Comments Add Comment

पहिरोमा पुरिएर गुल्मीमा १ जनाको मृत्यु, ५ घाइते

१२ साउन, गुल्मी । अविरल वर्षासँगै गुल्मीमा गएराति गएको पहिरोले घर पुरिँदा १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

जिल्लाको कालीगण्डकी गाउँपालिका–७, छापचौरका विष्णु परियारको २ तले कच्ची घर पहिरोले पुरिँदा १३ वर्षीय सुने परियारको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी उपरीक्षक (एसपी) दीपककुमार बस्नेतले पहिरोले घर पुरिँदा घरमा सुतिरहेका किशोरको घटनास्थलमै मृत्यु भएको जानकारी दिए ।

प्रहरी उपरीक्षक बस्नेतका अनुसार पहिरोमा परेर २८ वर्षीया चिना परियार, १२ वर्षीय साजन परियार, १० महिने सोही परियार, ३५ वर्षीय यमबहादुर परियार र २५ वर्षीय भेष परियार घाइते भएका छन् ।

घाइते पाँचै जनालाई स्थानीय मेडिकलमा सामान्य उपचारपछि पाल्पा पठाइएको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ ।

गुल्मीकै सत्यवती गाउँपालिकाको २ वडामा गत मंगलबार पहिरो गएको थियो । पहिरोमा १३ जनाले ज्यान गुमाएका थिए । लिम्घा र ठूलोलुम्पेकमा ३ वटा घर पहिरोले बगाउँदा २ जना घाइते भएका थिए । घाइतेहरुको काठमाडौंमा उपचार भइरहेको छ । पहिरो प्रभावित क्षेत्रमा ६ सय बढी मानिस सुरक्षित स्थानमा आश्रय लिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment