Comments Add Comment

संगठन विभागमा वामदेव, स्कुलमा पोखरेल र श्रेष्ठको दाबी

साउन ५ गते बस्ने सचिवालयले विभागको टुंगो लगाउने

३ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संगठन विभाग प्रमुखको जिम्मेवारी बामदेव गौतमले पाउने भएका छन् । तर, स्कुल विभागलाई लिएर तत्कालीन एमाले र माओवादीबीच तानातान टुंगिएको छैन ।

३२ मध्ये संगठन र विदेशसहित १८ एमालेले प्रचार र अर्थसहित १४ विभाग माओवादीले लिने सहमति भएको छ । तर स्कुल विभागबारे सहमति हुन बाँकी छ ।

विभागीय प्रमुखहरु तोक्न नेकपाले साउन ५ गते सचिवालय बैठकसमेत बोलाएको छ ।

आफ्नो भागमा परेका विभागीय प्रमुखहरु टुंगो लगाउन पूर्वएमालेका नेताहरुको बैठक लगातार दुई दिन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । नेताहरुबीच संगठन विभागमा बादमेव गौतम, विदेश विभागमा माधवकुमार नेपाल र नीति तथा प्रतिष्ठानमा झलनाथ खनाललाई प्रमुख बनाउने सहमति जुटेको छ ।

स्रोताक अनुसार प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली सुरुमा गौतमलाई संगठन विभाग प्रमुख बनाउन तयार थिएनन् । प्रचण्ड-माधव नेपाल समूहले गौतमको नाम लिँदा ओलीले रामबहादुर थापा बादलको नाम लिएका थिए ।

तर, बादल गृहमन्त्री रहेको र तत्कालीन माओवादीमा संगठन विभाग प्रमुख हुँदा प्रभावकारी रुपमा काम गर्न नसकेको गुनासो नेकपाकै नेताहरुले गरेका थिए ।

ओलीले बादल नहुने भए तत्कालीन एमालेका संगठन विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङको नाम दिए । उनी गण्डकी प्रदेशका मुख्यमन्त्रीका साथै पार्टीका प्रदेश ईञ्चार्ज पनि छ । अब उनैलाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिन उपयुक्त नहुने भन्दै सचिवालयकै नेताहरुले धारणा राखेका थिए ।

संगठन विभागमा रक्षामन्त्रीसमेत रहेका ईश्वर पोखरेलको समेत दाबी थियो । तर, ओलीले पछिल्लो समय आफूसँग असन्तुष्ट बनेका गौतमलाई नजिक ल्याउन प्रयास गर्दै संगठन विभाग प्रमुखको जिम्मेवारी दिने सहमति गरेका हुन् ।

स्कुल विभागमा पोखरेल कि श्रेष्ठ ?

नेकपामा अर्को महत्वपूर्ण विभाग हो, स्कुल । यो विभागमा तत्कालीन एमाले र माओवादी दुबै दलको दाबी छ । यसबारे ५ गते सचिवालय बैठकमा टुंगो लगाउने सहमति अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीच भएको छ ।

बालुवाटारमा भएको तत्कालीन एमालेका नेताहरुको बैठकमा रक्षामन्त्री पोखरेलले स्कुल विभाग प्रमुख आफूले पाउनुपर्ने दाबी गरेको एक नेताले जानकारी दिए ।

तत्कालीन माओवादीतर्फ नारायणकाजी श्रेष्ठले पनि स्कुल विभागमा दाबी गरेका छन् ।

उनलाई प्रचार विभाग प्रमुख बनाएर पोखरेललाई स्कुल विभाग दिने प्रयास हुने नेताहरुले बताएका छन् । तर, श्रेष्ठले भने प्रचार विभाग नलिने अडान लिएका छन् ।

माओवादीको भागमा परेको आर्थिक विभागमा कसलाई लैजाने भन्ने टुंगो लागेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment