Comments Add Comment

आजका पत्रपत्रिका : मिसन पूरा भएको भन्दै रअको टोली फिर्ता

७ साउन, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरूको प्राथमिकतामा विविध विषय परेको छ । कुनैको नजर प्रदेशहरूको खर्चमा परेको छ भने केहीले रअको सक्रियता, सरकारी गाडी दुरुपयोगको विषय उठाएका छन् ।

नेपाल समाचारपत्रले भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) को टोलीको नेपाल भ्रमणमाथि मुख्य समाचार बनाएको छ । समाचार अनुसार रअ प्रमुख समान्तकुमार गोयल नेतृत्वको पाँच सदस्यीय टोलीले कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा अध्यक्ष प्रचण्डलगायत नेतालाई भेटेको छ । राजपालगायत दलका नेतासँग पनि यो टोलीले भेटेको खबर प्रकाशमा आइरहेका छन् । यद्यपि, कुनै पनि भेटघाटको पुष्टि हुन सकेको छैन ।

पाँच दिनका लागि नेपाल आएको टोली आकस्मिक रूपमा भ्रमण छोट्याएर सोमबार साँझ दिल्ली फर्किएको छ । मिसन पूरा भएकाले टोली निर्धारित भ्रमण तालिका छोट्याएर स्वदेश फर्किएको नेपाल समाचारपत्रमा उल्लेख छ ।

कान्तिपुरले सातै प्रदेशको औसत बजेट खर्चबारेको हिसाब निकालेको छ । समाचार अनुसार सातै प्रदेशको औसत बजेट खर्च ५४ प्रतिशत मात्रै छ ।

प्रदेश ५ ले सबैभन्दा बढी अर्थात् विनियोजन गरेकोमध्ये ६१ प्रतिशत खर्च गरेको छ भने कर्णाली प्रदेश सबैभन्दा कम खर्च गर्नेमा सूचीकृत छ । यो प्रदेशले विनियोजित बजेटको करिब ३५ प्रतिशत मात्रै खर्च गरेको समाचारमा उल्लेख छ ।

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले आधा दर्जनभन्दा बढी गाडी प्रयोग गर्ने गरेको अर्को खबर पनि कान्तिपुरमा छ । उनले मन्त्रालय, विभाग र प्रकृति संरक्षण कोषका गाडी प्रयोग गरिरहेका छन् । यीबाहेक उनको सचिवालयले मन्त्रालय र विभागका ४ गाडी र ७ मोटरसाइकल लिएको कान्तिपुरले लेखेको छ ।

२०७४ मा संशोधित मन्त्रीहरुको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०४९ मा मन्त्रीले सवारीका निमित्त एक मोटर, मासिक २६५ लिटर पेट्रोल र त्रैमासिक रूपमा ५ लिटर मोबिल मात्र पाउने उल्लेख छ ।

भारतले सोमबार गरेको चन्द्रयान–२ प्रक्षेपणको तस्वीर छापेको नागरिकले ललितानिवास छानबिन प्रकरणको छानबिन गर्न अख्तियारलाई सकस परेको दाबी गरेको छ । जग्गा प्रकरणमा मालपोतका खरिदारदेखि पूर्वप्रधानमन्त्रीसम्म मुछिएपछि यसलाई कसरी निष्कर्षमा पुर्याउने भन्नेमा अख्तियार सकसमा पवरेको समाचारको सार छ ।

अन्नपूर्णले पनि राजनीतिक विषयलाई नै मुख्य समाचारको रुपमा रोजेको छ । नेकपाको राजनीतिक दस्ताबेज केलाउँदै अन्नपूर्णले ‘अमेरिका र भारतप्रति नेकपा नरम’ शीर्षक समाचारमा लेखेको छ– सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अमेरिका र भारतप्रति नरम देखिएको छ । पार्टी एकताका क्रममा निर्वाचन आयोगमा दर्ता गरेको दस्तावेज १४ महिनापछि संशोधन गर्दै नेकपाले अमेरिका र भारतप्रति नरम नीति लिएको छ ।

राजनीतिक दस्ताबेजको २ ठाउँबाट अमेरिकी शब्द झिकेर अमेरिकालाई हेर्ने दृष्टिकोण नरम बनाइएको अन्नपूर्णको ठहर छ ।

विद्यालयमा धेरै समय बिताउँदा विद्यार्थीको सिकाइमा प्रतिकूल असर पर्ने खबर गोरखापत्रमा छ भने कारोबारले नयाँ दुग्ध विकास नीति ल्याउन लागिएको लेखेको छ ।
हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment