Comments Add Comment

छापामा आज : विप्लवप्रति दोहोरो नीति, नियन्त्रण पनि वार्ता पनि

९ साउन, काठमाडौं । बाढी–पहिरो र राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको मौद्रिक नीति आजका सबैजसो दैनिक पत्रिकाहरूको ‘हेडलाइन’ बनेको छ । यसबाहेक स्मार्ट लाइसेन्स, विद्युत् निर्यात, कालोसूचीले नेपाल वायु सेवा निगमलाई पारेको असरलगायत विषय पनि पत्रपत्रिकाहरूले उठाएका छन् ।

जलमग्न जलेश्वरको तस्वीर छापेको अन्नपूर्णले नेपाल वायु सेवा निगमलाई परेको असजिलोबारे मुख्य समाचार बनाएको छ । निगमका दुईवटा वाइडबडी युरोपियन युनियनको कालोसूचीको मारमा परेको समाचारको सार छ ।

समाचार अनुसार कालोसूचीबाट नहटाउँदा वाइडबडीले पूर्ण क्षमतामा उडान गर्न सकेका छैनन् । यसले निगमलाई करिब २ अर्ब घाटा भइसकेको छ ।
युरोपियन युनियनले नेपालका कुनै पनि जहाजलाई आफ्नो क्षेत्रमा उडान भर्न निषेध गरेका छन् । यसको सिको गर्दै अन्य मुलुकले पनि कालोसूचीमा राखेका छन् ।

बुधबार सार्वजनिक मौद्रिक नीतिबारे पनि अन्नपूर्णले प्राथमिकतापूर्वक समेटेको छ । अन्नपूर्णका अनुसार मौद्रिक नीति कर्जा विस्तारमा लचिलो छ । लगानीयोग्य कर्जाको आपूर्ति बढाउने र व्याजदरमा हस्तक्षेप गर्न खोजेको छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमा ल्याइएका व्यवस्था हुबहु कार्यान्वयन भए ऋणको व्याजदर सस्तिने कान्तिपुरको ठम्याइ छ ।

गुल्मीको सत्यवती गाउँपालिकामा गएको पहिरोबाट पीडित बनेकाको कथा पनि कान्तिपुरमा पढ्न सकिन्छ । मंगलबार यहाँ गएको पहिरोले ९ जनाको ज्यान गएको थियो भने केही घाइते छन् ।

बाल विवाह रोक्न अभियान चलाउने बाल अभियन्ता आफैंले विवाह गरेको अर्को रोचक खबर पनि कान्तिपुरमा छ । नेपालगञ्ज उपमहानगरपालिका २० स्थित बालविवाहविरुद्ध वडास्तरीय क्लबका अध्यक्ष गोविन्द विकले संस्थाकी सचिव गीता थापासँग विवाह गरेका हुन् । कान्तिपुरका अनुसार दुवैको उमेर १७ वर्ष छ ।

मद्रास सेक्युरिटी प्रिन्टर्स (एमएसपी) ले स्मार्ट लाइसेन्स छपाइमा गरेको लापरवाहीमाथि नागरिकको नजर परेको छ । नागरिकका अनुसार लाइसेन्स छपाइका लागि प्रयोग हुने लेजर बेस्ड मास प्रिन्टर सर्तबमोजिम तोकिएको समयमा उपलब्ध नगराएर सरकारलाई फेरि यसले धोका दिएको छ ।

एमएसपीले मास प्रिन्टर खरिदका लागि ठेक्का सम्झौता भएको ६० दिन अर्थात् असार २९ भित्र प्रिन्टर आपूर्ति गरिसक्नुपथ्र्यो । तर, त्यसो नभएको समाचारमा उल्लेख छ ।

राजधानीले सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग वार्ता र नियन्त्रण दुवै नीति अख्तियार गर्दै अघि बढेको निष्कर्ष निकालेको छ । मुलुकको विखण्डनको माग गर्दै आएका सीके राउतलाई समेत पहिले नियन्त्रण र पछि वार्ताको नीतिबाट नै राजनीतिक मूलधारमा ल्याउन सफल भएको निष्कर्षसहित सरकारले विप्लव समूहलाई समेत सोही नीतिबाट भए पनि मूलधारमा ल्याउन सकिने निष्कर्ष निकालेको समाचारमा उल्लेख छ ।

गृहमन्त्री रामबहादुर थापा बादलले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा व्यक्त गरेको भनाइले पनि पनि राजधानीले यसैको संकेतका रुपमा प्रस्तुत गरेको छ ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment