Comments Add Comment

विषादी परीक्षण सम्बन्धी भारतसँग नयाँ सम्झौताको तयारी

६ साउन, काठमाडौं । खाद्य सुरक्षाका विषयमा आपसी सहकार्य बढाउन नेपाल र भारतबीच आगामी महिना द्विपक्षीय सम्झौता हुने भएको छ ।

दुई देशको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरिसकेको समझदारीको प्रस्तावनामा नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र भारतको खाद्य सुरक्षा तथा मापदण्ड आयोगबीच सहकार्य गर्ने उल्लेख छ ।

आगामी अगष्टमा विशेष दिन पारेर सम्झौता पत्रमा हस्ताक्षरको तयारी भइरहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको स्रोतले बतायो ।
सम्झौताले पूर्णता पाए दुई देशबीच हुने खाद्य व्यापारको सुरक्षा र गुणस्तरमा सहजता आउने विभागको विश्वास छ ।

सहमतिपछि भारतको खाद्य सुरक्षाको जाँच प्रमाणपत्रका आधारमा भारतीय उत्पादनले नेपालमा प्रवेश पाउने छन् र नेपाली खाद्य उत्पादनलाई पनि नेपालको गुणस्तर विभागले जारी गर्ने परीक्षण रिपोर्टका आधारमा भारतमा सहज प्रवेश दिइने छ ।

समझदारी पत्रअनुसार दुवै देशका अधिकारीलाई शंका लागेको अवस्थामा भने त्यस्ता खाद्य वस्तु परीक्षण गर्न पाउनेछन् ।

भारतबाट भित्रिने तरकारीको विषादी परीक्षण सम्बन्धमा यसअघि कमजोर महशुस गरिएको दुई देशबीचको सूचना आदानप्रदान पनि यो सुम्झौतापछि प्रभावकारी हुने विभागले जनाएको छ ।

यस्तै नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको परीक्षण केन्द्रको क्षमता विकास तथा प्राविधिक सूचना आदानप्रदानको विषय पनि सम्झौतामा उल्लेख छ ।

भारतीय उत्पादनको निर्यात गुणस्तर हेर्ने निकाय छुट्टै भएका कारण दुई देशबीच हुने समझदारी थप प्रभावकारी बनाउन छलफल जारी पनि राखिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

निकासी पैठारी आदेश संशोधन गर्दै नेपालले गत असार २ गतेबाट भारतबाट आयात हुने हरियो तरकारी तथा फलफूलको विषादी परिक्षण सीमा नाकामै गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएपछि खाद्य सुरक्षा र गुणस्तरका विषयमा दुई देशबीच विवाद चर्किएको थियो ।

परीक्षण बिनै तरकारी तथा फलफूल नेपालमा प्रवेश पाउनु पर्ने अडान भारतको थियो भने विषादी परीक्षण अनिवार्य गर्ने पक्षमा नेपाल थियो ।

तत्कालका लागि उपलब्ध पूर्वाधारबाटै विषादी परीक्षण थालेको नेपालले बिवादको स्थायी समाधानका लागि खाद्य सुरक्षा र गुणस्तरमा दुई देशबीच मान्य हुने विकल्पको रुपमा यो सम्झौता प्रक्रिया अघि बढाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment