Comments Add Comment

खुलेर गरौं मनका कुरा 

यदि कुनै व्यक्तिले अरुको बारेमा कुरा गरेर बस्छ भने हामी त्यो व्यक्तिलाई काम नभएको मान्छे भन्ने गर्छौ । उ प्रतिको हाम्रो दृष्टिकोण नै फरक हुन्छ ।

हुन पनि आजको व्यस्त समयमा कसैको कुरा गरेर बस्नका लागि साच्चि नै फुर्सद नै हुनु पर्छ । किनभने अहिलेको व्यस्त जीवन शैलीमा मानिसलाई आफुसँग सम्बन्धित कुराहरु सुन्न र गर्न फुर्सद हुँदैन भने अरुको कुरा गरेर बस्ने बारेमा त सोच्न पनि सकिन्न ।

तर प्रख्यात समालोचक र नाटककार अस्कर वाइल्डका अनुसार कुनै पनि कुराका बारेमा चुप लागेर बस्नुभन्दा त्यसका बारेमा कुरा गर्नु राम्रो हुन्छ । अझ समाजमा त्यस्तो मानिसको कुरा गरिन्छ जो हरेक कुरामा सफल हुन्छ । हुन त कुरा त नराम्रोको नै बढि गरिन्छ, किन भने मानिसको स्वभाव नै अरुका नराम्रा, बिगि्रएका, नासिएको कुरा गर्न पाउदा रमाइलो लाग्ने हुन्छ । तर तपाईंलाई थाहा छ, त्यसरी कुरा गर्नुका अनेक फाइदाहरु छन् ।

सूचना दिने माध्यम

तरकारीको मृल्यदेखि बजारमा लागेका सामानहरुका सेलसम्मका सूचनाहरु कुराकानीबाट नै थाहा हुन्छ । आफ्ना बच्चाहरुका लागि राम्रो ट्युसनदेखि कहाँ राम्रो र सस्तो ड्राईक्लिनर छ, त्यो पनि कुराकानीको माध्यमबाट नै थाहा हुन्छ । यस्ता स-साना कुराको जानकारी हामीलाई छरछिमेक र साथीभाईसँग हुने कुराको माध्यमबाट थाहा हुन्छ । जसका कारण हामी राम्रो र सस्तो सामानको चयन सजिलै गर्न सक्छौ ।

नयाँ सम्बन्ध जोडिने सम्भावना

समय मिलाएर केहि क्षण कुराकानी गर्दा नयाँ सम्बन्ध बन्न सहयोग हुनुका साथै पुराना सम्बन्ध पनि सुदृढ हुने अवसर प्राप्त हुन्छ । कुराकानीको माध्यमले कहिलेकाहि तपाईले आफ्ना छोराछोरीका लागि वरवधुको जानकारी पनि प्राप्त गर्न सक्नु हुन्छ । बाटोमा हिँड्दा चिनजान र आफन्तलाई हाई हेलो गर्दा तपाईको सम्बन्ध सुमधुर भैरहनुको साथै नयाँ कुराहरुको बारेमा पनि जानकारी प्राप्त हुन्छ ।

सद्भावनाको वाहक

कुराकानी गर्दा कहिल्यै पनि कुन जातको हो, कुन धर्म मान्छ, कुन ठाउँबाट आएको हो जस्ता कुराहरुलाई ध्यान दिने गरिदैन । न त साम्प्रदायिकताको बन्धनमा नै बाँधिएको हुन्छ । हरेक जात धर्मका मानिस साथ बसेर कुराकानी गर्छन् ।

जसले समाजलाई एकताको अनुभव गराउछ । यसले समाज मात्र नभएर देशको नै एकता र अखण्डतालाई सार्थकता र स्थायित्व प्राप्त हुन्छ । साथै हरेक जात धर्मले मनाउने चाडहरु दशै, तिहार, छठ, इद, लोसार र क्रिसमस जस्ता चाडहरु सबैले मनाउने मौका प्राप्त हुन्छ ।

 व्यक्तित्व विकास

कुराकानीले तपाईको व्यक्तित्वमा पनि विकास हुन्छ । अरुको व्यक्तित्वबाट प्रभावित भएर तपाईं स्वयंमा पनि बदलाव आउने गर्दछ । जब तपाई अरुसंग कुराकानी गर्नु हुन्छ, अरुको बारेमा धेरै कुरा थाहा पाउनु हुन्छ र तपाई पनि आफ्ना कमजोरीहरु हटाएर राम्रा कुराहरु सिक्न थाल्नु हुन्छ । जसले तपाईको व्यक्तित्वको विकास हुन्छ ।

कुराकानीको क्रममा को मानिसले के खान्छ, के लगाउँछदेखि उसको हरेक कुराहरुको बारेमा पनि थाहा हुन्छ, जसले तपाईलाई धेरै कुरा सिक्ने मौका प्राप्त हुन्छ । कुन लुगा तपाईलाई सुहाउँछ, अहिले कस्तो फेसन चलेको छ, आफ्ना बालबालिकाको पार्टीवेयर कस्तो हुनु पर्छ जस्ता कुराहरु पनि कुराकानीको माध्यमबाट सिक्न सकिन्छ ।

कुराकानीले आफुले नजानेको धेरै कुराका बारेमा जानकारी दिएर तपाईको घरपरिवारलाई सजाउने सिंगार्ने कलामा निखार ल्याउँछ । त्यस्तै बाहिरी मानिससंग कसरी बोल्ने र व्यवहार गर्ने पनि कुराकानीको माध्यमबाट थाहा पाउन सकिन्छ ।

ज्ञान प्राप्त हुन्छ

कुराकानीबाट ज्ञान पनि बढ्छ । गृहिणीहरुलाई कति कुराहरुको बारेमा थाहा हुँदैन र उनीहरु आफ्ना श्रीमान्संग समेत ती कुराहरुको बारेमा सोध्न हिच्किचाउने गर्दछन् । जसमध्ये यौनसम्बन्धको कुरा प्रमुख हो । वास्तवमा यौनका कुराहरु खुलेर गर्न नपाउँदा र त्यसको थोरै पनि ज्ञान नहुँदा ठुलो समस्या झेल्नु पर्छ ।

आफ्नो यौन समस्याको बारेमा चिकित्सकसंग पनि खुलेर भन्न नसक्ने गृहिणिलाई कुराकानीको माध्येमबाट आफ्नो समस्या बताउन सहज हुन्छ । जसका कारण आफुले थाहा नपाएका यौन र यसका समस्याहरुका बारेमा धेरै ज्ञानहरु प्राप्त हुन सहयोग पुग्छ । त्यस्तै कति युवती आफ्ना शरीरमा आएको परिवर्तनको कुरा अरु संग गर्न सक्दैनन्, तर आफ्ना साथीसंगिसँग सजिलै त्यस्ता कुरा शेयर गर्छन् र एकअर्काको अनुभवबाट धेरै कुराहरु थाहा पाउँछन् । अहिलेको युवाहरु यस्तो कैयौं बिषयको ज्ञान कुराकानीको माध्यमबाट नै हासिल गर्छन् ।

समाजमा पनि सकारात्मक परिवर्तन

समाजमा हुने कतिपय परिवर्तनहरु कुराकानीकै माध्यमबाट भैरहेका हुन्छन् । जस्तो टोल सफाई, बाटो बनाउने जस्ता अनेक कुराको प्रसंग तथा समाधान पनि कुराकानीबाटै हुन्छ । समाजमा गलत र सहि कुराको ज्ञान पनि कुराकानीबाट नै प्राप्त हुन्छ । समाजमा कुराकानीको क्रममा कति व्यवहारिक पक्षहरु पनि अवलम्बन हुन पुग्छ ।

वदमानको डर

प्रायः मानिसलाई कुरा गरेर बस्दा अन्य मानिसहरुले गलत सोच्ने हो कि भन्ने डर हुन्छ । धेरै मानिस आफु कुराकानीको विषय बन्ने हो कि भन्ने पनि सोच्छन् । तर आज कति मानिसको कुराकानी गर्ने कला समय बिताउने मात्र नभएर पेट पाल्ने माध्यम पनि भएको छ ।

हलिउड र बलिउडका सेलिब्रिटिहरुको गसिप लेखेर नै कतिले रोजगारी पाएका छन् । त्यस्तै निःशुल्क पब्लिसिटी पनि कुराकानीको माध्यबाट नै हुने गर्छ । त्यस्तै व्यापारीहरुलाई पनि गसिपका कारण धेरै फाइदा पुगेको छ । बजारमा आएका नयाँ सामानको बारेमा हुने कुराकानीका कारण मानिसले त्यो बारेमा थाहा पाउँछ र किन्न बजार जान्छ ।

त्यस्तै रेष्टुरेन्टको खानाको बारेमा कुराकानी भए पछि अरु पनि त्यहाँ जान थाल्छन् । त्यस्तै पसल, पार्टी प्यालेसहरुको व्यापारमा पनि मानिसहरुबीच भएका कुराकानीको प्रभाव पर्छ । यसरी कुराकानीले दुई घर, दुई व्यक्तिबीच मात्र होइन, टोल तथा समाजमा पनि हुनु आबश्यक छ, जसले तपाईलाई हरेक राम्रा र नराम्रा कुराको बारेमा जानकारी प्राप्त गर्न सहयोग मिलोस् ।

कुराकानीको पनि नियम

हरेक कुरामा नियम हुनु आवश्यक छ । नियम बिनाको कुरा अनियन्त्रित हुन्छ । त्यसैले कुराकानीमा पनि नियम भएन भने यसले राम्रो भन्दा नराम्रो कुराहरुलाई उत्पन्न गराउँछ । कुरा गर्दा कस्तो कुरा गर्ने अथवा नगर्ने, आफुले गरेको कुराले अरुलाई असर गरेको छ कि छैन जस्ता कुरामा पनि ध्यान दिनु पर्छ । कुनै कुराले झगडा हुने जस्तो छ भने त्यस्तो कुरा नगर्नु उपयुक्त हुन्छ ।

अनावश्यक गफहरु गर्नु हुँदैन

कुराकानी गर्दा अरुको सम्मानमा आँच आउने प्रकारको कुरा गर्नु हुँदैन । अनावश्यक र असत्य हावा गफले मानिसलाई दुःख र समस्यामा पार्न सक्छ । कुरा गर्दा यो कुरालाई सधै ध्यान दिनु पर्छ । झुठो र असत्य कुराले सहि मान्छेलाई आहत पुग्ने गर्छ । अरुको नराम्रँ र असत्य कुरा गर्नेले आफ्नो बारेमा पनि यस्तै कुरा गर्न सक्छ भन्ने कुरा बिर्सन हुँदैन ।

यथार्थ बुझ्नु पर्छ

जब दुई व्यक्तिबीच कुनै पनि कुराकानी हुन्छ, त्यो कुरा तेस्रोसम्म पुग्दा-पुग्दै तीलको पहाड बनिसकेको हुन्छ । त्यसकारण कुनै पनि कुरालाई जाँच नगरी यकिन गर्नु हुँदैन । कुराको जरासम्म पुग्ने प्रयास गर्नुपर्छ । श्रोतको विश्वसनियतालाई मूल्यांकन गर्नुपर्छ । धेरैसजो व्यक्तिहरु तपाईंको राम्रो सम्बन्ध नचाहने हुन सक्छन् । त्यसकारण एक-अर्काबीच फाटो ल्याएर आफ्नो फाइदा लिनेहरु धेरै हुन्छन्, उनीहरुसंग सचेत रहनुपर्छ ।

कुरालाई पचाउन जान्नु पर्छ

कुराकानी गर्ने क्रममा कहिलेकाहिं नयाँ नयाँ रहस्यहरु पनि खुल्ने गर्छन् । कसैको पनि निजी कुरालाई अरुसंग शेयर गर्नु मर्यादा विपरीत हो । आफ्नो साथीको रहस्य खोल्ने गल्ती गर्नु हुँदैन । विश्वसनियतालाई सदैव कायम राख्नुपर्छ ।

सकारात्मक सोंच

कुराकानी गर्दा सधैं सकारात्मक सोच राख्नुपर्छ । कसैको पिठ्युँ पछाडि उसको कुरा काट्ने गर्नु हुँदैन । अरुको निन्दा दोषबाट मुक्त रहन जान्नुपर्छ ।

सकारात्मक कुराकानी

महिलाहरुबीच प्रायः आफ्नो छर-छिमेक बाहेक फिल्म र सिरियलका बारेमा पनि कुराकानी हुने गर्छ । यस्ता कुराकानीले समाजमा सकारात्मक कुराको परिर्वतन हुनु पर्छ । तपाईले गरेको कुराकानीले केही ज्ञान प्राप्त होस्, कसैको समस्या समाधान होस्, समाज र राष्ट्रको विकास होस् भन्ने किसिमले कुराकानी भयो भने कुराकानी गर्ने मानिस काम नभएको हैन, समाज परिर्वतनमा खटिएको व्यक्ति भनेर परिचित हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment