+
+
Shares

लव–कुशको सपना : नेपाललाई रोबोटको देश भनेर चिनाउन चाहन्छौं

टोपराज शर्मा टोपराज शर्मा
२०७६ साउन ७ गते १२:१५

७ साउन, बुटवल । हरेक मान्छेका सोंच र सपना फरक हुन्छन् । सपना नदेखी लक्ष्यमा पुग्न सकिंदैन पनि । बुटवल, योगिकुटीका १६ वर्षीय जुम्ल्याहा लव र कुश पन्थीको सपना पनि बेग्लै छ ।

आठ वर्षअघि दुई कक्षामा पढ्दा टेलिभिजनमा हिन्दी फिल्म ‘रोबोट’ हेरेपछि उनीहरुको ध्यान मानव यन्त्र (रोबोट)ले तान्यो । त्यही क्रममा उनीहरुले रिमोट कन्ट्रोलबाट चल्ने रोबोट र विमानको नमूना बनाए । कक्षा ९ मा पढ्दै गर्दा इन्टरनेटबाट पाइथन प्रोग्रामिङ ल्याङ्ग्वेज अध्ययन गरेर ‘लुकु’ नामको सफ्टवेयर विकास गरे । त्यसबाट सिक्दै उनीहरुले ‘गोगो’ रोबर्ट बनाए ।

त्यसपछि लव–कुश ‘एड्भान्स रोबोट’ बनाउने ध्याउन्नमा लागे । अभिभावकको हौसला त छँदै थियो, ‘गोगो रोबोट’ बनाएपछि उनीहरुलाई विभिन्न संघ–संस्थाले सम्मान र आर्थिक सहयोग समेत गर्न थाले । प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पनि ‘साइन्स इन्नोभेसन अवार्ड’ दियो ।

एसईई परीक्षा दिएपछिको फुर्सदिलो समयमा उनीहरु आफैंले बनाएको लुकु सफ्टवेयरको आधारमा नेपाली बोल्ने ‘लव कुश मार्स रोबोट’ बनाए । करिब पाँच लाख रुपैयाँ लागतमा बनेको यो रोबोटले फोटो खिच्न, रङ चिन्न, मानिसले बोलेको कुरा टिपेर म्यासेजको रुपमा पठाउन सक्छ । यो रोबोटमा ‘रेस्पियन लिनिक्स अपरेटिङ सिष्टम’ जडान भएको छ ।

पन्थी दाजुभाइले अनलाइन सपिङ साइटबाट उपकरण किन्दै जडान गरेर मार्स रोबोट बनाएका हुन् । ‘मंगल ग्रहमा हिंड्ने रोबोटबाट प्रभावित भएर यसको नाम ‘लव–कुश मार्स’ राखेका हौं’, लव भन्छन्, ‘तर, अनलाइन सपिङमा खोजेजस्तो हार्डवेयर सामान नपाउँदा सोंचे जस्तो ‘फिनिशिङ’को बनेन ।’

यो रोबोटमा हाईभोल्टेज मोटर, हाईस्पीड प्रोसेसर, आल्मुनियम, फलाम र टायर प्रयोग भएको छ । नेपाली भाषा बोल्ने यो रोबोट नेपालको पहिलो भएको दावीसहित पन्थी दाजुभाइले प्रतिलिपी अधिकार (प्याटेन्ट राइट)का लागि उद्योग मन्त्रालय, काठमाडौंमा निवेदन दर्ता गराएका छन् ।

एसईईमा क्रमशः ३.१६ र ३.१४ जीपीए ल्याएका लव–कुश दाजुभाइ अहिले विज्ञान विषय लिएर तिलोत्तमा क्याम्पसमा कक्षा ११ मा भर्ना भएका छन् । उनीहरु कसरी अन्तर्राष्ट्रिय स्तरको आविष्कार गर्ने भन्नेमा केन्द्रित छन् । ‘विश्वमा अहिले रोबोटको प्रयोग बढेको छ’, कुश भन्छन्, ‘हामी नेपाललाई एड्भान्स रोबोट बन्ने र धेरै प्रयोग हुने देशका रुपमा चिनाउन चाहन्छौं ।’

सरकारले सहयोग गरे बैंक, सपिङ मल, रेष्टुरेण्ट लगायतमा प्रयोग गर्न सकिने रोबोट बनाउन धेरै गाह्रो नहुने उनले बताए । लव–कुश दाजुभाइले नेपाल भ्रमण वर्ष– २०२० मा प्रदेश ५, लुम्बिनीका मुख्य सडक–चोकहरुमा जुस र कफी बिक्री ‘सर्भ’ गर्न आफ्नो रोबोटलाई लगाउन सरकारी निकायहरुको ध्यानाकर्षण गराए । सरकारी सहयोग पाए आफूहरु त्यो क्षमताको रोबोटहरु बनाउन सक्षम रहेको उनीहरुको दाबी छ ।
लव–कुशको वैज्ञानिक अनुसन्धान–आविष्कारका लागि घरको आर्थिक अवस्था पर्याप्त नहुने भएकाले सरकारले छात्रवृत्ति दिएर उनीहरुको क्षमता प्रस्फुटन गराउनुपर्ने बुबा लक्ष्मीप्रसाद पन्थीले बताए । उनी भन्छन्, ‘उनीहरुको आविष्कारको लागि हामीले सहयोग माग्दै, हात थाप्दै हिंडेर सम्भव भएन, हुँदैन ।’

लव–कुशले एसईईसम्म पढेका नवीन औद्योगिक कद्दरबहादुर रीता माविका प्रधानाध्यापक प्रेमबहादुर बस्नेत वैज्ञानिक खोजका लागि यी दाजुभाइमा विलक्षण प्रतिभा भएको बताउँछन् । उनले भने, ‘सरकारले नै उनीहरुको प्रतिभालाई प्रोत्साहन गरे भोलि देशले गतिलो वैज्ञानिक पाउने सम्भावना छ ।’

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?