Comments Add Comment

छापामा आज : राजस्व धेरै देखाउन तथ्यांक नै तोडमोड

१२ साउन, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरूले भिन्न–भिन्न विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन् । कुनैले बालुवाटार जग्गा खरीद प्रकरणबारे मुख्य समाचार बनाएका छन् भने केहीले मौलाउँदो अफिम खेती, राजनीतिक दलभित्रको किचलोलगायत विषयमा उठाएका छन् ।

अन्नपूर्णले ‘मौलाउँदै अफिम शीर्षक दिएर मुख्य समाचार बनाएको छ । समाचार अनुसार विगत ८–१० वर्षदेखि विभिन्न जिल्लामा अफिम खेती मौलाउँदो छ ।

नेपाल प्रहरीको लागूऔषध नियन्त्रण व्युरोको दुईवर्षे तथ्यांकअनुसार सबैभन्दा धेरै अफिम खेती मकवानपुरमा हुने गरेको छ । यो अवधिमा यहाँ ६१ बिघाभन्दा धेरै जमिनमा अफिम खेती गरिएको छ । त्यस्तै, उदयपुर, रौतहट, दाङ, जाजरकोट, सुर्खेत, रुकुम पूर्व, रुकुम पश्चिमलगायत जिल्लामा पनि अफिम खेती हुने गरेको छ ।

संघीय सरकारले पुरातात्विक सम्पदा र वन मासेर केबलकार बनाउन स्वीकृति दिएकोलाई पनि अन्नपूर्णले प्राथमिकतापूर्वक समेटेको छ । समाचार अनुसार ०३५ सालमा बस्ती हटाएर संरक्षण गरिएको वन फँडानी गरी केबलकार बनाउन लागिएको हो । यसका लागि मन्त्रिपरिषद् बैठकले नै बन दिने निर्णय गरेको छ ।

बुटवलदेखि नुवाकोटसम्म केबलकार बनाउन मणिमुकुन्द सेन उद्यानको छेउमा वन फँडानी गर्न थालिएको समाचारमा लेखिएको छ ।

राजस्व धेरै देखाउन तथ्यांक नै तोडमोड गरिएको खबर पनि अन्नपूर्णमा पढ्न सकिन्छ । अर्थ मन्त्रालयले राजस्व धेरै उठाएको देखाउन तथ्यांकमा हेरफेर गरेको हो ।

समाचार अनुसार महालेखा परीक्षकको कार्यालयले गत आर्थिक वर्षमा देशभर आठ खर्ब ५९ अर्ब राजस्व संकलन भएको दाबी गर्यो । तर, राष्ट्र बैंकको तथ्यांकअनुसार, सात खर्ब ३९ अर्ब रुपैयाँ मात्रै राजस्व उठेको छ । अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाले भने आठ खर्ब ३९ अर्ब रुपैयाँ राजस्व संकलन भएको तथ्यांक तयार गरेको छ । तर, सार्वजनिक गरेको छैन ।

अन्नपूर्ण अगाडि लेख्छ– यसबाट राजस्व धेरै उठेको देखाउन अर्थ मन्त्रालयका अधिकारीले तथ्यांक नै फेरबदल गरेको प्रस्ट हुन्छ । हरेक वर्ष समय अगावै सार्वजनिक संस्थानको लाभांश देखाएर अर्थ मन्त्रालयले राजस्व संकलनको लक्ष्य पूरा गर्छ । यसरी समय अगाडि तानेर लाभांश देखाएर राजस्व धेरै उठाएको जस लिन अर्थ मन्त्रालयका पदाधिकारी पन्छिनुपर्ने अर्थविद् बताउँछन् ।

कान्तिपुरले ‘बालुवाटार जग्गा प्रकरणः नियत कि नीतिगत शीर्षक दिएर मुख्य समाचार बनाएको छ । कान्तिपुरको निष्कर्ष छ– ललिता निवाससम्बन्धी मन्त्रिपरिषदका निर्णयलाई नीतिगत नमान्ने हो भने पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र बाबुराम भट्टराई अनुसन्धानमा तानिन्छन् ।

यो प्रकरणमा अख्तियारले तत्कालीन दुई मन्त्रीसँग बयान लिइसकेको छ भने अर्का तत्कालीन मन्त्रीसँग बयान लिने तर्खर गरिरहेको छ ।

ललितानिवास जग्गा प्रकरणलगायत विषयसँग जोडेर कान्तिपुरले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीनकुमार घिमिरेसँग कुराकानीसमेत गरेको छ । अन्तरवार्तामा उनले ललितानिवास जग्गा कारोबारमा प्रत्यक्ष संलग्नहरुको सम्पर्क र पहुँच कहाँ कहाँ छ भनेर छिद्रहरु खोजी भइरहेको बताएका छन् ।

त्यस्तै छाया सेन्टरको जग्गा, वाइडबडी विमान खरिद र मेलम्चीबारे पनि विस्तृतमा अनुसन्धान भइरहेको बताएका छन् । आयल निगमको जग्गाको विषय छिट्टै टुंग्याइने उनको भनाइ छ ।

सरकार गठन भएको १७ महिनापछि मन्त्री परिवर्तनको तयारी भएको दाबी नेपाल समाचारपत्रले गरेको छ भने राजधानीले सरकारी गाडी दुरुपयोगबारे मुख्य समाचार बनाएको छ ।
हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment