Comments Add Comment

हिमालयन एयरलाइन्सले ढाकामा सुरु गर्‍यो उडान

६ साउन, काठमाडौं । नेपालको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एअरलाइन्सले बंङ्गलादेशको ढाकामा उडान बिस्तार गरेको छ । सोमबार ढाकामा हिमालयले पहिलो सफल उडान गर्‍यो ।

काठमाडौंबाट १ सय ४१ यात्रुसहित ढाका पुगेको जहाज ढाकाबाट १ सय ४ यात्रु लिएर त्रिभुवन विमानस्थलमा अवतरण गरेको कम्पनीले जानकारी दिएको छ । हिमालयले ढाकास्थित हजरत साहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा काठमाडौंबाट नियमित उडान शुरु गरेको हो ।

हिमालयले यस रुटमा एच९-६७९ जहाज प्रयोग गर्ने भएको छ । ए३२०-२१४ मोडलको यो जहाज प्रिमियम इकोनोमी क्लासमा ८ र इकोनोमी क्लासमा १५० सिट क्षमताको छ ।

सांस्कृतिक, राजनीतिक तथा सांस्कृतिक केन्द्र तथा देशको राजधानी ढाकामा आफ्नो पहिलो उडान सफल भएको कम्पनीले उल्लेख गरेको छ । हिमालयले ढाकामा मंगलबार, बुधबार र शनिबार गरी हप्तामा तीन दिन उडान गर्नेछ ।

काठमाडौं-ढाका रुटको उडान एक घण्टाको हुने कम्पनीको भनाई छ । व्यापारिक तथा भ्रमण प्रयोजनका लागि आउने यात्रुका लागि त्यही दिन र्फकन मिल्ने सुविधायुक्त उडान तालिका मिलाईएको कम्पनीले जानकारी दिएको छ ।

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले व्यापार, जनशक्ति, पर्यटन तथा संस्कृति आदानप्रदानलाई यस उडानले प्रगाढ बनाउने उल्लेख गरे । भ्रमण बर्ष २०२० को प्रवर्द्धन सहित २० लाख पर्यटन भित्र्याउने लक्ष्यलाई मध्यनजर गर्दै हिमालयले छिट्टै अन्य गन्तब्यसमेत थप्ने योजना रहेको उनले बताए ।

करिब ८० लाख जनसंख्या भएको ढाका दक्षिण एसियाको प्रमुख सहरहरु मध्ये एक हो । बङ्गलादेशको ठूलो र विश्वकै अधिक जनसंख्या भएको शहरका रुपमा यसले पहिचान बनाएको छ । सन् २०१९ को ६ महिना (जनवरी-जुन) सम्म १० हजार ५९० बङ्गलादेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

नेपाल-चीन संयुक्त उद्यमका रुपमा सन् २०१४ अगस्टमा स्थापना भएको हिमालय एअरलाइन्स अन्तर्राष्ट्रिय उडान सेवा उपलब्ध गराउँदै आएको नेपालको निजी वायुसेवा कम्पनी हो । अहिले हिमालयले आबुधावी, दमाम, दोहा, दुबई, क्वालालम्पुर र ढाका गरी ६ वटा गन्तब्यमा उडान गरिरहेको छ ।

एअरलाइन्ससँग अहिले ए३२०-२१४ सिरिजका ३ न्यारो-बडी जहाज छन् । सन् २०१९ भित्रै हिमालय एअरलाइन्सले चीनसँगको सञ्जाललाई मध्यनजर गर्दै बेइजिङलाई आफ्नो सञ्जालमा जोड्ने लक्ष्य राखेको उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment