
८ साउन, काठमाडौं । बोरिस जोन्सन ब्रिटेनको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । ब्रेक्जिट विवादका कारण टेरिजा मेले पद त्यागेपछि बोरिसले बुधबार ब्रिटेनको सत्ता सम्हाल्दै छन् ।
सत्ताधारी कन्जर्भेटिभ पाटीको नेताको लागि भएको चुनावमा बोरिसको प्रतिस्पर्धा जेरेमी हन्टसँग भएको थियो । अन्ततः यो प्रतिस्पर्धामा बोरिस सफल भए ।
प्रधानमन्त्रीको बागडोर सम्हाल्न लागेका बोरिसको जीवन उतारचढावले भरिएको छ । उनको जीवनमा घटित कतिपय घटना निकै रोचक छन् ।
लभ अफेयर लुकाउँदा कारबाही
रोचक त के छ भने सन् २००४ मा उनलाई कन्जर्भेटिभ पार्टीबाट निस्कासित गरिएको थियो । लभ अफेयरलाई लुकाएको आरोपमा उनलाई कारबाही गरिएको थियो ।
यस्ता धेरै कुराहरु छन् जसका कारण बोरिस बेला बेला विवाद र चर्चामा आउँछन् ।
बोरिस पत्रकार, सांसद, मेयर, विदेशमन्त्री हुँदै प्रधानमन्त्री बन्न सफल भए । उनी पटक–पटक विवादमा मुछिएर चर्चामा आउँछन् ।
उनलाई नजिकबाट चिन्नेहरु भन्छन्– विभिन्न व्यक्तिहरुसँग भेटघाट, गफगाफ गर्न उनी रुचाउँछन् । त्यसैले मानिसहरु बोरिसलाई मन पराउँछन् । मानिसहरुले उनलाई मन पराउनुको अर्को कारण तेज दिमाग र मेहनत पनि हो ।
उनी न्यूयोर्कमा जन्मिएका थिए । पछि ब्रिटेनमा बस्न थाले । उनकोबारे पहिलेदेखि नै भन्ने गरिन्थ्यो उनमा प्रधानमन्त्री बन्ने आकांक्षा छ । यो सोचलाई उनले सत्य सावित गरेर देखाए ।
कन्जर्भेटिभ पार्टीका धेरैलाई लाग्छ कि उनले धेरै समस्या समाधान गर्न सक्छन् । ब्रेक्जिट क्याम्पेनको क्रममा उनको सभामा मानिसहरुको उल्लेख्य भीड लाग्थ्यो ।
रमाइलो पाराको भाषण र हेयर स्टाइल
लण्डनको मेयर बनिसकेका बोरिस जोनसनको हेयर स्टाइलको चर्चा हुन्छ । सार्वजनिक समारोहहरुमा पनि उनी कपाल नकोरी सहभागी हुन्छन् ।
बोरिस जोनसन रमाइलो पाराको भाषणका लागि चर्चित छन् । उनले ब्रिटेनलाई युरोपेली युनियनबाट अलग हुने अभियानको प्रतिनिधित्व गरेका थिए ।
उनी दक्षिणपन्थी विचारधारामा झुकाव राख्ने नेताको रूपमा चिनिन्छन् ।
सन् २००४ मा उनले एक पत्रिकामा छापिएको एक लेखका कारण लिभरपुलका जनतासँग माफी माग्नु परेको थियो । त्यस लेखमा इराकमा बन्धन बनाइएका ब्रिटिस नागरिक केन बिगलेको हत्यामा लिभरपुलका जनताले जनाएको प्रतिक्रियाप्रति उनले कडा आलोचना गरेका थिए ।
साइकलका सौखिन
बोरिस दुईपटक लण्डनको मेयर बनिसकेका छन् । सन् २००८ मा उनी पहिलो पटक मेयर बने । मेयर बन्नासाथ उनले सार्वजनिक गाडीहरुमा मदिरा ढुवानी गर्न रोक लगाएका थिए ।
उनी साइकलका सौखिन हुन् । उनले लण्डनमा साइकल भाडामा दिनेहरुका लागि स्किम ल्याएका थिए, जुन निकै चर्चित पनि बन्यो । त्यसलाई बोलीचालीको भाषामा ‘बोरिस बाइक्स’ भनिन थाल्यो ।
उनी साइकल चढेर हिँडेका तस्वीर बेला बेला भाइरल हुन्छन् ।
भारतसँग सम्बन्ध
बोरिस भारतसँग राजनीतिक मात्र होइन, निजी नाता सम्बन्ध पनि छ । टाइम्स अफ इन्डियाका अनुसार उनले छोडपत्र गरेकी पत्नी मरिना व्हिलर क्युसीको भारतीयसँग सम्बन्ध छ । मरिनाकी आमा भारतीय मूलकी हुन् । उनको नाम दीप व्हीलर हो । उनी शिख परिवारकी हुन् । उनको पति चार्ल्स व्हीलर पत्रकार थिए ।
५४ वर्षीय मरिनासँग बोरिस गत वर्ष सेप्टेम्बरमा अलग भएका थिए । उनीहरु २५ वर्षसम्म सँगै रहे । त्यसक्रममा बोरिस धेरै पटक भारत आउने–जाने गरे । भारतको दिल्ली र मुम्बइमा उनी बस्ने गर्दथे ।
दिवंगत पत्रकार तथा लेखक खुशवन्त सिंहका छोरा राहुल सिंहले टाइम्स अफ इन्डियासँग भनेका छन्, ‘भारतसँग बोरिसकोजस्तो सम्बन्ध ब्रिटेनका अरु प्रधानमन्त्रीको छजस्तो मलाई लाग्दैन ।’
प्रतिक्रिया 4