Comments Add Comment

सरकार निर्मलाको अनुसन्धान गर्नेतिर गएन

सुरुवाल ख्वाल ख्वाल पखालेपछि कहाँबाट डीएनए आउँछ ?

निर्मला पन्तका विषयमा कुरा गर्दा चाहे रिसाउन् या खुसाउन्, म डराउनेवाला छैन । उजुरी गर्ने निर्मलाकी आमालाई सुविधा मात्र किन दिइरहेको छ सरकारले ? १८ लाख रुपैयाँ दिन्छ, नोकरी दिन्छ, फकाइराखेको छ । यो अनुसन्धान गर्ने नियत होइन । अनुसन्धान गरेर जस्ताको त्यस्तै प्रमाण ल्याउने यो नियत होइन । उजुरी गर्नेलाई दबाउने, फकाउने कामचाहिँ भइरहेको छ । देशमा यसको दूरगामी दुश्प्रभाव पर्छ ।

निर्मलाको काण्ड पर्दाफास नभएपछि अहिले अपराधीहरुको मनोबल बढेको छ । निर्मला पन्त एकजना गरिबकी छोरी थिइन् । नेपालमा धेरै मानिसहरु यस्तै भोकानाङ्गा छन् । त्यसैले अब यसको दुश्परिणाम कहीँ न कहीँ भोग्नपर्छ । एकदमै भोग्नपर्छ । एउटा गरीबकी छोरीले के गर्न सकोस् । निर्मला पन्त निरीह प्राणी परिन् । दुईवटा स्वास्नी भएको घर । न कमाउने लोग्ने । त्यस्तो गरीबको घर पर्‍यो । भोकभोकै परिवार पर्‍यो ।

मलाई त दोषी पत्ता लाग्छ जस्तो लाग्दैन । अपराध गर्नेले हजुर मैले गरें भन्दैन । हजुर म हुँ अपराधी भनेर कोही आउँदैन । अब प्रश्नचाहिँ के उठ्यो भन्दाखेरिसरकार अनुसन्धान गर्नेतिर गएन, धम्क्याएर हुन्छ कि, पैसा दिएर हुन्छ कि, नोकरी दिएर हुन्छ, त्यो हामीले त देखिराखेका छौं नि । मान्छेलाई पागल, सडक छाप, ड्रगिस्टलाई उठाएर ल्याएर देखाउने, यो त तरिकै हो नि । त्यसैले मलाई त पत्ता लाग्छ भन्ने लाग्दैन ।

तर, केही समयमात्रै हो । जब अलिकति त्यस्तै मान्छेको कठालोमा हात परिसकेपछि त्यो त कहाँ छोड्छन् र । सडकमा आइहाल्छन् नि । तर, त्यस्ताका हातमा पर्छ, अनि त्यसले अपराध गर्नेको हात भाँचिदिन्छ, खुट्टा भाँचिदिन्छ ।

यो घटनाको पर्दाफास भएर, यो कुरा खुलेको भए, मान्छे सजायँ पाएर कैदमा बसेको भए राम्रो हुन्थ्यो । राज्यले पनि गर्‍यो भन्ने हुन्थ्यो । तर, यसरी ढाकछोप गर्ने नीतितिर जाने काम भयो । कसले गर्‍यो, हामी भन्न सक्दैनौं । तर, सानै भए पनि ठूलै भए पनि ढाकछोप गर्दैगर्दै जे गरियो नि, यसले कहिलेकाँही कस्तोसम्म हुन्छ भने म एउटा स्टोरी सुनाउँछु-

बिराटनगरमा कुनैबेला म आफ्ना मित्र जेलमा परेका बेला भेट्न जाँदा त्यहाँ एकजना पुलिस पनि जेलमा परेका रहेछन् । मैले सोधें- तपाई पनि जेलमा ? उनले अँ-अँ भने ।
तपाई के भएर जेल पर्नुभयो त भन्दा मेरा मित्रले भन्नुभयो, उहाँले त आफ्नो अपराध सबै कबुल गर्नुभएको छ, तपाई त वकिल हो, उहाँलाई कसरी छुटकारा दिलाउनुहुन्छ, तपाईले यो केस हेरिदिनुपर्‍यो भन्नुभयो । मैले सोधें, तपाई पुलिस भएर केही अपराध गरेको थिएन भने कसरी साबित हुनुभयो त ?

उनले भने, मलाई बेस्सरी कुटे हजुर । कुटेपछि म साविती वयान गर्न बाध्य भएँ ।

अरुबेला उनले अरुलाई कुटेर वयान गराउँथे, पछि आफैं कुटाइ खाएर साविति वयान गरेछन् । यस्तो पनि हुन सक्छ क्या ! यस्तो दिन पनि आउन सक्छ ।

डीएनएका सम्बन्धमा

निर्मला पन्तको मिल्ने गरी प्रमाण लिएको भए पो आउँछ त । जो-जोसँग डीएनए मिलेन, अब मिलेन भने त मिलेन । सकियो । नमिलेकालाई दोषी त बनाउन भएन । तर, आजको भोलिपल्टै शव भेटिँदाखेरि, प्रमाणहरु सबै भेटिँदाखेरि पनि जम्मै सुरुवाल ख्वाल- ख्वाल पखालेपछि त कहाँबाट डीएनए आउँछ ?

जहाँसम्म डीएनएको सैद्धान्तिक विषय छ, सिंगल डीएनएमात्रै प्रमाणचाहिँ हुँदैन । जस्तो- हाम्रो नेपालकै सन्दर्भलाई हेर्ने हो भने सर्वोच्चमा प्रकाश वस्तीजीहरुले गर्नुभएको एउटा फैसला छ । बाबुले राजीनामा पास इत्यादि गर्दा, नागरिकता बनाउँदाखेरि मेरै छोरो हो भनेर मर्नेबेलामा बोलिसकेको छ भने त्यसमा फेरि के डीएनए जाँच्नुपर्‍यो ? जसको सम्पत्ति खानुपर्ने हो, उसले मेरो छोरो हो भनेर कागजै लेखेर दियो भने पछि मेरो छोरो हैन भन्न पाइन्छ र ?

तर, डीएनए मिल्यो भन्दैमा पनि हुँदैन फेरि । डीएनएलाई पनि अन्य प्रमाणहरुले समर्थित गर्नुपर्छ । अन्य प्रमाणहरुबाट समर्थित भएको हुनुपर्छ । डीएनए मिल्दैमा पनि हुँदैन । डीएनए वैज्ञानिक प्रमाणचाहिँ हो फेरि । तर, सिंग एउटा डीएनएलाई मात्रै लिएर अदालत भर पर्दैन, डीएनए पुष्टि हुनलाई अरु प्रमाण पनि खोज्छ ।

डीएनए वैज्ञानिक रुपबाट चाहिँ आधिकारिक हुन्छ । तर, कहिलेकाँही डीएनए नमिल्न सक्छ ।

अमेरिकामा एउटा घटना के भयो भने एक श्रीमान-श्रीमतीका तीन छोरी भए । एउटा बच्ची बिरामी भएर जाँच्दाखेरि बाबुसँग डीएनए मिलेन । जबकि बाबुले सबैभन्दा बढी माया गरेकी छोरी नै त्यही थिई । तर, बाबुले इन्कार गरेनन् । डीएनए नमिले पनि उनले यो मेरै बच्ची हो भने । किनभने, उनले अति माया गरेकी छोरी थिइन् ती ।

डीएनएका आफ्ना विविध पक्षहरु छन् । डीएनए टेस्ट गर्नलाई जुन स्याम्पलहरु लिइन्छ, त्यसमा कहिलेकाँही चलखेल भइदिन्छ । कहिलेकाँही जाँच्नेहरुले पनि चलखेल गरिदिन सक्छन् । कहिलेकाँही चाहिँ डीएनए ठ्याक्कै नमिल्न सक्छ । यसका विविध कारणहरु हुन्छन् । पुरानो भयो भने, स्याम्पललाई कसैले छेडखानी गरेको रहेछ भने, त्यस्तो अवस्थामा नमिल्न सक्छ ।

जस्तो हाम्रो रोनास्टमा जाँच्नलाई गैंडाको खाग पठाएको थियो भन्छ तर रोनास्टले भैंसीको सिङ हो भनेर लेखिदियो । यस्तो यस्तो पनि हुन्छन् क्या चलखेलहरु कहिलेकाहीँ । कहिलेकाहीँ स्याम्पल लिँदा पनि गल्ती हुन सक्छन् । त्यस्तै कतिपय कुराहरुका कारण डीएनए नमिल्न पनि सक्छ ।

(कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment