
प्रियंका चोपडाको बारेमा एउटा रोचक तथ्य छ, जसका बारेमा थोरैलाई मात्र जानकारी छ । आज प्रियंका चोपडा बलिउडकी उत्कृष्ट अभिनेत्रीको रुपमा स्थापित भए पनि, मुख्य अभिनेत्रीको रुपमा उनको अभिनय यात्रा भने दक्षिण भारतीय फिल्मबाट भएको थियो ।
सन् २००३ मा प्रदर्शन भएको फिल्म ‘द हीरो-लभ स्टोरी अफ अ स्पाइ’ लाई प्रियंका चोपडाको पहिलो फिल्म मानिन्छ, तर त्यसभन्दा अघि सन् २००२ मा प्रियंकाले एउटा तमिल फिल्म ‘थामिजान’ मार्फत अभिनय यात्रा प्रारम्भ गरेकी थिइन् । उक्त फिल्ममा प्रियंकाका हीरो थियो अभिनेता विजय, जो आज तमिल फिल्मका सुपरस्टार हुन् ।
त्यसो त साउथ फिल्मबाट आफ्नो अभिनय यात्रा प्रारम्भ गर्ने प्रियंका एक्ली अभिनेत्री भने होइनन् । दीपिका पादुकोणले पनि आफ्नो अभिनय करियरको थालनी कन्नड फिल्ममार्फत गरेकी थिइन् । सन् २००६ मा प्रदर्शन भएको दीपिकाको उक्त फिल्मको नाम थियो-ऐश्वर्या, जसमा उनका जोडी थिए अभिनेता उपेन्द्र । सन् २००७ मा दीपिकाले शाहरुख खानसंग फिल्म ‘ओम शान्ति ओम’ मार्फत हिन्दी फिल्ममा सफल डेब्यू गरिन् ।
त्यस्तै अभिनेत्रीको सूचीमा सहभागि छिन् ऐश्वर्या राय बच्चन । सुन्दर अभिनेत्रीको रुपमा समेत चिनिने ऐश्वर्याले आफ्नो अभिनय करियरको थालनी सन् १९९७ मा एउटा तमिल फिल्म ‘इरुवर’ मार्फत गरेकी थिइन्, जसमा मणि रत्नमको निर्देशन थियो । उक्त फिल्ममा ऐश्वर्यासाग अभिनेता मोहनलाले अभिनय गरेका थिए । मोहनलाल मलयालम फिल्मका सुपरस्टार हुन् । १९९७ मै ऐश्वर्याले हिन्दी फिल्म ‘और प्यार हो गया’ मार्फत बलिउडको यात्रा थालनी गरिन्, जसमा बबी देओल उनका जोडी बनेका थिए ।
रमाइलो कुरा के छ भने विभिन्न उत्पादनका विज्ञापनका लागि चर्चित रहेकी अभिनेत्री तथा मोडल यामी गौतम पनि दक्षिण भारतीय फिल्मकै उत्पादन हुन् । यामीले कन्नड भाषाको फिल्म ‘उल्लास उत्साह’ मार्फत आफ्नो अभिनय यात्रा प्रारम्भ गरेकी थिइन् । उक्त फिल्ममा उनको जोडी थिएन अभिनेता गणेश । सन् २०१२ मा यामीले आयुष्मान खुरानासाग ‘विक्की डोनर’ फिल्ममार्फत बलिउडमा डेब्यू गरेकी थिइन् ।
हिन्दी फिल्ममा कृति सेननले सन् २०१४ मा बनेको ‘हीरोपन्ती’ मार्फत आफ्नो अभिनय करियर प्रारम्भ गरेकी थिइन्, तर त्यसअघि नै उनले तेलुगु फिल्म ‘नेनोक्कडाइन’ मा महेश बाबूसंग अनस्क्रिन रोमान्स गर्दै डेब्यू गरिसकेकी थिइन् । कृति सेननको फिल्म ‘बरेली की बर्फी’ अघिल्लो वर्ष रिलिज भएको थियो, जसलाई धेरै दर्शकले मन पराएका थिए ।
हिन्दी फिल्ममा तब्बूको नाम उत्कृष्ट अभिनेत्रीको रुपमा लिने गरिन्छ । यद्यपि, तब्बूले आफ्नो अभिनय यात्रा सन् १९९१ मा निर्माण भएको तेलुगु फिल्म ‘कुली नम्बर १’ मार्फत गरेकी थिइन् । उक्त फिल्ममा उनको जोडीको रुपमा वेंकटेशले अभिनय गरेका थिए । सन् १९९४ मा तब्बूले ‘पहला पहला प्यार’ मार्फत अभिनेता ऋषि कपूरसंग हिन्दी फिल्ममा आफ्नो यात्रा प्रारम्भ गरेकी थिइन् ।
प्रतिक्रिया 4