Comments Add Comment

समीक्षा : सम्झनाका तरेलीमा ‘नबोल्नेहरु’

प्रवासीहरूको मनोविज्ञानको एउटा सूक्ष्म पाटो भनेको कल्पनामा घरदेश उभ्याउनु हो, र देशविहीनताको कहरबाट आफूलाई निवृत्त गर्ने प्रयास पनि हो । सिद्धान्तकारहरू भन्छन्, पितृभूमिबाट पनि टाढा रहनु र कर्मभूमिको पनि भित्रिया हुन नसक्नुको दोसाँधमा बाँचेका डायस्पोराहरूको कल्पना र सपनामा देश औसत मानिसमाभन्दा पनि बढी बल्झिन्छ । यस्तो खण्डित मनोविज्ञानसँग उनीहरूका अगाडि पहिचानको सङ्कट पनि खडा भएको हुन्छ र पराया मुलुकमा अनुकूलनको प्रश्न पनि सँगसँगै एउटा पीडाको विषय बनेर आइदिन्छ ।

यी विषयहरू आप्रवासी तथा डायस्पोरा लेखकहरूका सिर्जनामा बाक्लै पढ्न पाइन्छ । नेपाल बाहिर बस्ने नेपाली लेखकहरू पनि यो वैश्विक यथार्थबाट टाढा छैनन् । नेपाली वाङ्मयमा यसको पछिल्लो एउटा उदाहरण हो महेश्वर पन्तको कथा सङ्ग्रह ‘नबोल्नेहरू’ ।

आख्यान लेखन महेश्वर पन्तको पछिल्लो प्रेम हो । यसअघि उनी गीत र गजलमा रमाइरहेका थिए । ‘मुन्द्री’ कथासङ्ग्रहमार्फत कथाको फाँटमा प्रवेश गरेका लेखक पन्तको यो दोस्रो कथा सङ्ग्रह हो । सङ्ग्रहलाई शिखा बुक्सले बजारमा ल्याएको हो ।

सङ्ग्रहमा १३ वटा कथा छन् । कथाको भावायतन हेर्दा उनलाई देशभित्रका निमुखा र सीमान्तकृत पात्रहरूको अन्तरकथामा चासो छ भने, देशबाहिर कल्पनाको एउटा सूक्ष्म देश बनाएर बाँचिरहेका नरानारी चिन्तनप्रति पनि चासो छ । त्यसैले उनका कथालाई मोटामोटी देशभित्रका र देशबाहिरका कथाका रूपमा विभक्त गर्न सकिन्छ । तर सङ्ख्यागत रूपमा देशभित्रकै कथा बढी छन् । १३ कथाको सङ्कलमा १० कथा त घरदेशकै छन् । यसबाट के परिलक्षित हुन्छ भने अमेरिकाको सुदूर भूगोलबाट पनि लेखक घरको चिन्तामा रुमल्लिइरहन्छन् र देशसँग दुखिरहन्छन् । उनका अधिकांश कथाले दमन, कुरीति, गरिबी, पीडा र मृत्युजस्ता दुःखान्त विषयहरू उठाएका छन् । यसबाट उनको कथाकारिता करुण र हृदयसंवेद्य विषयहरूको मियोमा बढी घुमेको छ भन्ने कुरा प्रमाणित गरेको छ ।

कथाका पन्तले छोएका विषयहरूमा सामाजिक कुरीति, विसङ्गत राजनीति तथा गरिबीको कहर प्रमुख हुन् । रजस्वला शीर्षकको कथामा उनले छाउपडी प्रथाको कुप्रभावलाई विषय बनाएका छन् । कथामा मुख्य पात्र निर्मला महिलोपल्ट महिनावारी हुँदा उनले परिवारभित्रैबाट भोगेको मानसिक प्रताडना, पुरुषवादी चिन्तनको चोट, छाउघरको बास, आग्जनी र मृत्युका विषय उठाइएको छ । नेपाली गाउँका रुढीग्रस्त परिवारमा महिनावारी हुँदा गरिने छोइछिटो, र त्यसले महिलाहरूको जीवनमा पार्ने नकारात्मक असर यस कथाको केन्द्रीय कथ्य हो ।

‘द्रौपदीको सुहागरात’ पनि महिला-केन्द्री कथा नै हो, जसको अन्तर्यमा एक अविवाहित महिला द्रौपदीको सौन्दर्य चेत र सुसुप्त यौन चाहना व्याख्यातित छ । तिनै चाहनाहरूको डोरीमा अल्झिएका महिला कसरी बलेँसीजसरी आउने, र सर्वस्व लुटेर जाने पुरुषहरूको यौनक्षुधाका सिकार हुन्छन् भन्ने कुरा यस अथाको दर्शाएको छ । तै पनि, कहिल्यै तृप्त नहुने यो प्यास अविवाहित महिलाहरूमा लामो उमेरसम्म अक्षुण्ण रहन्छ भन्ने सत्य पनि यस कथाले उजागर गरेको छ । कथाको मनोवैज्ञानिक ढप गम्भीर छ, कथाकारले एउटा कटुसत्यको उत्खनन गर्ने एउटा कलात्मक साहस गरेको यस कथाका पाठकले सहजै अनुभव गर्न सक्छन् ।

सङ्ग्रहको शीर्ष कथा नबोल्नेहरू आवाजविहीनहरूको संघर्षकथामा केन्द्रित छ । कथाको मूल पात्र शान्तराम हो, जो जन्मैदेहि अपाङ्ग छ र आवजविहीन पनि । यी दुई विशेष अवस्थाका कारण उसले लामो समयसम्म भोगेको पीडाको कारुणिक चित्रण यस कथाको सबल पक्ष हो । सममयसँगै शान्तारामभित्र चित्र कोर्ने कला निहीत भएको, र त्यो उजागर भएपछि उसको जीवनमा आएको कल्पनातीत परिवर्तनले पाठकहरूमाझ अपाङ्गताबारे पुराना धारणा त्याग्न यस कथाले अभिप्रेरित गर्दछ ।

नजलेका लासहरू एक तिलस्मी कलेबर भएको प्रयोगवादी कथा हो, जसमा अतृप्त आत्माहरूको दृष्टिविन्दुबाट जीवित मानव समाज र सभ्यताको तीक्ष्ण आलोचना गरिएको छ । समयको समीक्षा गर्नका लागि स्मशानमा भेला भएका, माओवादी युद्धकालमा अनाहकमा मारिएर मोक्ष पाउन नसकेको प्रेतात्माहरूको निचोड छ, हामीमा मानव जातिको पापको ठूलो रहस्य गडेको छ यी खाल्टाहरूमा । हामीसँगै गडेको छ यत्रो क्रान्तिको रहस्य ।

जसरी दरबार हत्यामा मृतकहरूसँगै रहस्य पनि मर्‍यो, त्यसरी नै यी खाल्डाहरूमा हामीसँगै सदा सदाका लागि मानवहितका लागि भनेर रचिएको यो रहस्यमय क्रान्तिको पनि विलयन भएको छ । युद्धको निरर्थकता, विचलित उद्देश्य तथा आडम्बरी क्रान्तिका विरुद्ध यो एउटा प्रभावशाली प्रहार हो । प्रतीकारत्मक अर्थमा नजलेका लाशहरू उत्तर नभेटिएका प्रश्नहरू अथवा समाधान नभेटिएका समस्याहरूको साङ्केतिक अभव्यिक्ति हो ।

‘चनेकी थममाया’ लोककथाको कलेबरमा बुनिएको मानवीय सम्बन्धको कथा हो, जसमा जनजातिहरूको स्वनिर्मित सामाजिक र न्यायिक पद्धतिको चित्रण गरिएको छ । सुपारे सुबेदारको छोरो चने, सामान्य विवादमा आफ्नो छिमेकी सुपे हल्दारलाई चपरोले हिकाउन पुग्छ, जसका कारण उनी दुईको सम्बन्ध बिग्रन्छ ।

कालान्तरमा चनेलाई उही हल्सारकी छोरी थममाया मनपर्छ, तर माग्न जाँदा दिँदैनन् । त्यसैले, साथीहरूको सहयोगमा भगाउँछ । त्यसपछि, परिवार, समाज र साथीभाइको रोहबरमा कसरी, आफ्नै आन्तरिक र मौलिक पद्धतिबाट सम्बन्धको समान्यीकरण गरिन्छ र जीवनलाई सहज बनाइन्छ भन्ने आदिवासी न्यायायिक रा समाजिक पद्धतिको चित्रण यस कथाले गरेको छ ।

यो कथा आधुनिक न्यायिक पद्धतिका जटिलमामाथिको एउटा बलियो प्रश्न पनि हो, र ग्रामीण जीनवको सरता र सहजताको मृदु चित्रण पनि हो । ‘कम्युनिष्ट बाउसाप’ भ्रमपूर्ण राजनीति र निरर्थक आरोप-प्रत्यारोपमाथि तीक्ष्ण व्यङ्ग हो भने ‘सपाहीको बढुवा’ पदोन्नतिको निरार्थक पखाईमा जीवन व्यतीत गर्न अभीशप्त एक आम सुरक्षाकर्मीको मर्मकथा हो । ‘हजुरबाको पनुर्जन्म’ लेखकै परिवारभित्रका एक बुजुर्गको पेट्रेट हो, र उनको नातिको जन्ममा उनै हजुरबाको पुनरजन्म भएको विश्वास गरिएको एक अतियर्थावादी कथा हो ।

नेपालका साथै नेपाल बाहिरको भूमिलाई कार्यपिठिक बनाएका पनि केही कथा यस सङ्ग्रहमा छन् । ‘न्यूयोर्कको गन्दर्भ’ अमेरिका र नेपालका कारुणिक अनुभवहरूलाई जोड्ने एउटा मार्मिक कथा हो । नेपालमा आफैँले बनाएर, कुनै विदेशी प्रेमिकालाई उपहार दिएको सारङ्गी, वर्षौंपछि न्यूयोर्कमा कालो वर्णको एक अपरिचित युवकले बजाउँदै भिक्षा माग्ने माध्यम बनाएको देख्दा समाख्याता आश्चर्यमा पर्छ ।

सोध्दै जाँदा, त्यो युवकी आमा, समाख्याताकी तीनै पूर्व प्रेमिका हुन्छिन्, जो जाँडै फर्कन्छु भनेर अमेरिका हिँडेपछि दुर्घटनाको शिकार हुन्छिन् र पक्षघातले थल्लिन पुग्छिन् । उही सारङ्गी उनीहरू पुनरमिलनको माध्यम बन्न पुग्छ । कथाशिल्पको कसीमा उच्च कोटिको यस कथाले सम्बन्धहरूको आकस्मिकता तथा जीवनको अनिश्चिततालाई कलात्मक ढङ्गले उजागर गरेको छ ।

‘पातालको कथा’ यस्तै अर्को एक कथा हो, जसमा सपनाको लोठ ठानेर अमेरिका पुगेकी जेहेन्दार नेपाली महिला हिमानीको दारूण कथा प्रस्तुत गरिएको छ । पैसाका खाँचो, जागिरको अभाव, सुरक्षाको समस्या, बलात्कार र लुटपाट आम आप्रवासीले भेग्नुपर्ने समस्याका रूपमा यस कथामा परिलक्षित भएर आएका छन् ।

‘ए नारान’ शीर्षकको कथामा अमेरिकी युवक र नेपाली युवतीबीचको सम्बन्धलाई देखाइएको छ, जुन सम्बन्ध, एक साधारण नेपाली युवती चुनुमायाका लागि अमेरिका प्रवेशको सेतु बन्न पुग्छ । पछि उनका सन्तानको नेपाल प्रेम, नेपालमा विधवा पुनर्विवाहका पक्षमा उठाइएका कदमहरू तथा नेपालको सामाजिक रूपान्तरणका लागि सहेका व्यथाहरूले यस कथाको सन्देशपक्ष बलियो बनाएको छ ।

यस्तै अर्को अन्तरदेशीय कथा हो ‘पिटर जोनले देह त्याग्यो’, जसमा अमेरिकी युवा पिटरको एकाङ्गी जीवन र विक्षिप्त मनस्थितिको चित्रण छ । व्यक्तिवादी बन्दै गएको अमेरिकी समाजमा कमजोर बन्दै गएका पारिवारिक सम्बन्ध तथा विघटित भइरहने वैवाहिक सम्बन्धहरूको असले मान्छेलाई कसरी दिनदिन आत्महत्याको मुखतिर डोर्‍याउँदैछ भन्ने गम्भीर टिप्पणी यस अथको आन्तरिक भाव हो ।

यिनै भावभूमिमा सिर्जित महेश्वर पन्तको कथा सामाजिक, मनोवैज्ञानिक छन् । उनका कथाको सबैभन्दा अहम पक्ष भनेको मानवीय सम्बन्धहरूको निरन्तरताताका पक्षमा उनको गरेको कलात्मक वकालत हो । उनले कथामा कथ्य र विषयको पुनरावृत्ति, लेखकको निर्णयात्मक हस्तक्षेप, चुटकिलाजस्ता लाग्ने तर कथाको मर्म बोक्न असफल घटनाहरूको टिपोट, जटिल समस्याको तिलस्मी शैलमा प्रस्तुत साधारणीकरण जस्ता समान्य समस्याबाट निवृत्ति लिनु नै पर्छ ।

यथार्थवादी कथाको संरचनामा आदर्शवादी पटाक्षेप कहिलेकाहीँ महँगो पर्न जान्छ । यसतर्फ कथाकार सचेत रहनु वाञ्छनीय देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment