Comments Add Comment

हत्या आरोप लागेपछि एक महिनादेखि ३ वडाअध्यक्ष फरार

Photo Credit : हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै विराटनगरमा गरिएको प्रदर्शन

५ साउन, विराटनगर । कुटपिटबाट घाइते एक व्यक्तिको मृत्यु भएपछि विराटनगर महानगरपालिका – १४ का अध्यक्ष बलदेव यादव, विराटनगर– १८ का अध्यक्ष सञ्जय यादव र जहदा गाउँपालिका– १ का अध्यक्ष प्रदीप यादव फरार भएका छन् । उनीहरु विरुद्ध विराटनगर– १४ का समानन्द यादवको हत्यामा संलग्न भएको भन्दै मोरङ जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी परेको छ ।

तीन वडाका अध्यक्षसमेत उपस्थित स्थानमा जेठ ३२ गते यादवमाथि निर्घात कुटपिट भएको थियो । कुटपिटपछि गम्भीर घाइते भएका उनको मृत्युपछि पीडित परिवारले तीनजना वडा अध्यक्षसहित ९ जनाविरुद्ध किटानी जाहेरी दिएको थियो । मृतकका आफन्तले विजय यादव, दिनेश यादव, भोला यादव, वडा अध्यक्ष बलदेबका छोरा रविशंकर यादव, दिपेश यादवविरुद्ध पनि जाहेरी दिएका छन् । उनीहरु सबै फरार छन् ।

फरारहरुको खोजी भइरहेको मोरङका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए । उनका अनुसार सुरुमा उक्त घटनालाई ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान सुरु गरे पनि घाइतेको मृत्युपछि कर्तब्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको छ ।

यस्तो थियो घटना

समानन्दले छोरा राजेशका लागि जहदा गाउँपालिकामा एक युवतीको परिवारसँग कुरा चलाएका थिए । तर छोराले बुबाले कुरा चलाएका युवतीसँग विवाह गर्न मानेनन् । सोही विषयमा छलफल गर्न विराटनगर महानगरपालिका १४ का वडा अध्यक्ष बलदेव यादवको घरमा पञ्चायती बसेको थियो । जेठ ३२ गते बिहान तीन जना वडाअध्यक्ष उपस्थित भएपछि बलदेवका छोरा रविशंकर यादव र अर्का एक युवकले समानन्दलाई बोलाएर बलदेवको घरमा ल्याए ।

छलफलमा समानन्दले छोराले विवाह गर्न नमानेको बताएपछि केटी पक्षका आफन्त र वडा अध्यक्षहरुले जसरी पनि बिहे गर्न दवाब दिएका थिए । विवाद बढेपछि समानन्दमाथि निर्घात कुटपीट भएको थियो । कुटपिटका कारण उनको गर्धनमा चोट लागेको थियो । चोट लागेपछि अचेत भएका उनको कोशी अञ्चल अस्पतालमा उपचारका क्रममा असार २६ गते मृत्यु भएको थियो । कुटपिटको घटनामा संलग्न सबै समाजवादी पार्टी निकट हुन् ।

राजनीतिक संरक्षण

हत्या आरोप लागेका तीनजना वडा अध्यक्षहरु समाजवादी पार्टीबाट निर्वाचित भएका हुन् । राजनीतिक संरक्षणका कारण प्रहरीले उनीहरुलाई पक्राउ नगरेको आफन्तको आरोप छ । तर मोरङ प्रहरी प्रमुख विश्व अधिकारी प्रहरीले अनुसन्धान गरिरहेकाले घटनामा संलग्नलाई पक्राउ गर्ने बताउँछन् । फरार वडा अध्यक्ष भारतीय सीमावर्र्ती क्षेत्रमा लुकेर बसेका छन् ।

तीनवटै वडा अध्यक्ष प्रहरीकै सम्पर्कमा रहेको पीडित परिवारको दाबी छ । मृतक समानन्दका सालो विरेन्द्र यादव प्रहरीमाथि राजनीतिक दवाब भएको बताउँछन् । कुटपिटलगत्तै घटनामा संलग्न विरुद्ध उजुरी परेपनि प्रहरीले राजनीतिक दबाबका कारण पक्राउ नगरेको उनको आरोप छ । कुटपिटबाट समानन्द घाइते हुँदा उजुरी नगर्न परिवारमा दबाब आए पनि मृत्युपछि भने दबाब नआएको परिवारका सदस्य बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment