Comments Add Comment

४६ महिला नेताले पाए नेकपामा इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी

४ साउन, काठमाडौं । जिल्ला कमिटी अध्यक्ष र सचिव छान्दा महिलालाई नेतृत्व दिन अनुदार बनेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जिल्ला इन्चार्ज र सहइन्चार्जमा भने पहिले भन्दा केही  बढी महिला नेतालाई जिम्मा दिएको छ ।

७७ जिल्ला र ६ महानगरपालिका सहित ८३ जिल्ला कमिटीको इन्चार्ज र सहइन्चार्ज तोक्दा नेकपाले ४६ जना महिला नेतालाई जिम्मेवारी दिएको छ । कतिपय जिल्लामा इन्चार्ज र सहइन्चार्ज दुवै महिला बनेका छन् । जसमध्ये १० जनाले जिल्ला इन्चार्जको जिम्मेवारी पाएका छन् बाँकीले सहइन्चार्जको जिम्मा पाएका छन् ।

जिल्ला इन्चार्जको जिम्मा पाउनेमा संघीय सरकारको भूमि व्यवस्थामन्त्री पदमा अर्याल पनि रहेकी छन् । उनी स्याङ्जा जिल्लाको इन्चार्ज बनेकी छन् । त्यस्तै तेह्रथुममा जयन्ती राई, रसुवामा विमला सुवेदी, दोलखामा देवी खड्का, काठमाडौंमा सावित्रा भुसाल, ललितपुर महानगरपालिकामा सुशीला नेपाल, भरतपुर महानगरपालिकामा रेणु दाहाल, बाग्लुङमा बलावती शर्मा, मुस्ताङमा श्रीमाया थकाली र कैलालीमा रुपा चौधरी इन्चार्ज बनेका छन् ।

त्यस्तै राज्यमन्त्री सरहको वरियतामा रहेका संघीय संसदका सभापतिहरुमध्ये निरु पाल, पूर्णकुमारी सुवेदी, कल्याणी खड्कालगायतले जिल्ला इन्चार्ज र सहइन्चार्जको भूमिका पाएका छन् ।

देशकै राजधानी तथा सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको काठमाडौंको सहइन्चार्जमा ९ जना सहइन्चार्जमध्ये दुई जना महिला छन् । प्रदेश १ अन्तर्गत झापामा धर्मशीला चापागाई सहइन्चार्ज बनेकी छन् भने रामकुमारी चौधरी सुनसरीको सहइन्चार्ज बनेकी छन् । तेह्रथुमको सहइन्चार्ज दुर्गा जयन्ती राई र खोटाङको सहइन्चार्ज समिता कार्की  बनेकी छन् ।

उदयपुरको सहइन्चार्जमा मन्जुकुमारी चौधरीले जिम्मा पाएकी छन् ।

प्रदेश २ अन्तर्गत सिरहामा रामरतिदेवी राम र सीता पोखरेल सहइन्चार्ज तोकिएका छन् भने धनुषामा जुलीकुमारी महतो, बोधमाया कुमारी यादव र सर्लाहीमा कमलादेवी महतो सहइन्चार्ज बनेका छन् ।
कल्याणी खड्का र सरलाकुमारी यादव रौतहटको सहइन्चार्ज बनेका छन् ।

प्रदेश ३ मा दोलखा जिल्लाको इन्चार्ज र सहइन्चार्ज दुवै युवा महिला नेताले जिम्मा पाएका छन् । देवी खड्का इन्चार्ज बन्दा रचना खड्काले सहइन्चार्जको जिम्मेवारी पाएकी छन् ।

त्यस्तै सिन्धुलीमा उमा कोइराला र चितवनमा गंगा बेलबासे तथा ज्ञानुदेवी बस्नेत सुवेदी सहइन्चार्ज बनेका छन् । मकवानपुरको सहइन्चार्जमा कुमारी मोक्तानलाई जिम्मा दिइएको छ । मकवानपुरको अध्यक्ष पनि महिलानै छन् मुनु सिग्देल । मुनुका पति विरोध खतिवडा जिल्ला इन्चार्ज बनेका छन् ।

विमला सुवेदी रसुवाको इन्चार्ज बनेकी छन् ।

गण्डकी प्रदेश अन्तर्गत स्याङ्जामा सीता सुन्दास सहइन्चार्ज बनेकी छन् । इन्चार्ज बनेकी पदमा अर्याल संघीय सरकारको मन्त्री हुने भने दलित महिला नेतृ सुन्दास जिल्ला समन्वय समितिकी प्रमुख तथा जिल्ला समन्वय समिति महासंघकी अध्यक्ष हुन् ।

बलावती शर्मा बागलुङको इन्चार्ज बनेकी छन् भने सहइन्चार्ज पनि महिला नेता मनकुमारी केसी बनेकी छन् । त्यस्तै मुस्ताङ जिल्ला इन्चार्जमा श्रीमाया थकालीले जिम्मेवारी पाएकी छन् । कास्कीमा सीता गिरी सहइन्चार्ज बनेकी छन् भने आशा कोइराला तनहुँ र सुशीला सिम्खडा गोरखाको सहइन्चार्ज बनेका छन् ।

प्रदेश ५ मा सुशीला श्रीपाइली अर्घाखाँची जिल्लाको सहइन्चार्ज बन्दा दामाकुमारी शर्मा, नारायणी शर्मा र शान्ता चौधरी दाङको सहइन्चार्ज बनेका छन् । कमला रोक्का पूर्वी रुकुमको सहइन्चार्ज बनेकी छन् भने ताराकुमारी घर्ती रोल्पाको सहइन्चार्ज बनेकी छन् । बाँकेको सहइन्चार्जमा पूर्णकुमारी सुवेदी छन् ।

सुदुरपश्चिम प्रदेशको सबैभन्दा ठूलो कैलाली जिल्लाको इन्चार्जमा रुपा चौधरी र सहइन्चार्ज गरिमा शाह तथा लिलाकुमारी भण्डारी तोकिएका छन् । त्यस्तै निरादेवी जैरु डडेलधुरा, रेणु चन्द वैतडी, निरु पाल कन्चनपुर र गौरी ओली डोटीको सहइन्चार्ज बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment