Comments Add Comment

यो महिना पलेँटीमा ३ दिनसम्म विक्रम गुरुङको प्रस्तुति

५ साउन, काठमाडौं । यो महिनाको सांगीतिक कार्यक्रम ‘पलेँटी शृङ्खला’मा प्रसिद्ध संगीतकार विक्रम गुरुङको प्रस्तुति हुने भएको छ । यसका निम्ति हङकङबाट संगीतकार विक्रम गुरुङ काठमाडौं आइपुगेका छन् ।

अरुण थापाले गाएका ‘भुलुँ भलुँ लाग्यो मलाई’,  ‘आँखाको निँद खोसी लाने’ र ‘कतै टाढा तिमीबाट भुलेँ भने’ गीतमा विक्रमले संगीत गरेका हुन् । यीलगायत उनले अन्य ख्यातीप्राप्त गीतकार तथा गायकसँग पनि काम गरेका छन् ।

पलेँटीमा आउने शुक्रबार, शनिबार र आइतबार आफ्ना सांगीतिक यात्राको सम्झना गर्दै आफ्ना गीत प्रस्तुत गर्ने तयारीमा छन् संगीतकार गुरुङ । ‘पलेँटीले शब्द लेख्ने र धुन भर्नेहरूलाई प्रस्तुत गर्ने क्रममै मलाई पनि निम्त्याएको हो भन्ठान्छु । यो मञ्चमा नेपाली आधुनिक संगीतका धेरै योगदानकर्ताहरू प्रस्तुत भइसक्नु भएको छ । यो मञ्चले नेपाली आधुनिक संगीतको प्रतिष्ठा उठाउन गरेको अभियानमा जोडिन पाउनु खुशीको कुरा हो’ उनले भने ।

साउनको १० गते शुरु हुने विक्रम गुरुङसँगको पलेँटी ३ दिनसम्म चल्ने छ । कार्यक्रमलाई पलेँटीको शुरुवातदेखि नै संचालन गर्दै आएका संगीतकर्मी आभासले संगीतकार विक्रम गुरुङको सांगीतिक जीवनको सेरोफेरोमा रहेर अन्तरसम्वाद पनि गर्नेछन् ।

कालिकास्थानस्थित ‘आर’शालामा आयोजना हुने पलेँटीमा संगीतकार गुरुङलाई वाद्यवादनतर्फ किबोर्डमा दिनेश रेग्मी, तबलामा सन्देश महर्जन, गिटारमा सुरज प्रधान, प्रकसनमा पारस, बाँसुरीमा बलराम समाल र बेस गिटार मा अम्बर गुरुङ ‘पोखरेली’ले साथ दिनेछन् ।

शुरुमा अँग्रेजी महिनाको अन्तिम शुक्रवार एक दिन मात्र हुने गरेको पलेँटी कार्यक्रम केही महिनादेखि महिनाको अन्तिम सप्ताहान्त- शुक्रवार, शनिवार र आइतबार गरी तीन दिन संचालन हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment