Comments Add Comment

राहत नपाएपछि बाढी पीडितद्वारा नगरपालिकामा घेराउ

१० साउन, रौतहट । बाढीले घरबार बिहीन भएर भोकभोकै बस्नु पर्दा पनि जनप्रतिनिधिले कुनै वास्ता नगरेको भन्दै स्थानीयले राजदेवि नगरपालिकाको कार्यालय घेराउ गर्दै प्रर्दशन गरेका छन् ।

२८ असारमा आएको बाढीले घर भत्किएको र घरभित्र भएका अन्नपात सबै बर्वाद हुँदा पनि निर्वाचित भएका जनप्रतिनिधिले आफूरुको पीडा नबुझेको भन्दै स्थानीयहरुले शुक्रबार नगरपालिकाको कार्यालय घेराउ गरेका हुन् ।

बाग्मती नदीमा आएको बाढीले राजदेवि नगरपालिकाको विभिन्न वडाहरु नराम्ररी प्रभावित भएका छन । फुसको छाप्रो बनाएर बसेका गरिब परिवारको सबै भन्दा बढी विचल्ली भएको छ ।

बाढी आएको १२ दिन बिति सक्दा पनि नगरपालिकाका मेयर र प्रशासकीय प्रमुख कसैले पनि आफूहरुको समस्या प्रति कुनै चासो नदिएको ब्रहृमपुरीकी मञ्जु देविले बताइन् ।

बाढीले बाँध कटान गरेर बस्ती डुबाउँदा समेत नगरपालिकाले कुनै वास्ता नगरेको उनको आरोप छ ।

बाढीले घर चर्किएर बस्न लायक नभएकोले अन्यत्र शरण लिएर बस्नु पर्दाको पीडामा रहेकी मञ्जु देवी नगरपालिकाको व्यवहारबाट झनै पीडित बनेकी हुन ।

पानी पर्दा भिजेर बस्नुपर्ने र पुनः आउन सक्ने बाढीको त्राशले निदाउनसमेत नसक्ने अवस्थामा रहेका बाढी पीडितहरुको अवस्था निकै दयनीय रहेको छ ।

‘घरवार सबै क्षति भयो । खान बस्न केही छैन नगरपालिकामा भन्न आयो भने कसैले सुन्दैन,’ स्थानीय इन्दु देवीले भनिन, ‘राहत लिन पनि मेयरलाई भोट दिएको मान्छे हुनु पर्ने रैछ । आफूलाई भोट दिए नदिएको छुट्याउँदै मेयरले भेदभावसमेत गरेका छन ।’

आफू नजिकका मान्छेहरुलाई मात्रै राहत दिएको भन्दै स्थानिय आक्रोशित बनेका छन् । वास्तवीक पीडित भन्दा पनि क्षति नभएकाहरुलाई राहत बाँडिएको स्थानियको आरोप छ । बाढीको बेला राहतको रुपमा तत्काल बाडेको चाउचाउ र बिस्कुट समेतमा भेदभाव गरिएको छ ।

अब तत्कालीन राहतभन्दा पनि आफूहरुलाई भत्किएका घरहरु मर्मत गर्न र भोक मेटाउन खाद्यान्न, त्रिपाललगायतका अत्यावश्यक समाग्रीहरुको अभाव रहेको बाढी पीडितहरुले बताएका छन ।

विभिन्न योजनाहरु बाडने र कमिशन कुमल्याउन खोज्ने निमित प्रमुख प्रशासकिय अधिकृत संजय पाण्डेका कारण बाढी पीडितहरुको विचल्ली भएको स्थानियको आरोप छ । राजदेवि नगरपालिकाका मेयरले समेत पीडितहरुको गुनासो नसुन्ने गरेको उनीहरुको आरोप छ ।

यस सम्बन्धमा जानकारी लिन खोज्दा राजदेवि नगरपालिकाका मेयर धिरेन्द्रकुमार सिंह र निमित प्रमुख प्रमुख प्रशासकीय अधिकृत संजय पाण्डे सँग सम्पर्क हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment