Comments Add Comment

प्रकृतिले सिँगारेको, मान्छेले बिगारेको चोभार

काठमाडौं वरपरका रमणीय डाँडामध्ये महत्वका साथ चोभारको पनि नाम जोडिएको छ । मञ्जुश्रीले तलबारले डाँडो काटेपछि पानी त्यहाँबाट बगेर विशाल दह सुक्न पुगेको र कालान्तरमा त्यहाँ कान्तिपुर नगरी बस्न गएको मिथकलाई समेटेको चोभार डाँडो प्रकृतिप्रेमीहरुको आकर्षणको केन्द्र हो ।

धेरैजसो सल्ला र धुपीका अग्ला रुखहरुले चोभारको उत्तरी मोहडालाई एउटा सुन्दर वनको रुप दिएका छन् । बल्खुचोकबाट चोभार डाँडाको दुरी लगभग दुई किलोमिटर रहेको छ । चोभार गेटबाट ढुङ्गाले बनेका तीन/चार सय खुड्किलाहरु च्ाढेर गएपछि चोभार डाँडामा बसेको समथर बस्तीमा पुगिन्छ, जहाँ आदिनाथको मन्दिर अवस्थित छ ।

सिँढीहरुमा टेक्दै लगभग तीन सय मीटरजति ठाडो उकालो चढ्दा आफू वरपरको जंगल हरियाली, र शान्त वातावरणबाट पदयात्रीमा एउटा भिन्नैखाले अनुभूति उत्पन्न हुन्छ । डाडाँमा उक्लिएर कान्तिपुर नगरीको चारैतिर नजर लगाउँदा चम्पादेवी चन्द्रागिरी शिवपुरी आदि अग्ला पहाडहरुको मनोरम स्काइलाइनले पदयात्रीका आँखाहरुलाई स्वागत गर्दै शीतलता प्रदान गर्छन् । उत्तरतर्फ देखिने हिमालसहित काठमाडौको स्काईलाइन जत्तिको सुन्दर संसारमा शायद विरलै राजधानीहरु होलान् ।

सिँढीहरु सकिएपछि समथर डाँडोमा पुगिन्छ । त्यहाँ सीमेन्ट र कंक्रिट र केही जस्तापाताले बनेका घरहरुले पदयात्रीलाई स्वागत गर्छन् । बस्तीहरुलाई एकदमै फोहोरा मैला भन्न नमिले पनि त्यहाँ साफसफाई पटक्कै छ्रैन । बस्ती धुलो र फोहोरेले आक्रान्त छ । यत्रतत्र निर्माण सामग्री छरिएका छन् । घर पसलमाथि खिया लागेका जस्ता पाता, पुराना जर्जर काठ, बाटा वरपर फोहोर र झारपातले पदयात्रीलाई स्वागत गर्छन् ।

आदिनाथ मन्दिरमा दिनहुँ उल्लेख्य संख्यामा दर्शनार्थीहरु पुग्छन् । मन्दिर वरवर गुजुप्प परेका बस्तीमा बसोबास गर्ने नागरिकहरु छन् । तर, सरसफाईतर्फ कसैको पनि चासो देखिन्न । यो अवस्था चोभार डाडाँको बस्तीको होइन, हजारौं शहर, गाउँ र बस्तीहरुको हो । हजारौं वर्षदेखिको हाम्रो संस्कार संस्कृतिको पीडादायी पाटो यो पनि एउटा हो ।

पर्यटनका लागि वर्षेनी अरबौंको बजेट सक्ने पर्यटन मन्त्रालयका तर्फबाट रमणीय चोभार डाँडामा एक पैसा पनि खर्च गरेको देखिन्न । चोभार डाँडाबाट उत्तर पटि्ट हेर्दा काठमाडौं शहर नाम दिइएको सिमेन्ट कंक्रिटको अत्यासलाग्दो जंगल त छँदैछ, डाँडाबाट दक्षिणपट्टी नजर लगाउँदा त्यहाँको समथर फाँटमा खडा भएको कंक्रिट र सिमेन्टको जंगलले चोभारको सुन्दरतालाई नष्ट गरिदिएको छ ।

चोभारको दक्षिणपटि्ट फनपार्क भनिने सिमेन्ट र प्लास्टिकको थुप्रोले त्यहाँको भूगोललाई अझ कुरुप बनाइदिएको छ । यस्तो लाग्छ, मानौं व्यापारिक फाइदाका लागि निर्माण गरिएको मानव निर्मित फनपार्क अर्थात मज्जा वा मनोरञ्जन पार्कले मनभरि आनन्द बटुल्ने प्रकृति प्रदत्त पार्कलाई गिज्याइरहेको छ ।

मुलुकका छोटे-बडे योजना निर्माताहरुको वैचारिक दरिद्रताको पराकाष्टा नै मान्न सकिन्छ । प्रकृतिले दिएको यो सुन्दर उपहार, जसले दिनहुँ हजारौं नरनारीलाई शारीरिक र मानसिक सन्तुष्टि प्रदान गर्न सक्छ, फन होइन, ह्यापिनेस प्रदान गर्न सक्छ । तर, अहिले यसलाई कुरुप बनाइएको छ । अझै विडम्बना त यो कि त्यसैलाई विकास भनेर हामीलाई बुझाइएको छ ।

चोभार डाँडामा पानीको चरम अभाव छ । सबैखाले पानीको आवश्यकताको परिपूर्ति ट्याङ्कर र जारबाट हुने गरेको छ । बिहान ८ बजेतिर त्यहाँ मर्निगवाकमा गएका बेला डाँडाको दक्षिण मोहडाको बस्तीमा हेर्दा एउटा पानीको धारा जडान गरिएको देखियो । सिमेन्टको भारी भरकम संरचनामा एउटा फलामको सानो पाइप ।

त्यसबाट तुरतुरे पानी झर्दै थियो । दुई महिलाहरु पानी थापिरहेका थिए । सम्भवतः उनीहरुले पानी भर्नका लागि ल्याएका ती दुईवटा मझौला आकारका जर्किन भरेर घर फर्किँदा दुई/तीन घण्टा लाग्नेछ । त्यसबेलासम्म उनीहरुको घरमा बिहानको खाना खाने बेला भैसक्ने छ ।

त्यहाँबाट १० मिनेटको पैदल दुरीमा व्यापारिक प्रयोजनका लागि बनेको वाटर पार्क छ, जहाँ एक हजार रुपैयाँको टिकट काटेर खल्तीमा पैसा भएकाहरु केहीबेर पानीमा खेल्न सक्छन् । तर, चोभार डाँडाका वासिन्दाहरु पानीका लागि काकाकुल जस्तै तडपिरहेका छन् ।

पानी नभएर के भो र त्यहाँ देखिने स-साना होटलमा बियर त उपलब्ध गराएकै छ सरकारले । टीभी, टेलिफोन, बाटो, बिजुली, बियर, बिस्कुट, चाउचाउ सबै छ त्यहाँ । तर, मानवका लागि हावापछिको आवश्यकता पूरा गर्ने जीवनदायी जल त्यहाँ छैन ।

हामीले अवलम्वन गरेको पश्चिमा विकासको मोडेलले ल्याएको यो दुर्दशा चोभार डाँडाको मात्र कथा होइन, सिंगो नेपालका गाउँबस्तीतिरको कथा हो ।

कान्तिपुर नगरीको दक्षिण र दक्षिण पश्चिमतिर बसोबास गर्ने कीर्तिपुरसहितका बासिन्दाहरुका लागि चोभार प्रकृतिसितको निकटता कायम गर्ने र शारीरिक र मानसिक ऊर्जा प्राप्त गर्ने एउटा उत्कृष्ट गन्तव्य हो । शहरभित्र एकाध अपवादबाहेक कहीँ कतै टहल्ने घुमफिर गर्ने एउटा पनि पार्क नभएको अवस्थामा चोभार मुटु र मनलाई स्वस्थ्ा राख्ने प्रकृति प्रदत्त अनुपम उपहार हो ।

चोभारमा प्रकृतिसित भिज्दै र त्यहाँको समाज र संस्कृतिको साक्षात्कार गर्दै फर्किंदा पनि तिनै सिँढीहरुको प्रयोग गरेर ओरालो झर्दै गर्दा प्लास्टिकका फ्याँकिएका बोतल संकलन गर्दै गरेका दुईजना किशोरहरुसित भेट भयो । उनीहरुले सिढी मार्गको वरपर फ्याँकिएका प्लास्टिक बोतल संकलन गरिरहेका थिए । आफ्नो नाम पंकज र जितेन्द्र बताउने उनीहरु भारतको बिहार हाजीपुरका रहेछन् । उमेर उनीहरुको २० वर्षभन्दा तलै देखिन्थ्यो । कुपोषणका कारण कम उमेरको देखिएको मान्ने हो भने पनि उनीहरुले २५ वर्ष काटेका थिएनन् । कति रुपैयाँ किलो प्लास्टिक बिक्री हुन्छ भन्ने प्रश्नको जवाफमा पंकजले भने, १५/२० रुपैयाँ किलो । उनले बताएअनुसार दिनमा २०/३० किलो संकलन हुन्छ ।

भारत र नेपालमा जनतालाई समृद्ध बनाउने नारामा चुनाव लडने सांसद र मन्त्रीहरुले ५० देखि १०० करोड रुपैयाँसम्म चुनाव जित्न खर्च गर्छन् । अनि पंकज र जितेन्द्र भने खाउँ खाउँ र लाउँ लाउँको उमेरमा कलेजतिर जीवनबाट बेखबर भएर उन्मुक्त जीवन जिउने बेलामा बिरानो मुलुकमा प्लास्टिक संकलन गर्छन् ।

भारतीय हस्तक्षेप, मिचाहा प्रवृत्तिका बारेमा हामीले धेरै लेख्ने गर्छौं । तर, भारतीय श्रमिक, कालीगढ र मिस्त्रीहरुले आफ्नो पसीनाबाट नेपाल निर्माण गर्न गरेको लगानीका बारेमा भने लेखिने गरिएको छैन । ठूलासित लम्पसार पर्ने सानालाई दुत्कार्ने, हेय दृष्टिले हेर्ने हाम्रो संस्कृति र संस्कारमा लागेको ऐंजरु अहिले पनि कायम छ । फलफूल बेच्ने, कबाड संकलन गर्ने, कपाल काटने, तरकारी बेच्ने काममा, घरनिर्माण, गाडी रिपेयरिङ्ग लगायतका काममा लाखौं भारतीय श्रमिक खटेका छन् । नेपालको अर्थतन्त्रमा उनीहरुको योगदान छ ।

चोभारको प्राकृतिक स्वरुपलाई कसरी बहाल गर्ने, थप नबिगार्नका लागि के कस्ता कदमहरु चाल्ने भन्ने विषय सबैका लागि सरोकारको विषय हो । प्रकृति प्रदत्त अनुपम उपहारलाई आफ्नो प्राकृतिक रुपमा नै रहन दिने चेतना सम्भवतः हामीकहाँ अझै प्रवेश गरेको छैन । त्यसैले अनेकौं उत्कृष्ट गन्तव्यहरु पर्यटन प्रवर्द्धन गर्ने र आय आर्जन गर्ने साधनका रुपमा विकास गरिएका छन् ।

यसबाट त्यो ठाउँ विरुप हुन पुगेको छ । चोभारजस्तो उत्कृष्ट डाँडोलाई प्राकृतिक रुपमा रहन दिएमात्रै त्यसको महत्व रहन्छ । चोभार डाँडोभन्दा दक्षिण-पश्चिममा बसोबास गर्ने काठमाडौंवासीहरुका लागि प्रातकालीन भ्रमण, रनिङ जगिङ आदिको उत्कृष्ट गन्तव्य बन्न सक्छ चोभार । किनकि यो शहरसित जोडिएको छ । बिहानै अफिस शिक्षण संस्था आदितिर काममा जानुपर्ने नागरिकहरुले समेत बिहान सबेरै एक डेढ घन्टाको समय छुट्याएर मर्निङवाक वा जगिङ गर्न चोभार पुग्ने हो भने कोलेस्टोरल आदि मुटु, फोक्सो र पेटको रोगसित पीडित व्यक्तिहरु केही महिनामै सामान्य जीवन व्यतीत गर्न सक्छन्, जसबाट व्यक्ति र राज्यको करोडांै करोड रुपैयाँको स्वास्थ्य खर्चबाट छुटकारा पाउन सकिन्छ ।

कान्तिपुर नगरीको दक्षिण र दक्षिण पूर्वमा बासिन्दाहरुले त्यहाँ पुगेर शारीरिक लाभमात्र लिन सक्तैनन् । शहरकै निकट प्रकृतिलाई अनुभव गरेर आफ्नो शारीरिक स्वस्थ्ाता, उर्जाको स्तरमा वृद्धि गर्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment