Comments Add Comment

जेठो अस्पतालको रोचक इतिहास : सित्तैमा मासुभात !

५ साउन, काठमाडौं । नेपालमा आधुनिक औषधि विज्ञानको सेवा शुरु भएको १२९ वर्ष पुगेको छ । नेपालको सबैभन्दा जेठो अस्पताल वीर अस्पताल शुरु भएको यही साउन १२ गते ठीक १३० वर्ष पुग्दैछ ।

०५९ सालदेखि यो अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा परिणत भएको छ ।

निर्देशक डा. केदार सेन्चुरीका अनुसार वीरमा अहिले ३८० शैय्या सञ्चालनमा छन् । यीमध्ये आकस्मिक कक्षमा ३० र आईसीयू/सीसीयूमा २६ शैय्या छन् । जसमध्ये १२९ शैय्या निजी स्तरबाट सञ्चालनमा छन्, जुन शैय्या प्रयोगवापत विरामीले प्रति दिन दुई सय रुपैयाँ तिर्नुपर्छ ।

अन्तर्राष्ट्रिय मापदण्डमा रहेर पाँच सय शैय्याको सर्जिकल भवन निर्माणाधीन अवस्थामा छ । त्यस्तै, भक्तपुरको दुवाकोटमा रहेको ५७० रोपनी जग्गामा एक हजार शैय्याको अस्पताल निर्माणका लागि प्रक्रिया अगाडि बढेको छ । देशकै सबैभन्दा ठूलो यो अस्पतालमा सबै प्रकारका रोगको उपचार हुन्छ ।

यही वीर अस्पताल हो, जसलाई श्री ३ वीरशम्शेरले १२ साउन १९४६ मा १५ शैय्याबाट शुरु गरेका थिए । वीरशम्शेरले स्थापना गरेकै कारण अस्पतालको नाम पनि वीर राखियो ।

अस्पतालको उद्घाटन कार्यक्रममा वीरशम्शेरले भनेका थिए, ‘काठमाडौंका रानीपोखरीनिर हस्पिटल खोलिएको छ । औषधि नहुँदा रैतीले साह्रै दुःख पाउँदा रहेछन्, त्यसैले अस्पतालको स्थापना गरेको हुँ । रैती दुनियाँको एक पैसा खर्च नभै औषधि गर्न पाउने छन् ।’

वीर अस्पतालबारे अनुसन्धान गरेका वीरका पूर्वनिर्देशक बुलन्द थापा यो अस्पताल वीरशम्शेरले आफ्नै स्वार्थले स्थापना गरेको बताउँछन् । थापाका अनुसार त्यतिबेला एक जना मानन्धरको सुन्धारादेखि भोटाहिटीसम्म जग्गा थियो । वीरशम्शेरले जनताका लागि भन्दै उक्त जग्गा माग गरे । ती मानन्धरले जनताका लागि भन्दै ४८ रोपनी जग्गा प्रदान गरे ।

त्यही जग्गामा स्थापना भएको वीर अस्पतालमा निःशुल्क उपचारसँगै वीरशम्शेरले मासु भातको पनि व्यवस्था गरिदिए । यसकै निरन्तरताको रुपमा अहिले पनि वीरमा बिरामीलाई निशुल्क खाना दिने प्रचलन छ । भलै बिरामीले खाने खानामा समेत भ्रष्टाचार हुने गरेका समाचार पनि आउने गरेका छन् अचेल ।

वीरशम्शेरको सम्वोधनको हस्तलिखित विवरणमा भनिएको छ, ‘बेरामीका हिफाजतलाई जो चाहिन्या भान्छे, नोकर चाकरहरुको पनि बन्दोबस्त गरी खाना पिन्या सरजाम, सुत्न्या पलङ बिछ्यौना गैह्र दुरुस्त । केही कुरामा कमी छैन । बेरामी १५ लाई हिफाजत साथ राज-रोज खाना पिनालाई चाहिन्या सरजामसमेत तयार छ ।’

डा. थापाका अनुसार वीरशम्शेर आफैं पनि बिरामी थिए । उनलाई पनि उपचारको आवश्यकता थियो । त्यसैले नै उनले अस्पतालको शुरुवात गरेका थिए । वीरशम्शेर आफैं पनि स्वास्थ्य परीक्षणका लागि नियमित वीर अस्पतालमा पुग्थे । विरामीकै कारण वीरशम्शेरको ४९ वर्षको उमेरमै मृत्यु भयो । थापा भन्छन्, ‘वीरशम्शेर रगत वमिटिङ गरेरै मर्नुभएको इतिहास भेटिन्छ ।’

वीर अस्पतालको उक्त वक्तव्यमा डा. अदस्नाथले बोलेको कुरा पनि उल्लेख गरिएको छ । उक्त वक्तव्यलाई आधार मान्ने हो भने त्यहाँ असिस्टेन्ट डाक्टर कम्पाउण्डर थिए । तर, त्यतिबेला नेपालमा नभएर विदेशबाट डाक्टरहरु झिकाएको डा. थापा बताउँछन् ।

‘बेलायती दूताबासमा आवासीय डाक्टर हुनुहुन्थ्यो, उहाँ आएर ओपीडी चलाउनुहुन्थ्यो’, थापाले भने, ‘त्यतिबेला नेपालमा डाक्टर नै नभएकाले धेरैजसो कोलकाताबाट बंगाली डाक्टर झिकाइन्थ्यो ।’

वीरशम्शेरको वक्तव्यमा पनि विदेशबाट डाक्टर झिकाएको उल्लेख छ । यो अस्पताल शुरु भएसँगै नेपाली सर्वसाधरणलाई धामीझाँक्री, आयुर्वेद मात्र नभएर आधुनिक औषधी विज्ञान पनि छ भन्ने जानकारी भएको थियो ।

राजा महाराजाको योगदान

राणाहरुको जस्तै वीर अस्पतालको विकासमा तत्कालीन राजा महेन्द्रको पनि महत्वपूर्ण योगदान छ । उनले वीर अस्पतालमा आईसीयूको शुरुवात गरेका थिए । योसँगै नेपालमा पहिलो पटक आईसीयु प्रविधि भित्रिएको थियो । त्यहीबीचमा अस्पतालको शैय्या बढाएर मेल/फिमेल ५०/५० शैय्याको अस्पतालको रुपमा स्तरउन्नती भएको थियो । यसरी आईसीयूको शुरुवात गर्नुमा जनताका लागि मात्रै नभएर राजाको पनि आफ्नै स्वार्थ पनि जोडिएको थियो ।

डा. थापा भन्छन्, ‘महेन्द्र राजा आफैं मुटुको बिरामी हुनुहुन्थ्यो । सधैं स्वीटजरल्याण्ड, थाइल्याण्ड जान सम्भव थिएन । त्यसैले उहाँले आफ्नो उपचारका लागि पनि वीर अस्पतालमा आईसीयूको व्यवस्था गर्नुभएको थियो ।’

त्यतिबेला डाक्टर र भारदारहरुले दरवारभित्रै आईसीयूको शुरुवात गर्न आग्रह गरेका थिए । तर, यस्तो आग्रहलाई महेन्द्रले अस्वीकार गरेको डा. थापाको दाबी छ । राजा महेन्द्रले डाक्टर र भारदारहरुलाई भनेका थिए, ‘दरवारभित्र भयो भने मलाई मात्र हुन्छ । तर, वीर अस्पतालमा आईसीयू शुरु गरौँ, यसो गर्दा जनताले पनि सुविधा पाउँछन् ।’

राजा महेन्द्र आफैंले वीरमा उपचार गरे । पछि हृदयघातकै कारण चितवनको कसरामा उनको निधन भयो ।

डा. थापाको ‘वीर हस्पिटल डेभलपमेन्ट अफ मोर्डन मेडिकल इन नेपाल’ का अनुसार वीर अस्पतालमा पहिलो नेपाली सुपरिटेन्डेन्ट भनेका डा. जीतसिंह मल्ल हुन् । डा. मल्ल सन् १९५९ मा सुपरिटेन्डेन्ट भएका थिए । त्यसअघि वीरमा ५ जना विदेशी सुपरिटेन्डेन्ट भइसकेका थिए । उनले कोलकाताबाट मेडिसिनमा उच्च शिक्षा हासिल गरेका थिए ।

वीरमा पहिलो नेपाली म्याट्रोन इन्द्रकला माथेमा थिइन् ।

विस्तारै वीरबाटै नयाँ-नयाँ अविष्कार हुँदै आएका छन् । डा. एमआर पाण्डेले सन् १९६१ मा मेडिसिन विभाग स्थापना गरेका थिए । सन् १९८५ मा डा. सन्तोषमान श्रेष्ठले लिभर युनिटको शुरुवात गरे । १९७६ मा डा. बीआर सत्यालले नेफ्रोलोजी, वि.सं ०४४ मा डा. आइएल आचार्यले र सन् १९८६ मा डा. जीजी ढकालले ग्यास्ट्रोलोजी विभागको स्थापना गरेका थिए । त्यस्तै, डा. धनञ्जय रेग्मीले सन् १९६२ मा ब्लड बैंक सर्भिस, डा. एलबी थापाले सन् १९९० मा कार्डियोथोरासिक विभाग, डा. दिनेशनाथ गोपालले सन् १९८१ मा न्युरोलोजी विभाग, डा. भीआर डालीले १९८४ मा युरोलोजी विभाग बनाए ।

त्यसैगरी डा. लक्ष्मणनारायण प्रसाद र डा. विष्णुप्रसाद रिजालका पालामा नाक, कान, घाँटीको नियमित सुविधा र डा. ज्वालाराज पाण्डेले अर्थोपेडिक सर्जरीको सुरुवात गरेका थिए ।

त्यस्तै डा. रामभद्र अडिगाका पालामा छाला रोगसम्बन्धी र डा. बसन्त राजभण्डारीका पालामा डेन्डल उपचार थपियो । डा. केशरजंग रायमाझीले रेडियोलोजी र डा. वीपी शर्माले मेन्टलसम्बन्धी उपचार सुविधाको शुरुवात गरेका थिए । अहिले वीरमा प्रायः सबै प्रकारका रोगको उपचार हुने गर्छ ।

तर, श्री ३ वीरशम्शेरले निर्माण गरेको अस्पतालको कलात्मक भवन भने अहिले देख्न पाइँदैन । विसं. १९९० सालको भूकम्पले उक्त भवन ध्वस्त पारेको थियो । भूकम्पपछि भारतले ओपीडी भवन र युएसएडले सर्जिकल ब्लकको निर्माण गरिदियो । राजा वीरेन्द्रका पालामा ओपिडी भवन बनेको थियो । राजा वीरेन्द्र आफैं भवनको उद्घाटन गर्न पुगेका थिए ।

सन् २०१५ देखि जाइकाले वीर अस्पतालको सुविधासम्पन्न नयाँ भवन निर्माण गर्दैछ । वीरमा सबैभन्दा पुरानो भनेको एउटा मात्रै पहेंलो भवन छ, जुन ६० वर्ष पुरानो हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment