Comments Add Comment

वीरगञ्जमा बहस : यही शैलीले समृद्धि र समाजवाद आउँदैन

१२ साउन, वीरगञ्ज । सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूले अहिलेको कार्यशैलीले मुलुकमा विकास र समृद्धि नआउने बताएका छन् ।  राजतन्त्रको समयमा जस्तै विद्यमान अर्थ व्यवस्था र सामाजिक व्यवस्थालाई पोस्ने खालको नीति लिएर सरकार र त्यसको नेतृत्वकर्ताहरु अघि बढिरहेको उनीहरुको धारणा छ ।

नेकपाका नेता घनश्याम भुसालले वर्तमान राजनीतिक दलको संयन्त्र र चुनावी तरिका समाजवादउन्मुख नभएको टिप्पणी गरे । ‘समाजवादको नाराले मात्रै परिवर्तन आउँदैन, समाजवादमा जुठेल्नामा हुर्कने र जुठेल्नामै मर्नेहरुको अवस्थामा सुधार ल्याउनुपर्छ, उनीहरुलाई संगठित उद्यममा ल्याउनुपर्छ’, पाठशालाको आयोजनामा वीरगञ्जमा भएको कार्यक्रममा उनले भने, ‘त्यसका लागि दलाल पूँजीवादको संगठनलाई ध्वस्त पानुपर्छ । तर अहिलेको तरिकाले जाने हो भने त्यो संभव छैन । किनकि दलाल पूँजीपतिहरुको गठबन्धनले राज्य सञ्चालन गरिरहेको छ ।’

लोकतान्त्रिक क्रान्तिपछि सत्तामा पुग्नेहरुले पनि राजतन्त्रमा जस्तै सामन्तवादलाई प्रोत्साहन दिने काम गरेको आरोप उनले लगाए ।

नेकपाकै अर्का नेता राम कार्कीले जीवनमा लागू गर्न नसक्ने सिद्धान्त बोकेर नहिँड्न नेताहरुलाई सुझाव दिए । ‘हिजो एमालेले जबज भन्यो, माओवादीले एक्काईसौं शताब्दीको जनवाद भन्यो अनि कांग्रेसले प्रजातान्त्रिक समाजवादको नारा दियो । ती सिद्धान्तलाई हामीले कत्तिको पालना गर्‍यौं । तिनका सबल पक्ष मात्रै थिए कि दुर्बल पक्ष पनि छन्’, उनले भने, ‘यो कोणबाट विश्लेषण गर्नु जरुरी भइसकेको छ । सिद्धान्तलाई सम्पन्न बनाउन कमीकमजोरीका बारेमा पनि बहस हुनुपर्छ ।’

समाजवाद वा मृत्यु, समाजवाद वा विनास, समाजवाद वा सत्यानास ? एउटा रोज्नुपर्ने अवस्था आएको बताउँदै उनले समाजवादको विकल्प नभएको तर्क गरे । नेपाली कांग्रेसका नेता प्रदीप गिरीले अपेक्षाअनुरुप परिवर्तन नभएपछि जनताले प्रश्न गर्न थालेको बताए ।

‘अहिलेको व्यवस्थाले पुगेको छैन, सबैले प्रश्न गरिरहेका छन्,’ नेता गिरीले भने, ‘एमाले र कांग्रेसले पनि धेरै आश्वासन दिए । नेता बदलिए तर राज्यको संरचना बदलिएन ।’

कम्तीमा प्रधानमन्त्री, राष्ट्रपति र विपक्षी दलका नेताको जीवन सादगी हुनुपर्ने उनको भनाइ छ । ‘कांग्रेस वा कम्युनिस्टका नेताले नेतृत्व गर्दैमा समाजवाद आउँदैन, तलैबाट सबै एकजुट भएर लाग्नुपर्छ । वैचारिक संघर्ष पार्टीभित्र र बाहिर दुवैतिरबाट चल्नु आवश्यक छ’, नेता गिरीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment