Comments Add Comment

वीरगञ्ज भन्सारबाट नयाँ सवारी आयात घट्यो

इलेक्ट्रिक कार आयात भने बढ्यो

९ साउन, वीरगञ्ज । वीरगञ्ज भन्सार नाकाबाट सवारीसाधनको आयात घटेको छ । जसकारण राजश्वमा गिरावट आएको छ । नयाँ सवारीसाधन र सवारीसाधनका पार्टपूर्जाबाट पनि वीरगञ्ज भन्सारले राम्रो राजश्व संकलन गर्ने गरेको थियो ।

आर्थिक वर्ष ०७४/७५ को तुलनामा ०७५/७६ मा जीप, कार भ्यान, मोटरसाइकल, अटो रिक्सा आयातमा कमी आएको छ ।

०७४/७५ मा वीरगञ्ज भन्सार नाका हुँदै १० हजार ६ सय ८४ वटा १० अर्ब ३५ करोड ४९ लाख २९ हजार मूल्यका जीप, कार, भ्यान आयात भएको थियो । तर, आर्थिक वर्ष ०७५/०७६ मा त्यो भन्दा १ हजार ९ सय ८९ वटा कम जीप कार भ्यान आयात भएको छ ।

गत आवमा ८ अर्ब ४५ करोड ४५ लाख ५४ हजारका ८ हजार ६ सय ९५ वटा जीप, कार, भ्यान आयात भएको हो । जसले गर्दा वीरगञ्ज भन्सार कार्याललाई जीप, कार भ्यान बाट मात्रै अघिल्लो वर्ष भन्दा २ अर्ब ८८ करोड ८८ लाख ५४ हजार रुपैयाँ कम राजश्व संकलन गरेको छ ।

अघिल्लो वर्ष जीप, कार भ्यान आयातबाट २१ अर्ब १६ करोड ५१ लाख १ हजार राजश्व असुली गरेको वीरगञ्ज भन्सार कार्यालयले गतवर्ष १९ अर्ब २७ करोड ६२ लाख ४७ हजार राजश्व संकलन गरेको छ ।

त्यस्तै ०७४/७५ मा ११ अर्ब ६८ करोड ९९ लाख ९३ हजार रुपैयाँको १ लाख ३४ हजार ६ सय ३३ वटा मोटरसाइकल आयात भएकोमा ०७५/७६ मा १ लाख २ हजार ३ सय १२ वटा मात्रै मोटरसाइकल आयात भएको छ । जसबाट वीरगञ्ज भन्सार कार्यालयले क्रमशः १२ अर्ब १७ करोड १८ लाख ७० हजार र ९ अर्ब ६२ करोड ८० लाख ९७ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

गाडीको चेसिस आयात पनि घटेको छ । ०७४/७५ मा ७ अर्ब ५ करोड २६ लाख ८९ हजार रुपैयाँ बराबरको ४ हजार ६ सय १३ वटा गाडीको चेसिस आयात भएकोमा ०७५/७६ मा ५ अर्ब २२ करोड ३२ लाख ५८ हजार मूल्य बराबरको ३ हजार १ सय १७ थान आयात भएको छ । जसले गर्दा वीरगञ्ज भन्सारले अघिल्लो वर्ष ३ अर्ब ३७ करोड ८८ लाख ३० हजार राजश्व संकलन गरेकामा गतवर्ष २ अर्ब ५० करोड, ३२ लाख ६९ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

अघिल्लो वर्ष १ अर्ब ५० करोड ८१ लाख ५४ हजारको १० हजार १ सय २४ वटा अटो रिक्सा आयातबाट १ अर्ब ८९ करोड १५ लाख ८१ हजार राजश्व अशुली गरेको वीरगञ्ज भन्सारले गत वर्ष १ अर्ब ३७ करोड ९६ लाख ९० हजार रुपैयाँको ९ हजार १ सय १४ वटा अटो रिक्साबाट १ अर्ब ७३ करोड १४ लाख ७५ हजार रुपैयाँ राजश्व असुली गरेको छ ।

वीरगञ्ज नाका हुँदै ०७५/७६ मा ट्रक मिनि ट्रक, पिकअप, बस, मिनि बस र माइक्रोबसको आयात, टेक्टर, मिनि लिटरको आयात भने अघिल्लो वर्षको तुलनामा बढेको छ ।

९ अर्ब ५२ करोड ५५ लाख ६२ हजार मूल्य बराबरको ७ हजार ३ सय ९८ वटा ट्रक, मिनि ट्रक, पिक अप आयातबाट ७ अर्ब ९५ करोड ८७ लाख ३५ हजार, र १ अर्ब ८६ करोड ५९ लाख ८१ हजार रुपैयाँको ६ सय ६० वटा बस, मिनी बस, माइक्रोबस आयातबाट८७ करोड ३६ लाख ७५ हजार रुपैयाँ राजश्व अशुली गरेको छ ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत मनिसकुमार महतोले सवारी आयातमा २ सयदेखि ३ सय प्रतिशतसम्म कर लाग्ने गरेकोले त्यसले राजश्व संकलनमा राम्रो योगदान दिने गरेको बताए ।

सवारी आायत गर्दा भन्सारमा ८० प्रतिशत भन्सार कर, १३ प्रतिशत भ्याट र ६० देखि १ सय प्रतिशत भन्दा बढी अन्तःशुल्क लिँदै आएको छ ।

इलेक्ट्रिक कारको आयात बढ्यो

वीरगञ्ज भन्सार कार्यालय हुँदै इलेक्ट्रिक कारको आयातमा भने वृद्धि भएको छ । ०७४/७५ मा १८ करोड ५७ लाख ६ हजार मूल्य बराबरको ५४ वटा इलेक्ट्रिक कार आयात भएकोमा ०७५/७६ मा ५२ करोड ९८ लाख ७१ हजार मूल्य बराबरको १ सय ९३ वटा आयात भएको छ । जसबाट १२ करोड ५९ लाख ८१ हजार राजश्व संकलन भएको छ ।

इलेक्ट्रिक रिक्सा, इलेक्ट्रिक मोटरसाईकलको आयात भने घटेको छ । अघिल्लो वर्ष १५ करोड ३५ लाख मूल्य बराबरको १ हजार ४४ वटा इलेक्ट्रिक रिक्सा र ३ करोड ३५ लाख ६३ हजारको ५ सय १७ वटा इलेक्ट्रिक मोटरसाइकल आयात भएको थियो ।

गत वर्ष ९ करोड ५० लाख ४६ हजार मूल्यको ८ सय ४७ वटा इलेक्ट्रिक रिक्सा र ३ करोड ५८ लाख ५३ हजार मूल्यको ४ सय २१ वटा इलेक्ट्रिक मोटरसाइकल आयात भएको छ ।

इलेक्ट्रिक सवारी आयातमा १३ प्रतिशत भ्याट र १० प्रतिशत मात्रै भन्सार दस्तुर लिने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment