Comments Add Comment

१० वर्षमा नेपालले भारतलाई बेच्यो डेढ अर्बको बिजुलीे

अर्को वर्ष विद्युत निर्यातमा फड्को मार्ने दाबी

४ साउन, काठमाडौं । गत साता अविरल वर्षाका कारण देशभरको बिजुलीको माग आधा कटौती भयो । दैनिक १२ सय मेगावाटको माग ६ सय मेगावाटमा झर्दा खोलानदीमा पानीको सतह बढ्यो । कुलेखानीसहित देशभरका प्रायः सबै आयोजनाहरु पूर्ण क्षमतामा चले ।

यसरी माग कम र आपूर्ति बढी भएपछि नेपालले करिब २ सय मेगावाट बिजुली भारत निर्यात गर्‍याे । ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ले सोही प्रसंगलाई लिएर भारतसँग ‘इनर्जी बैंकिङ’को अभ्यास सुरु भएको बताएका छन् ।

वर्षामा बढी हुने बिजुली नेपालबाट भारतमा पठाएर हिउँदमा त्यति नै बिजुली भारतबाटै ल्याउने अवधारणा हो, ‘इनर्जी बैंकिङ’ । ‘पैँचो’ को रुपमा भारत र नेपालबीच हुने इनर्जी बैंकिङका विषयमा ऊर्जा सचिवस्तरीय समझदारी भइसकेको छ । तर, यसको लागि निर्देशिका बनेर अन्तिम सम्झौता भएको छैन भने नेपालले २ सय मेगावाटसम्म बिजुली भारतलाई कसरी बेच्यो त ?

नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी भन्छन्, ‘हामीले नेपाल–भारत विद्युत् अदानप्रदान समिति’मार्फत भारतमा बिजुली पठाइरहेका छौं ।’

हाल नेपालले दुई तरिकाले भारतबाट बिजुली आयात गर्दैछ । पहिलो ऊर्जा अदानप्रदान समितिमार्फत र दोस्रो विद्युत् ब्यापारको लागि तय भएको नोडल एजेन्सीमार्फत ।

तर, फाटफुट रुपमा मात्रै नेपालले भारतमा बिजुली पठाउँछ । भारतबाट आउने विद्युतको तुलनामा जाने परिमाण नगण्य छ । नेपाल विद्युत प्राधिकरणका अनुसार नेपालले गत आर्थिक वर्षको असार १५ गतेसम्म करिब २३ अर्बको बिजुली भारतबाट नेपाल ल्याएको छ । तर, त्यो अवधिसम्म नेपालले करिब १२ करोडको मात्रै बिजुली भारत पठाएको छ ।

भारतसँग आदान–प्रदान

नेपालले भारतसँग सन् १९७१ मा नै पावर एक्सचेन्ज एग्रिमेन्ट अर्थात् विद्युत् आदानप्रदान सम्झौता गरेको थियो । त्यतिबेला सुरुआतमा नेपालले भारतबाट ५ मेगावाट बिजुली नेपाल भित्र्यायो । त्यसयता विभिन्न अन्तदेशीय प्रसारणलाइनबाट यसैका आधारमा बिजुली आदान प्रदान भइरहेको छ ।

नेपालले हाल भारतसँग विद्युत् ब्यापार सम्झौता (पीटीए) पनि गरेको छ । यसअनुसार हाल ढल्केबर–मुजफ्फरपुर २२० केभीको प्रसारणलाइनबाट भारतको एनबीबीएनमार्फत नेपालले भारतबाट बिजुली किनिरहेको छ । तर, यो प्रसारणलाइनबाट भारतमा बिजुली निर्यात हुन सकेको छैन ।

यसबाहेक झण्डै एक दर्जन साना ठूला प्रसारणलाइनबाट नेपालले नेपाल–भारत विद्युत् आदान प्रदान समितिमार्फत बिजुली आयात–निर्यात गर्छ । नेपालले निकै लामो समयदेखि भारतमा थोरै मात्रामा भएपनि बिजुली पठाउने गरेको छ । विशेष गरी वर्षाको समयमा बढी हुने र दिनमा रातको समयमा खपत नभएर खेर जाने अवस्थाको बिजुली नेपालले भारतमा बेच्ने गरेको छ । विद्युत् आदान प्रदान समितिमार्फत बिहार, उत्तर प्रदेशर उत्तराखण्डमा बिजुली आदान–प्रदान गरिन्छ ।

यस्तो बिजुली अदान प्रदान गर्दा दर भने एउटै हुन्छ । हाल यो समितिमार्फत आदान प्रदान हुने विजुली प्रतियुनिट ६ रुपैयाँ १८ पैसा प्रतियुनिट छ ।

यसअनुसार हाल भारतबाट आयात भएको बिजुलीमा नेपालले निर्यात गरेको बिजुलीको युनिट घटाएर नेपालले बिलिङ गर्ने गरको छ । यसमा ढल्केबरबाट आउने बिजुलीको भने गणना हुँदैन ।

विद्युत अदानप्रदान समितिमार्फत नेपालले २९१ मेगावाटसम्म बिजुली भारतसँग लिनेदिने गरिरहेको छ । यसका लागि भारतसँग जोडिएका १३२, ३३ र ११ केभीका लाइनहरु प्रयोगमा छन् ।

कति बिजुली बेच्छ नेपाल ?

दुई वर्ष अघिसम्म्म नेपाल ऊर्जा संकटमा फसेका कारण उल्लेख्य परिमाणमा विद्युत् भारतमा पठाउन सकेको थिएन । १० वर्षदेखि लगातार घटिरहेको विद्युत् निर्यात गत वर्षमा मात्रै बढेको थियो ।

सन् २००९ मा नेपालले ४ करोड ६४ लाख युनिट विद्युत बेचेर २९ करोड ५५ लाख रुपैयाँको विलिङ गरेको थियो । अर्को वर्ष सन् २०१० मा ६० करोड ४८ लाख रुपैयाँको ७ लाख ५१ हजार विद्युत् भारत पठाइयो । यस्तै, सन् २०११ मा २१ करोड ५४ लाख रुपैयाँ बराबरको ३ लाख ११ हजार युनिट बिजुली निर्यात गरिएकोमा सन् २०१२ मा एकैपटक झरेर २ करोड ४० लाख रुपैयाँमा सीमित हुनपुग्यो ।

त्यसपछि सन् २०१३ मा ३ करोड २२ लाख, सन् २०१४ मा ३ करोड ९ लाख, सन् २०१५ मा ३ करोड ९४ लाख, सन् २०१६ मा ३ करोड २१ लाख, सन् २०१७ मा ४ करोड ५८ लाखको बिजुली भारतमा निर्यात भएको थियो । सन् १०१८ मा भने ३ करोड २८ लाखको मात्र बिजुली भारत निर्यात भएकोमा यो वर्ष बढेर १२ करोड माथि पुगेको छ । यसरी १० वर्षयता कुल १ अर्ब ४७ करोडभन्दा बढिको बिजुली भारतमा निर्यात भएको छ ।

यो वर्ष चमत्कारको आशा

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी यसै वर्षबाट नेपालले ठूलो मात्रामा बिजुली भारत पठाउन सक्ने बताउँछन् । उनले आगामी डिसेम्बरमा माथिल्लो तामाकोसी आयोजना सम्पन्न गर्ने लक्ष्यअनुसार काम भइरहेको भन्दै आगामी वर्ष नेपालले बिजुली उत्पादनमा फड्को मार्ने दाबी गरे ।

गत आर्थिक वर्षमा निजी क्षेत्रबाट बनेका आयोजनाको ४८ मेगावाट मात्रै बिजुली राष्ट्रिय प्रसारणमा जोडिएका छन् । ८८ मेगावाट बिजुली साउन र भदौ भित्रमा नै थपिँदैछ ।

त्यसैगरी गत आर्थिक वर्ष माथिल्लो त्रिशूली ३ एको एउटा युनिटले उत्पादन थालेको छ । यसअनुसार गत आर्थिक वर्षमा वर्ष ७८ मेगावाट मात्रै बिजुली राष्ट्रिय प्रसारणमा थपिएको छ ।

यो वर्ष लक्ष्यअनुसार काम भयो भने तामाकोसीको सहित ११५० मेगावाटका आयोजनाहरुले उत्पादन थाल्नेछन् । यस्तो अवस्थामा आगामी वर्षातमा नेपालले ठूलो मात्रामा बिजुली भारत निर्यात गर्न सक्ने प्राधिकरणको ठहर छ ।

त्यसका लागि प्राधिकरणले आन्तरिक खपत बढाउनेदेखि भारतमा बिजुली निर्यातको विभिन्न विकल्पहरु अघि सारेको छ । देशभित्रै सार्वजनिक विद्युतीय बस चलाउन सरकारलाई अनुरोध गरिरहेको प्राधिरकरणले ग्यासको सट्टामा विद्युतीय चुल्हो प्रयोग गर्न पनि प्रोत्साहित गर्नुपर्ने अवधारणा अघि सारेको छ ।

यसैगरी आगामी ३ महिनाभित्र नेपाल भारतको पावर एक्सचेन्ज बजारमा आवद्ध हुन प्रयासरत रहेको प्रवक्ता अधिकारीले बताए । उनका अनुसार यो भारतको बिजुली बेच्ने खुला अनलाइन बजार हो जहाँ, आफूलाई बढी हुने बिजुली बोलकबोलमा मुल्य बढाएर बेच्न सकिन्छ ।

यसैगरी भारतसँग इनर्जी बैंकिङ पनि यसै वर्षबाट सुरु गर्ने योजनामा प्राधिकरण छ । ढल्केबर–मुफ्फफरपुर प्रशारणलाइन अन्तरगतको निर्माणधीन ४०० केभी स्टेसनलाई आगामी डिसेम्बरसम्म सकाएर बढी भएको समयममा तामाकोसीबाट उत्पादित बिजुली भारत निर्यात गर्ने सोच सरकारको छ ।

यो प्रसारणलाइनबाट नेपालले १ हजार मेगावाटसम्म बिजुली आयात निर्यात गर्न सक्छ । हाल २५० मेगावाट मात्रै आयात भइरहेको छ । यो प्रसारणलाइनमा नेपालले भारतलाई वार्षिक १ अर्ब ८ करोड प्रशारण शुल्क तिररहेको छ । अब सोही प्रसारणलाइनबाट भारतमा एकैपटक ठूलो मात्रामा बिजुली भारत पठाउन प्राधिकरण गृहकार्यमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment