Comments Add Comment

जबजलाई अंगालो हालिसक्यौं, बाँकी फैसला महाधिवेशनले गर्छ : बास्कोटा

Photo Credit : रासस

९ साउन, काठमाडौं । सञ्चारमन्त्री गोकुल बास्कोटाले नेकपाका नेता कार्यकर्ताले जनताको बहुदलीय जनवाद (जबज) अंगाल्न लाज मान्नु नपर्ने बताएका छन् ।

बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पार्टीको स्कुल विभागलाई लिएर प्रश्न आएपछि बास्कोटाले आफ्नो व्यक्तिगत धारणा राखेका हुन् ।

नेकपाले जबज स्वीकार गरिसकेको भन्दै बास्कोटाले यस्तो तर्क गरे, ‘तिम्रो आँखा मन पर्‍यो, हिँडाइ मन पर्‍यो, बोलीबचन र सोचाइ, अनि काम पनि मन पर्‍यो । तर तिमी चाहिँ मन परेन भन्यो भने त्यसको के अर्थ लाग्छ ? सबै कुरा मन पर्‍यो, विचारदेखि दृष्टिकोणसम्म भनेपछि तपाईहरु आफैं भन्नुस्, हामी कुन बाटोमा हिँडेका छौं ?’

नेकपा केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज समेत रहेका बास्कोटाले नेकपाको सिद्धान्त नै शान्तिपूर्ण प्रतिस्पर्धाको माध्यमबाट अघि बढ्ने र संविधानको सर्वोच्चता मान्ने भएको र पार्टी जीवनमा बहुदलीय जनवादकै अभ्यास गरिसकेपछि त्यसलाई अवलम्बन गर्न लाज मान्नु नपर्ने बताए । उनले भने, ‘पार्टी जीवनमा हामी सबै कुरा त्यही अप्लाई गर्ने, भन्न किन लाज मान्नुपर्ने ?’

उनले अघि भने, ‘अहिले यो बहसहरु पछि गरौं भन्ने भएको छ । यहाँबाट बाहिर जान खोज्यो भने लडिन्छ । नेपालको मूल बाटो भनेको लोकतन्त्र र प्रतिस्पर्धाको बाटो हो । जबजलाई अंगालो हालिसकेपछि लजाउनुपर्ने कुरा छैन । तर पनि यसमा छलफल भइरहेको छ, महाधिवेशनले फैसला गर्ने हो ।’

मदन भण्डारीका पालामा जनताको बहुदलीय जनवाद पारित गर्ने बेलामा पनि समाजमा ठूलो बहस र जनताको समेत राय लिइएको भन्दै महाधिवेशनमा यसबारे वृहत छलफल हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment