Comments Add Comment

कतारसँग हारको कारणः कमजोर ब्याटिङ र पारसको चोट !

७ साउन, काठमाडौं । टी–२० विश्कपको ग्लोबल छनोट पुग्ने लक्ष्यका साथ सिंगापुर पुगेको नेपालले पहिलो खेलमा कतारसँग ४ विकेटको अप्रत्यासित हार व्यहोर्‍यो ।
पहिले ब्याटिङ गरेको नेपालले १२२ रन बनायो, जसलाई कतारले चार बल बाँकी छँदा ६ विकेट गुमाएर भेट्टायो ।

खेलपछि कप्तान पारसलले हारको कारण राम्रो व्याटिङ गर्न नसक्नु भएको बताएका छन् । उनले भनेका छन्, ‘हुन त पिच राम्रो थिएन तर थप २० रन बनाउन सकेको भए नजिता अर्कै आउन सक्थ्यो ।’

नेपालको सुरुवात भने राम्रो थियो । पारस खड्का र ज्ञानेन्द्र मल्लले ४९ रनको साझेदारी गरेका थिए तर, पावर प्लेको अन्तिम बलमा पारस आउट भए ।

त्यसपछि नेपालले त्यो गतिलाई कायम राख्न सकेन । लगातार विकेट गुमाइरह्यो । पारस भन्छन्, ‘पावर प्लेपछि सुरुवातको मोमेन्टम (गति) कायम राख्न सकेनौं ।’

हारको अर्को कारण पारसको अभाव

ओपनरका रुपमा २८ रन बनाएका कप्तान पारसले कतारको इनिङका क्रममा खेलेनन् ।

उनको अनुपस्थिति पनि हारको कारण भएको प्रशिक्षक उमेश पटवालले बताएका छन् । उनले भने, ‘जसरी पारसले टिमको नेतृत्व गर्छन्, उनी नहुँदा फरक पर्छ नै ।’
कप्तान पारसका अनुसार पहिलो बल सामना गर्दादेखि नै उनलाई ढाडको दुखाईका कारण असहज भएको थियो । । ‘ब्याटिङ गरिरहेँ तर, हिँडडुल गर्न नै गाह्रो भयो’ फिल्डिङमा नजानुको कारण बताउँदै उनले भने ।

अब चिकित्सकलाई भेटेपछि अर्को खेलमा खेल्न सक्ने नसक्ने भन्ने सकिने बताइएको छ । यद्यपि प्रशिक्षक पटवालले भने उनी बाँकी खेल खेल्नेमा आशावादी रहेको बताए ।

बेस्ट इलाभेन

नेपालले मंगलबार कतारविरुद्ध पाँच ब्याट्सम्यानलाई मात्र मैदान उतारेको थियो । हारपछि कतिपयले रोहितकुमार पौडेल, प्रदीप ऐरीलगायतका ब्याट्सम्यानलाई बेञ्चमा राखेर किन ६ जना बलर खेलाएको भन्ने प्रश्न पनि गरेका छन् ।

तर प्रशिक्षक र कप्तान दुबै कतारविरुद्ध खेलाएको टिम मैदानको अवस्था अनुसार उत्कृष्ट ११ भएको बताउँछन् । पारसका अनुसार सोमपाल कामी र करण केसीलाई बलरका रुपमा नभई अलराउण्डरका रुपमा खेलाइएको थियो ।

गल्ती गर्ने छुट छैन

बलियो मानिएको नेपाल पहिलो खेलमै हारेपछि छनोट प्रतियोगिताको समिकरण रोचक बनेको छ । अब सबै टोलीको शीर्ष चारमा पर्ने सम्भावना कायमै छ ।

अहिलेसम्म मलेसिया, कतार र सिंगापुरको २/२ अंक छ भने कुवेत र नेपालको अंक छैन । कतारले भने एक खेल हारिसकेको छ । त्यसैले यो हारका बाबुजुद बाँकी सबै खेल जित्न सक्यो भने नेपाल शीर्ष स्थानमा आउन सक्छ ।

तर रन रेट पनि राम्रो चाहिन्छ ।

त्यसमा सहमत कप्तान पारस भन्छन्, अब हामीलाई गल्ती गर्ने छुट छैन । तीन वटै खेल जित्नुपर्छ ।’

नेपालले भोलि मलेसियासँग खेल्नेछ ।

नेप्लेजको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment