Comments Add Comment

अनलाइन विजनेसको नाममा ठगी गर्ने पक्राउ

१२ साउन, वीरगञ्ज । अनलाइन विजनेसको नाममा ठगी गरेको आरोपमा एक युवक वीरगञ्जबाट पक्राउ परेका छन् । जिल्ला महोतरी साविक सुन्दरपुर गाविस-९ जन्मस्थान भइ हाल वीरगञ्ज महानगरपालिका-१५ लक्ष्मणवा टोल बस्ने २० वर्षीय रोहित रै दास पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंमा सजना अधिकारील दिएको उजुरीको आधारमा ठगी मुद्दाका फरार प्रतिवादी रोहित रैदासलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।

अनलाइन विजनेस छ भनी स्तरीय आइफोनलगायतका समान पठाइदिन्छु भन्दै सामाजिक सञ्जालमार्फत कुराकानी गरेर विभिन्न व्यक्तिलाई ठगी गरेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख, प्रहरी निरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

‘फेसबुक म्यासेन्जरमार्फत सम्पर्क गरेर मेरो अनलाइन विजनेस छ, राम्रो आइफोन लगायतका समान पठाइदिन्छु भनेर फकाउने अनि बैंकमार्फत रकम पठाउन लगाइ ठगी गर्ने गरेको रहेछ,’ उनले भने, ‘महानगरीय प्रहरी परिसर काठमाडौंमा परेको उजुरीको आधारमा उनलाई नियन्त्रणमा लिएका हौं ।’

उनले विभिन्न व्यक्तिहरुलाई प्रलोभनमा पारेर वीरगञ्ज स्थित सिभिल बैंक र एनआईसी एशिया बैंकको खातामा रकम पठाउन लगाएर ठग्ने गरेको देखिएको प्रहरी निरीक्षक मल्लले बताए ।

त्यसैगरि रोहितले काठमाडौंका दीपक खत्रीसँग ३ लाख, नवलपरासीको कावसोतीका सुमन सागर भट्टराईसँग ३३ हजार, काठमाडौंकै विश्वमान घलेसँग ७० हजार रुपैयाँ लिएको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको प्रहरीले जनाएको छ ।

‘सुरुमा अलिकती रकम पठाउन लगाउने त्यसपछि थप प्रक्रियाको लागि थप पैसा चाहिन्छ भनि पटकपटक रकम पठाउन लगाएर ठग्ने गरेको रहेछ,’ प्रहरी निरीक्षक मल्लले भने, ‘ हालसम्म ४ जनाले उजुरी दिइसकेका छन् । एक जनाको रकम रोहितको बुवाले फिर्ता पनि दिए । अन्य थुप्रै व्यक्तिहरु ठगिएको हुन सक्ने आशंका छ ।’

उनलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment