Comments Add Comment

एक वर्षमै थपिए झण्डै ४४ लाख इन्टरनेट प्रयोगकर्ता

६ साउन, काठमाडौं । नेपालमा एक वर्षको अवधिमा इन्टरनेट प्रयोगकर्ताको संख्या ४३ लाख ६० हजार भन्दा बढी थपिएको छ । २०७५ वैशाखसम्म १ करोड ४३ लाख इन्टरनेट प्रयोगकर्ता रहेकोमा २०७६ वैशाखसम्म सो संख्या १ करोड ८६ लाख पुगेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हालसम्म देशका ६३ प्रतिशत जनता इन्टरनटको पहुँचमा छन् । तर कतिपय एकै व्यक्तिले दोहोरो रुपमा गरिरहेको इन्टरनेट प्रयोग गरिरहेकाले यो तथ्यांक केही कम हुन सक्छ ।

प्राधिकरणले हालै सार्वजनिक गरेको एमआईएस रिपोर्टअनुसार इन्टरनेट फिक्स्ड ब्रोडब्यान्ड र मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्ताको संख्या उच्च दरमा बढिरहेको देखिन्छ ।

हालसम्म जनसंख्याको अनुपातमा ४९ प्रतिशत जनता मोबाइलमा इन्टरनेट चलाउँछन् । त्यसमा सबैभन्दा धेरै थ्रीजी सेवा प्रयोगकर्ता छन् । १ करोड ९ लाखले थ्रीजी सेवा लिएका छन् । थ्रीजीमा ६८ लाखले नेपाल टेलिकमको सेवा प्रयोग गरिरहेका छन् भने एनसेलबाट ४० लाख प्रयोगकर्ता दर्ता छन् ।

यसैगरी फोरजीका ३६ लाख १२ हजार प्रयोगकर्ता छन् । त्यसमा झण्डै २६ लाख ७५ हजार प्रयोगकर्ता एनसेलको मात्रै छन् । पहिलोपटक आफैंले सेवा सुरु गरेको नेपाल टेलिकमले उपत्यका र पोखराबाहेकका क्षेत्रमा फोरजी सेवा विस्तारमा ढिलाइ गरेपछि एनसेल टेलिकमभन्दा उच्च संख्यामा फोरजी ग्राहक बटुल्न सफल भएको छ । टेलिकमसँग जम्मा ७ लाख ६२ हजार मात्रै फोरजीका प्रयोगकर्ता छन् ।

स्मार्ट टेलिकमले पनि १ लाख ७४ हजार फोरजी प्रयोगकर्ता बनाइसकेको छ । मोबाइल ब्रोडब्यान्डमा ई–भिडियो प्रयोग गर्नेहरु १ लाख ३६ हजार छन् ।

तारसहितको फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट प्रयोग गर्नेको संख्या देशमा करिब ६३ लाख ८० हजार छन् । दूरसञ्चार प्राधिकरणका अनुसार यस्तो एउटा इन्टरनेट कनेक्सनमा औसत ५ जना प्रयोगकर्ता हुन्छन् ।

फिक्स्ड ब्रोडब्यान्ड प्रयोगकर्ताको संख्या गतवर्षको भन्दा ८ लाख ३६ हजारभन्दा बढीले वृद्धि भएको छ । यस्तो सेवा लिनेको संख्या कुल जनसंख्याको १२ प्रतिशत बढी छ ।

फिक्स्ड ब्रोडब्यान्डमा हाल इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरु अग्रपंक्तिमा छन् । आईएसपीहरुले २६ लाख २९ हजार प्रयोगकर्ता बनाएका छन् । नेपाल टेलिकमको एडीएसएल सेवा प्रयोग गर्नेको संख्या १० लाख ३५ हजार छ भने एफटीटीएच सेवामा जम्मा १५ हजार प्रयोगकर्ता आवद्ध छन् ।

यसैगरी ३ लाख ५० हजार तहाररहित फिक्स्ड इन्टरनेट प्रयोगकर्ता छन् । त्यसमा पनि वाईफाइ (रेडियो)को प्रयोगकर्ताको संख्या २ लाख ६१ हजार छ भने ८७ हजारले वाईम्याक्स प्रयोग गर्छन् ।

समग्रमा हेर्दा हाल ७९ प्रतिशत बजार मोबाइल ब्रोडब्यान्डले ओगटेको छ । १९ प्रतिशत बजार तारसहितको फिक्स्ड इन्टरनेट लाइनमा छ । ताररहित इन्टरनेटको बजार भने २ प्रतिशत मात्रै देखिन्छ ।

इन्टरनेट सेवा प्रदायकका अनुसार गणना गर्दा ८८ लाख ७८ हजार प्रयोगकर्ता नेपाल टेलिकमसँग आवद्ध छन् । टेलिकमले मोबाइल (टुजी, थ्रीजी र फोरजी) सहित एडीएसएल, एफटीटीएच, वाइम्याक्स र ई–भिडियोसहितको सेवा प्रदान गर्छ ।

यसैगरी थ्रीजी र फोरजी सेवा मात्रै दिइरहेको एनसेलसँग ६७ लाख ४१ हजार इन्टरनेट प्रयोगकर्ता छन् । स्मार्ट टेलिकमले पनि १ लाख ७४ हजारलाई मोबाइलबाटै फोरजी इन्टरनेट सेवा दिँदैछ ।

आईएसपीहरुले वाईफाई र एफटीटीएच गरी २८ लाख ९१ हजार प्रयोगकर्ता बनाएका छन् । यी प्रयोगकर्ताको प्रत्येक कनेक्सनमा ५ जनाले सेवा लिने गरेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment