Comments Add Comment

मन्त्री र मुख्यमन्त्री को को बने नेकपाको जिल्ला इन्चार्ज ?

५ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले संघीय सरकारका मन्त्री र प्रदेश सरकारका मुख्यमन्त्रीलाई समेत जिल्ला इन्चार्जको जिम्मेवारी दिएको छ । प्रदेश सरकारका मन्त्रीहरु जिल्ला इन्चार्ज र सहइन्चार्ज बनेका छन् ।

संघीय सरकारका प्रवक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा काभ्रे जिल्लाको इन्चार्ज बनेका छन् । नेकपा केन्द्रीय सदस्य समेत रहेका बास्कोटा यसअघि भने इन्चार्जको भूमिकामा थिएनन् ।
त्यस्तै भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्याललाई स्याङ्जा जिल्लाको इन्चार्ज बनाइएको छ । उनी साबिक एमालेमा पनि जिल्ला इन्चार्ज थिइन् । कृषि राज्यमन्त्री रामकुमारी चौधरी सुनसरीको सहइन्चार्ज बनेकी छन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही कालिकोट जिल्ला इन्चार्ज बनेका छन् । प्रदेश ३ सरकारका मुख्यमन्त्री डोरमणि पौडेलबाहेक केन्द्रीय सदस्य रहेका सबै मन्त्रीले जिल्ला इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी पाएका छन् ।

आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेल धादिङको इन्चार्ज बनेका छन् भने अर्थमन्त्री कैलाश ढुंगेल रामेछापको सहइन्चार्ज बनेका छन् । त्यस्तै पर्यटनमन्त्री अरुण नेपार्ल र सामाजिक विकासमन्त्री युवराज दुलाल सिन्धुपाल्चोकको सहइन्चार्ज बनेका छन् ।

प्रदेश १ का अर्थमन्त्री इन्द्र आङ्वो पाँचतर जिल्ला इन्चार्ज बनेका छन् भने प्रदेशमन्त्री जगदिश कुसियत सुनसरीको सहइन्चार्ज बनेका छन् । गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री हरिवहादुर चुमान तनहुँ जिल्ला इन्चार्ज बनेका छन् भौतिक पुर्वाधार मन्त्री रामशरण बस्नेत मनाङको इन्चार्ज बनेका छन् ।

प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरण लीला गिरी रुपन्देही जिल्लाको इन्चार्ज बनेका छन्, भौतिक पूर्वाधारमन्त्री बैजनाथ चौधरी पश्चिम नवलपरासीको इन्चार्ज बनेका छन् । कर्णाली प्रदेशका आन्तरिक मामिला मन्त्री नरेश भण्डारी जुम्लाको सहइन्चार्ज बनेका छन् । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री प्रकाश शाह बाजुराको सहइन्चार्ज बनेका छन् ।

जिल्ला कमिटी सरहको मान्यता पाएका महानगर कमिटीमध्ये केन्द्रीय सदस्य रहेका मेयरलाई महानगर इन्चार्जकै जिम्मा दिइएको छ । यस्तो जिम्मेवारी पाउनेमा पोखरा महानगरपालिका मेयर मानबहादुर जिसी र भरतपुरकी रेणु दाहाल छन् ।

यसअघि साबिक जिल्ला कमिटीका अध्यक्षहरुलाई नै एकीकृत पार्टीका अध्यक्ष र सचिव बनाउने क्रममा जिल्ला सचिव बनेका केही नेता अहिले पुनः जिल्ला इन्चार्ज र सहइन्चार्ज बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment