
२५ वैशाख, काठमाडौं । ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’ को दसौँ संस्करण काठमाडौं भुकृटीमण्डपमा सुरु भएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीइपीसी) को सहयोग, नेपाल उद्योग वाणिज्य महासंघको आयोजना एवं ललितपुर उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग महासंघको सहआयोजनामा आजदेखि सुरु मेला २९ वैशाखसम्म चल्ने छ ।
मेला उद्घाटन गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले निजी क्षेत्रले भने अनुसार नीतिगत सुधारमा काम गरेको बताए । उनले नेपाली उद्योगी–व्यवसायीलाई उत्पादन र उत्पादकत्व बढाउँदै निर्यात प्रवर्द्धनमा लाग्न आग्रह गरे ।
उनले नेपालको अर्थतन्त्र आत्मनिर्भर र समृद्ध बनाउन निजी क्षेत्रको भूमिका अतुलनीय रहेको बताए । सरकारले औद्योगिक विकास, स्वदेशी उत्पादन बजारीकरण र निर्यात प्रवर्द्धनका लागि विभिन्न नीतिगत सुधार र सहजीकरण प्रयास गरिरहेको उनको भनाइ छ ।
‘हामीले रुग्ण उद्योगहरूको पुनरुत्थान, नयाँ औद्योगिक सम्भावना पहिचान र लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेका छौं । यो मेलाले यस्ता अवसरहरूको खोजी र सहकार्यका लागि उपयुक्त मञ्च प्रदान गर्ने छ भन्ने मेरो विश्वास छ,’ मन्त्री भण्डारीले भने ।
उनले हालै संसद्मा पेस भएको नीति तथा कार्यक्रमममा औद्योगिक विकास तथा निजी क्षेत्र प्रवर्द्धनलाई प्राथकितामा राखिएको बताउँदै देशको आर्थिक विकासमा सरकार निजी क्षेत्रको साथमा रहेको उल्लेख गरे ।
मन्त्री भण्डारीले मेलाले नेपाली वस्तुको गुणस्तर र मौलिकतालाई विश्व बजारमा स्थापित गर्न र स्वदेशी उत्पादनको ब्रान्डिङ गर्न मेलाले सहयोग पुर्याउने बताउँदै नेपाली व्यवसायीलाई आफ्नो प्रतिस्पर्धात्मक क्षमता बढाउन आग्रह गरे ।
महासंघ वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन र मुलुकको आर्थिक विकासमा मेलाले महत्त्वपूर्ण योगदान पुर्याउने बताए ।
मुलुकको अर्थतन्त्र अझै पनि जटिल मोडमा रहेको र बजारमा माग बढ्न नसकेको अवस्थामा आफूहरूले मेला आयोजना गरेर बजारमा सकारात्मक सन्देश दिन खाजेको उनको धारणा छ ।
‘मेलाले स्वदेशी तथा विदेशी उद्योगी–व्यवसायीबीच व्यापारिक सम्बन्ध विस्तार गर्न, लगानी आकर्षित गर्न र रोजगारी सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने हाम्रो अपेक्षा छ,’ वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने ।
नेपालमा अन्तर्राष्ट्रिय स्तरको व्यापार मेला आयोजना गर्न उपयुक्त मेला स्थल अभाव एउटा प्रमुख चुनौतीका रूपमा रहेको उल्लेख गर्दै उनले व्यवस्थित मेला तथा प्रदर्शनी स्थल निर्माण गर्नुपर्नेमा जोड दिए ।
टीईपीसीका कार्यकारी निर्देशक शरदविक्रम राणाले नेपाली वस्तु निर्यात गर्न क्षमता बढाउनुपर्ने बताए । नेपाल, चीन र बंगदादेशका गरी १ सय २० बढी स्टल रहेको मेलामा विभिन्न देशका व्यापारिक प्रतिनिधिसँग भेटघाट र छलफलले द्विपक्षीय व्यापार र लगानीका अवसरबारे पनि छलफल हुने महासंघका केन्द्रीय सदस्य तथा मेला समिति सभापति उमेश डालमियाले जानकारी दिए ।
मेलामा डिजिटल पेमेन्ट पार्टनर आइएमई पे, अफिसियल इन्स्योरेन्स आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, इन्टरनेट पार्टनर भायनेट र सहपार्टनरमा हेरिटज कार्पेट, साल्ट ट्रेडिङ कर्पोरेसन, चाइना एक्जिबिसन एन्ड फोरम कम्पनी, गार्मेन्ट एसोसिएसन नेपाल, एक्जिबिसन लाइट हाउस, इन्ट्रडक्सन टे«ड सोज नेपाल प्रालि रहेको र मेलामा निःशुल्क प्रवेश व्यवस्था गरिएको महासंघ केन्द्रीय सदस्य तथा मेला समिति उपसभापति सविन श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया 4