Comments Add Comment

साँघुटारका अग्निपीडित भन्छन्– शरीरमा लगाएको लुगाबाहेक केही बचेन

Photo Credit : साँघुटारमा बिहीबार बिहानको आगलागीबाट धनमाल गुमाएका पीडितहरू । तस्वीरः नवराज पथिक

१० साउन, रामेछाप । साँघुटार बजारको अंकित श्रेष्ठको घरमा इलेक्ट्रिक पसल सञ्चालन गर्दै आएका हीरा श्रेष्ठले अघिल्लो दिनमात्र कोठामा ७ लाख रुपैयाँ ल्याएर राखेका थिए । बिहान हाफपाइन्ट र टि–सर्टमा ‘मर्निङवाक’मा हिँडेका उनी घर फर्कंदा त्यही शरीरमा लगाएको लुगाबाहेक बाँकी जलिसकेको थियो ।

‘कोठा बसेको भनेर के गर्नु भएजति सबै कोठैमा थियो । एक घण्टाको बीचमा आप्mनो आँखै अगाडि सबै भष्म भयो’, आगलागीबाट धनमाल गुमाएका उनले दुखेसो गरे ।

बिहीबार बिहान रामेछाप नगरपालिका–३, साँघुटारमा ४ घर जल्नेगरी लागेको आगोले उनको धनसम्पत्ति मात्रै भष्म पारेन, सपना पनि जलाएको छ । ‘खै अब कहाँबाट त्यतिका पैसा जम्मा गरेर अघि बढ्ने हो ?’, उनले भने ।

आगलागीमा परी ३ तले पक्की घर जलेर नष्ट भएका अंकित श्रेष्ठ त आप्mनो पीडासमेत पोख्न नसक्ने भएका छन् । ‘शरीरमा लगाएको लुगाबाहेक अब केही बाँकी नै छैन, अब म के गरौं’, उनले दुखेसो गरे ।

साँघुटारमा बिहीबार बिहान लागेको आगोले क्षति भएको घर । तस्वीरः नवराज पथिक

श्रेष्ठले गत वर्ष मात्रै तीनतले पक्की घर बनाएका थिए । यसका लागि एक करोडभन्दा बढी खर्च भएको श्रेष्ठको भनाइ छ । खर्च गरेको रकमको ऋण चुक्ता गरिनसक्दै यो विपत्ति आइलागेपछि उनी मर्माहत छन् । एक करोडभन्दा बढीको घरका मालिक एक घण्टामा नै पाल टाँगेर बस्नुपर्ने अवस्थामा झर्दा उनी सम्हालिउन् पनि कसरी ?
रामेछाप नगरपालिका–३, साँघुटार बजारमा बिहीबार बिहान ८ बजेबाट ३ घण्टासम्म फैलिएको आगोले करिव ३ करोड रुपैयाँको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । सिंहदेवी निर्माण सेवाको स्टोरबाट निस्किएको आगोले अंकित श्रेष्ठको पक्की घरबाहेक राजन राजन सुवेदीको २ तले घर जलेको छ । त्यस्तै, अनिष थापा र हरिमाया थापाको भूकम्प प्रतिरोधी घर पनि आगलागीमा परेर नष्ट भएको छ ।

गोदाममा ग्यास तथा पेट्रोल र डिजेलसमेत रहेकाले आगो केहीबेरमै फैलिएको थियो । त्यसैले पीडितहरुले घरबाट केही निकाल्नै पाएनन् । ‘एक्कैचोटि छोप्यो, केही निकाल्नै सकिएन’, आगालागीपीडित हरिमाया थापाले भनिन् ।

आगलागी भएका घरहरुमा ठूला स्टोर र पसलहरु थिए । आगलागीबाट नष्ट भएको घरमा कपडा पसल गरेर बसेका रविनकुमार खत्री जीवनभरिको कमाइ क्षणमै स्वाहा भएको बताउँछन् ।

घटनालगत्तै जिल्लास्थित राजनीतिक दलका नेताहरु तथा पत्रकारसहित घटनास्थलमा पुगेकी प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिकी अध्यक्ष लीला केसीले पीडित परिवारलाई तत्काल राहत स्वरुप १०⁄१० हजार रुपैयाँका दरले नगद प्रदान गरेकी छन् । विभिन्न संघ–संस्थाहरूले पनि राहतसामग्री वितरण गरेका छन् । तर ठूलो क्षति व्यहोरेका अग्निपीडितहरू यो अवस्थाबाट कसरी अघि बढ्ने भन्नेमा चिन्तित छन् ।
नवराज पथिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment