यो आक्रमण मूर्तिमाथिको आक्रमण हैन, समस्त शान्तिप्रेमी माथिको आक्रमण र जघन्य अपराध हो’, शाक्यले भने ‘घटनालाई धर्म र सम्प्रदायसँग जोडेर नहेरौं र सामाजिक सञ्जालमा कसैलाई आरोप लगाएर नलेखौं, अन्यथा नराम्रो अवस्थासमेत निम्तिन सक्छ ।’

६ सदस्यीय अनुसन्धान टोली गठन

घटनालाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले गम्भीर प्रकृतिको र संवेदनशील घटनाका रुपमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए ।

घटना थाहा पाएलगत्तै बिहीबार बिहान आफूहरुले स्थलगत निरीक्षण गरेको र इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भिमलाई भट्टराईको नेतृत्वमा ६ सदस्यीय अनुसन्धान टोली गठन गरेको भण्डारीले बताए ।

सीसीटीभी नहुँदा दोषी पत्ता लगाउन कठिन

अनुसन्धान टोलीका संयोजक डीएसपी भट्टराईले टोलीले अनुसन्धानको काम थालिसकेको बताउँदै उक्त घटना विशुद्ध आपराधिक भएको दाबी गरे ।

‘हामीले बिहीबारबाटै अनुसन्धान अघि बढायौं, अहिलेसम्मको अध्ययन र बुझाई विशुद्ध आपराधिक हो भन्ने देखिन्छ’, डीएसपी भट्टराईले भने, ‘यो घटनालाई कतिपयले धर्म र राजनीतिसँग जोडेको पनि देखेका छौं, तर अहिले त्यता नजोडौं, अनर्थ हुन सक्छ ।’

६ लेन सडकमा सीसीटीभी नहुँदा दोषी पत्ता लगाउन समय लाग्न सक्ने भट्टराइले बताए । ‘सीसीटीभी भएको भए घटनामा संलग्न छिटै पत्ता लाग्थ्यो’, भट्टराईले भने, ‘तर पनि हामी सबै उपाय अवलम्बन गरेर पत्ता लगाई छाड्छौं ।’

निजी घरमा राखिएको सीसीटीभी हेर्दा रातको २ बजेतिर सडकमा एउटा गाडी गुडेको देखिए पनि मूर्ति तोडफोड गरेको नदेखिएको भट्टराईले बताए ।

विकासविरोधी तत्वबाट तोडफोड : नगरपालिका

बुद्धमुर्ति तोडफोडलाई नगरपालिकाले आफ्ना लोकप्रिय कामहरुबाट अत्तालिएको विकासविरोधी तत्वबाट नियोजित र संगठितरुपमा गराइएको घटना भएको ठहर गरेको छ । मूर्ति तोडफोडपछि बसेको तिलोत्तमा नगर कार्यपालिकाको आकस्मिक वैठकले उक्त घटनाको निन्दा र भत्र्सना गर्दै राष्ट्रिय विभुति, शान्तिका अग्रदुत, महामानव गौतमबुद्धका मूर्तिमा भएको तोडफोडले कानुनी राज्यको उपहास गरेको र सबै नगरबासीलाई दुःखी बनाएको ठहर गरेको छ ।

बैठकपछि नगर प्रमुख वासुदेव घिमिरेले प्रेस विज्ञप्ति जारी गर्दै बुद्धमुर्तिमा गरिएको तोडफोडले राष्ट्रकै गहनामाथिको जघन्य अपराध तथा सबैको आस्था र विश्वासमा ठेस पुर्‍याएको उल्लेख गरेका छन् ।

बुद्ध जन्मस्थल लुम्बिनीको महत्वलाई उजागर गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउने पवित्र उद्देश्यका साथ नगरपालिकाले प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्षलाई समेत सघाउने गरी ०७६ वैशाख १ गतेबाट ६ लेन सडकमा पहिलोचरणमा योगिकुटीबाट शंकरपुरसम्म २२ वटा मुर्ति राखिएको विज्ञप्तिमा उल्लेख छ । नवीन सोच र पवित्र उद्देश्यका साथ शुरु गरिएको कार्यमा सबैको साथ–समर्थन प्राप्त भैरहँदा उत्साहित भएका नगरवासीहरु एक्कासी गराइएको यो घटनाबाट निकै स्तब्ध भएको उल्लेख गर्दै पवित्र कार्यलाई बिथोल्ने, महामानवको मूर्ति तोडफोड गर्ने व्यक्ति, समूहलाई कानुनी दायरमा लिई कडा भन्दा कडा कारवाही गर्न प्रहरी, प्रशासन समक्ष नगरपालिकाले माग गरेको छ ।

यो कार्यमा सघाउन नेपाल सरकार, प्रदेश सरकार र सबै नेपालीमा आह्वान गर्दैं यो घटनापछि कोटिहवासम्म थप बुद्धमूर्ति राख्ने नगरपालिकाको योजनामा कुनै बदलाव नआउने र बुद्धमूर्तिको सुरक्षाका लागि विशेष व्यवस्था मिलाइने नगरपालिकाले स्पष्ट पारेको छ ।

सार्वजनिक सम्पत्तिलाई हानी–नोक्सानी पुर्‍याउने, समाजमा डर–त्रास उत्पन्न गराउने, कानुन हातमा लिने, अवाञ्छित क्रियाकलाप गर्न उक्साउने अराजक प्रवृत्तिका विरुद्ध आम नगरबासीलाई सधैं सचेत रहन नगरपालिकाले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment