Comments Add Comment

अरुण थापासँग जोगले भएको भेट

विक्रम गुरुङको त्यो गीत, जुन अरुण थापालाई दिन पाएनन्

८ साउन, काठमाडौं । ‘ए है, आज अरुणको स्मृति दिवस नि !’ निद्राबाट हठात् ब्युझिए झैं गरी विक्रम गुरुङले सम्झिए । त्यसपछि अरुले सुन्छ कि जसरी सुस्केरा हाले, ‘आज २० वर्ष भइसकेछ ऊ बितेको पनि ।’

हङकङमा गृहस्थी जीवन बिताइरहेका गुरुङ केही दिनयता काठमाडौंका पाहुना बनेका छन् । नेपालयको वाताअनुकुलित कोठामा गफिँदै गर्दा उनी एकाएक अरुणलाई सम्झन पुगे ।

अरुण थापालाई ‘गायकी’को नाम दिने गीत उनै विक्रम गुरुङको हृदयमा फुरेको थियो । गीत थियो, ‘कतै टाढा तिमीबाट पुगें भने…’ । त्यसपछि उनले अरुणकै लागि दुई वटा गीत फुराए, ‘आँखाको निद खोसिलाने’ र ‘भुलु भुलु लाग्यो मलाई सपनीमा’ ।

पहिलो गीत अरुणको सांगीतिक जीवनको प्रवेश विन्दु थियो भने बाँकी दुई गीत चिनारी । तर दुई जनाको सहयात्रा त्यहाँभन्दा अगाडि बढेन । अरुण यहीँ बिलाए, विक्रम कतै हराए । सुनौलो भविश्य पछ्याउँदै विक्रम गुरुङ त्रिभुवन विमानस्थलको धावनमार्ग छाडिरहँदा अरुण थापा कुनै स्टुडियो वा मञ्चमा गुञ्जिरहेका हुँदो हो । त्यसपछिका लामो समय उनीहरुको संगत टुट्यो । गुरुङ शिक्षक बनेर ब्रिटिश गोर्खाका लालाबाला पढाउन थाले । उनी उतै जमे ।

अरुण खोज्दै काठमाडौं

हङकङमै छँदा उनले अरुणका लागि थप दुई गीत लेखे । धून तयार गरे । अनि काठमाडौं फर्किए । तर, त्यसबेला अरुण गुमनाम थिए । अरुणको सूर खै कता बरालियो ? उनले भेउ पाएनन् । सोधीखोजी गर्दै जाँदा नेपथ्यका अमृत गुरुङ, नमस्ते ब्यान्डका ईश्वर गुरुङ, अम्बर गुरुङलगायतले उनलाई अरुण थापाकहाँ पुर्‍याए । तर, यतिबेला उनको हाल बेहाल थियो ।

उनीहरुले अरुणलाई भोटेबहाल पुर्‍याए, बसोबासको बन्दोबस्तीसहित । तर त्यहाँ राम्रो भएन । अनि पुनः बागबजारको एक गेष्ट हाउसमा ल्याइयो । उनी अझै बाँच्न चाहन्थे, गाउन चाहन्थे । उनको शरीरले भने त्यो सामर्थ्य गुमाइसकेको थियो । अरुणका लागि भनेर ल्याएको गीत गुरुङले चुपचाप खल्तीमै हाले ।

‘एक युगपछि’ र ‘जति माया तिम्रो लाग्छ’ बोलका दुवै गीत विक्रमले कहिल्यै, कसैलाई दिएनन् । आफूले पनि गाएनन् । ‘म खासमा गायक पनि होइन,’ उनले अलि ठट्यौली शैलीमा भने, ‘यसो बेलाबखत साथीभाइसँग बस्दा गाउने मात्र हो ।’

नेपथ्यका अमृत गुरुङ, नमस्तेका ईश्वर गुरुङलगायतले अरुणको रेखदेख गरिरहेकै थिए । अरुणको भाइ किरण थापालाई जिम्मा लगाएर उनी हङकङ फर्किए । लगत्तैको एक साँझ उनले अप्रिय खबर सुने, ‘ल, अरुण हिँड्यो आज ।’

खबर सुनाउने अरुणकै भाइ थिए, किरण । उनलाई पनि थाहा थियो, अरुण धेरै बाँच्दैनन् ।

किनकी त्यसअघि पनि अरुणलाई उनले निकै खराब अवस्थामा भेटेका थिए । नमस्ते स्टुडियो अघिल्तिर अरुण टुक्रुक्क बसेका थिए । ज्यान सुकेको थियो र अनुहार फुङ्ग उडेको थियो । गुरुङले सुरुमा त ठम्याएनन् पनि । नजिक गएर हेरेपछि थाहा पाए, उनी त आफ्नै लगौटिया यार अरुण हुन् । ‘कस्तो चिन्नै नसक्ने भएको’ गुरुङ अतितमा फर्किए, ‘नजिक गएर हेर्दा अरुण पो रहेछ ।’

कस्ता थिए अरुण, कस्ता भए ? कति छोटो अवधीमा कति धेरै उतारचढाव ? सम्झी ल्याउँदा उनको मन यसै कँुडिन्छ ।

अरुण थापासँग विक्रम गुरुङको दोस्ती लामो थिएन । छोटो सही, अर्थपूर्ण रह्यो । त्यो छोटो, तर मिठो संगतको झंकार भने यो उत्तरार्धमा पनि उसैगरी तरंगित छ ।

जोगले हुन्छ भेट

स्मृतिको फेरो समातेर विक्रम गुरुङ ती बैंशालु दिनहरुमा फर्किए, जतिबेला पोखरामा सांगीतिक युवाहरु गोलबद्ध हुँदै थिए । तीसको दशक । गुल्जार समय ।

फेवाताल नजिक तामागी गाउँमा जन्मिएका, भारतको देहरादुनमा हुर्किएका र पोखरामा बैंश साट्न आइपुगेका थिए, बिक्रम गुरुङ ।

कोलकत्तामा जन्मिएका, काठमाडौंमा हुर्किएका र पोखरामा बैंश साट्न आइपुगेका थिए, अरुण थापा ।

अरुण थापा

यसरी कुन मोड र कुइनेटो हुँदै दुवै एकै ठाउँमा हुत्तिदै आइपुगे । विक्रम गुरुङका पिता भारतीय आर्मी । आफूसँगै उनले छोरोलाई पनि डोहोर्‍याउँदै लगे । विक्रमले देहरादुनमै किन्डरगार्डेनमा पढे । पढाइकै सिलसिलामा पोखरा फर्किए ।

यता अरुण थापाका पिता गुञ्ज थापा तत्कालीन भारतीय महावाणिज्य दूतका सहयोगमा नेपाल राष्ट्र बैंकका जागिरे भएर काठमाडौं आए । सानो उमेरमा छोरालाई काठमाडौंकै विद्यालयमा पढाए । काठमाडौंमा प्राथमिक तहको पढाइपछि दार्जिलिङको टर्नबुल हाइस्कुलमा भर्ना गरिदिए । अनि पोखरा पुर्‍याए किनकी पिता गुञ्ज बैंक लिमिटेडको क्षेत्रीय महाप्रवन्धक भएर पोखरा पुगेका थिए ।

त्यसबेला अरुणको आफ्नै गीत थिएन । बेलामौकामा हिन्दी, नेपाली गीतहरु गाउँथे । पिता गुञ्ज पनि संगीतप्रेमी, तबला बजाउँथे । आफू बस्ने क्वाटरमा यदाकदा सांगीतिक माहौल जम्थ्यो । ‘एउटा केटो छ मिठो गाउने भनेर हल्ला चलेको थियो,’ गुरुङ सम्झन्छन्, ‘त्यसबेला पोखरा कत्ति नै ठूलो थियो र !’

अरुणसँग उनको भेट भयो । दोस्ती जम्यो । गुरुङ पनि गीत–संगीतमा उत्सुक । गाउनभन्दा पनि लेख्न र धून भर्नमा । उनले लेखेका र धून भरेका केही गीत चर्चित भए । ती गीत या त अरुण थापाले गाए या नेपथ्य ब्यान्डले ।

त्यही बेला हो, सरुभक्त, सरोजगोपाल बज्राचार्य, विनोद गौचन, विश्वशंखर पालिखे आदि मिलेर पोखरेली युवा सांस्कृतिक परिवार खोलेका । यही समूहमा सम्मिलित थिए, अरुण थापा पनि । कुरा २०३४ सालको हो । त्यही बखत विक्रम गुरुङले लेखेको गीत गाएर अरुण थापाले औपचारिक सांगीतिक यात्रा सुरु गरे ।

त्यो बैंशालु उमेर थियो । जीवन रंगीन थियो । पढाइका साथसाथै गाउने, बजाउने गर्थे । तर, यो माहौल धेरै लामो समयसम्म जारी रहेन । अरुण आफ्ना जागिरे पिताको पछि लागेर काठमाडौं फर्किए । विक्रम अन्नपूर्ण सांगीतिक समूहमा आवद्ध भए । कोही कता, कोही कता लाखापाखा लागे । विक्रम पनि काठमाडौं आए । कीर्तिपुरमा डेरा जमाए । त्रिभुवन विश्वविद्यालयमा पढ्न थाले ।

पढाइ र करियरको दौडमा साथीसंगी छुट्यो, संगीत छुट्यो । उनी अलग्गिए ।

लाहुर होइन मास्टरी

विक्रम गुरुङ पूर्णकालीन मास्टर भए । त्यो पनि संयोगले । पोखराको एक विद्यालयमा पुग्दा पढाउने जाँगर चल्यो । पढाउन थाले । त्यसपछि यही कर्म जीवनको लय बन्यो ।

पिता भारतीय आर्मीमा । काका ब्रिटिश आर्मीमा । लाहुरे पृष्ठभूमिमा हुर्किएका उनलाई भने लाहुरे बन्ने जोश कहिल्यै चलेन । न आफ्ना बाबुबाजेले दबाव दिए । बरु पिता भन्थे, ‘लाहुरे नबन्नू, लेखपढ गर्नू ।’ सायद लाहुरे बनेर विदेशी भूमिमा पसिना चुहाउँदाको मूल्य उनले बुझेका थिए ।

गुरुङका पितामा शिक्षा चेत थियो, हजुरबुवामा पनि । यही कारण लेखपढ उनको बढी बढ्यो । राम्ररी पढे । पढेर अरुलाई पढाउने भए । ठीक त्यही बखत बेलायती सेनामा कार्यरत नेपालीका छोराछोरी पढाउने शिक्षकको माग भयो । यो खबर उनलाई साथी रत्नमान गुरुङले दिए । बालबच्चालाई पढाउन जान्ने, संगीतको पनि सामान्य ज्ञान भएको शिक्षक । हङकङमा त्यसबेला बेलायतको साम्राज्य नै थियो । त्यहीँ गएर पढाउनुपर्ने । अवसर काइदाको थियो ।

उनले आवेदन दिए । बेलायती दूतावासले अन्तर्वार्ताका लागि बोलाए । उनी छनौट भए । यो सन् १९८१ को कुरा हो ।

हङकङमा ब्रिटिश आर्मीको क्याम्प, जो उनलाई सानो नेपाल झैं लाग्थ्यो । आर्मीमा कार्यरत तिनै नेपालीका छोराछोरीलाई नेपाली पाठ्यक्रम पढाउनु पर्ने, सेकङ गोर्खा चिल्ड्रेन स्कुलमा । त्यसपछि ब्रुनाईको ‘सेरिया गोर्खा चिल्ड्रेन स्कुल’मा पढाए । त्यहाँ उनी लामो समय टिकेनन्, हङकङ फर्किए । हङकङमा ‘तामे गोर्खा चिल्ड्रेन स्कुल’मा पढाए, त्यसपछि ‘सेकङ गोर्खा’मा, हङकङकै ब्रिटिश काउन्सिल र एक जापानी स्कुलमा । पढाउँदा पढाउँदै उनको कपाल फुल्यो ।

अहिले उनले त्यहीको शिक्षणसम्बन्धी एक विशेष कोर्स गरेका छन् र पठनपाठनमै लीन छन् ।

बेलाबखत उनी नेपाल फर्कन्छन् । जन्मथलो तामागी गाउँ पुग्छन् । तर गाउँ शून्य छ । बालसखा छैनन् । दौंतरी छैनन् । ‘कति शहरतिर पसे, कति विदेश पुगे’ गुरुङ भन्छन् ।

यद्यपि हरेक पटक नेपाल आउँदा उनी पोखरा पुग्छन् । पोखरा पुगेपछि जन्मथलो पुग्छन् । पञ्चासेलगायतका ठाउँहरुमा पुग्छन् । उही पोखरेली साथीसंगीसँग । अहिलेचाहिँ उनी नेपालयको पलेंटी श्रृंखलाको लागि काठमाडौंमा छन् । आगामी शुक्रबार उनी आर शालामा गुञ्जनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment