+
+

नगरप्रमुखविरुद्ध चक्काजाममा उत्रिएका दुई वडाध्यक्षसहित छ पक्राउ

रासस रासस
२०७६ साउन ८ गते ११:२६

८ साउन, खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईविरुद्ध चक्काजाममा उत्रिएका दुई वडाध्यक्षसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गत असार ३१ गते आयोजित नगरसभाप्रति असन्तुष्टि जनाउँदै चरणबद्ध आन्दोलनमा उत्रिएका उनीहरुले बुधबार बिहान चक्काजाम गर्न खोजेका थिए । चक्काजाममा सहभागी वडा नं ५ दुर्छिमका वडाध्यक्ष रमेश तिवारी, वडा नं ७ का वडाध्यक्ष चइन्द्र राई र सोही वडाका वडासदस्य नीरजमानसिं बस्नेतसहित छ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुसँगै चक्काजाममा बसेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हलेसी नगर समितिका कार्यालय सदस्य प्रमोद श्रेष्ठ, नगर समितिकै सचिवालय सदस्य सर्वधन बस्नेत र महादेवस्थान वडासमिति सचिव धनकुमार भुजेललाई प्रहरीले पक्राउ गरेको छ । चक्काजाम गराउन बसेका वडाध्यक्षसहित छ नेकपाका कार्यकर्ता पक्राउ परेपछि अहिले दिक्तेल–हलेसी सडकखण्ड तनावग्रस्त बनेको छ ।

नगरप्रमुख राईले नेकपाबाट निर्वाचित चार वडाध्यक्षको मागलाई बेवास्ता गर्दै एकलौटी ढङ्गले नगरसभा गरेको भन्दै विरोधमा उत्रिएका उनीहरुले एक घण्टाका लागि बिहान छ बजेदेखि चक्काजाम गरेका थिए । चार वडाध्यक्षसहित २६ जनप्रतिनिधि, नेकपानिकट कार्यकर्ता र स्थानीयवासीले हिजो नाराजुलुससहित एक घण्टा दुर्छिमस्थित नगरपालिकाको कार्यालयमा धर्ना दिएका थिए ।

सडकमा अवरोध पुर्याएकाले चक्काजामको नेतृत्व गर्ने दुई वडाध्यक्षसहित छ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिए ।

‘पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय हलेसीमा राखिएको छ’, उनले भने, ‘उनीहरुका बारेमा के गर्ने भन्ने बारेमा सुरक्षा समितिको बैठक बसेर निर्णय गर्ने तयारी गरिएको छ ।’

नेकपाबाट निर्वाचित चार वडाध्यक्षले आर्थिक वर्ष २०७४–७५ को महालेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न, आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रगति समीक्षा गर्न, एकमुष्टमा बजेट विनियोजन गर्ने परिपाटी अन्त्य गर्नलगायतका माग राख्दै आएका छन् ।

नगरप्रमुखदेखि रुष्ट बनेका उनीहरुले सम्बन्धित वडाको जनप्रतिनिधिलाई थाहै नदिई कतिपय योजनाको उपभोक्ता समिति गठन गरिएको, हालसम्मको आन्तरिक राजश्व चुस्तदुरुस्त नदेखाइएको, योजनालाई कार्यकर्ता लक्षित गरिएको लगायतका आरोप लगाएका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?