Comments Add Comment

पर्सामा बाढी : १६२ घरमा पूर्ण क्षति, चार हजार बढी प्रभावित

Photo Credit : अनलाइनखबर फाइल

८ साउन, वीरगञ्ज । अविरल वर्षपछि आएको बाढीले पर्सामा १६२ घरमा पूर्णरुपमा क्षति पुर्‍याएको छ । ३९१ घरमा आंशिक क्षति भएको छ । बाढीबाट ६७७ घरपरिवार प्रभावित भएका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिले संकलन गरेको पछिल्लो तथ्याङकअनुसार बाढीले चार हजार ३५० जना प्रभावित भएका छन् ।

बाढीले बासस्थानमा पुगेको क्षतिलाई मूल्याङ्कन गर्दा २ करोड ३० लाख ८१ हजार मूल्य बराबरको क्षति भएको अनुमान गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं पर्साका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले जानकारी दिए ।

त्यसै गरी जीवीकोपार्जनतर्फ १० लाख ९ हजार ३ सय रुपैयाँ बराबरको क्षति भएको छ । स्वास्थ्य क्षेत्रमा ४० हजार मूल्य बराबरको क्षति भएको छ ।

स्वास्थ्य क्षेत्रमा वीरगञ्ज महानगरपालिका-११ मा २० हजार र कालिकामाई गाउँपालिकामा २० हजार मूल्य बराबरको क्षति भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

जिल्लामा सबैभन्दा बढी क्षति वीरगञ्ज महानगरपालिका, पोखरीया नगरपालिका, छिपहरमाई र जगरनाथपुर गाउँपालिकामा पुर्‍याएको छ ।

वीरगञ्ज महानगरभित्र ४९ घरधुरी, पोखरीयामा ४९, छिपहरमाई र जगरनाथपुरमा क्रमशः २६ र १८ घरधुरीमा पूर्ण क्षति भएको छ ।

क्षतिको प्रारम्भिक विवरण संकलन गरिसकिएको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।

‘क्षतिको आंकलन गर्न बनाइएको मापदण्ड अनुसार नै समिति बनाएका थियौं, जिल्ला प्रहरी कार्यालय, नेपाल रेडक्रस सोसाईटी र वडा अध्यक्षसहितको समतिले घर घर पुगेर क्षतिको विवरण संकलन गरेको हो,’ उनले भने, ‘केही छुटेको हुन सक्छ, त्यसमा सच्याउने काम हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment